भर्खरै :

दसैँ तिमी फेरि आयौ ?

एल.के.सुन्दर
मेरा बाल बच्चाहरूको
शान्त बालमस्तिष्क खल्बल्याउन
अभावको बर्कोले थुम्थुम्याएर राखेको
खाता बसेको पुरानो घाउ उप्काउन ।
पोहर परार पनि
आएकै थियौ तिमी
मैले बोलाउँदै नबोलाए पनि
ढिपी कसेर आएकै थियौ तिमी ।
तिमीलाई अपमान गर्नु त
मेरो पनि मन कहाँ थियो र !
तिमी त साँझको पाहुना पो त
त्यतिकै फर्काउन कहाँ भयो र !
गएको साल जम्मा जम्मी
हप्ता दिन तिमीलाई बास दिंदा
तीन महिनासम्म भएको तालाबन्दी
कहाँ बिसर्न सक्नु र मेरो भान्छा कोठामा ।
बडादसैँको फुलपाती बनी आएरै के गर्नु
बडादसैँको उमङ्ग भनी आएरै के गर्नु
मेरो घर चोट, कोठा जहाँतहीं
महँगीको विराजमान भएपछि ।
भनिहालेँ नि तिमी अन्तै गए हुन्छ
फुसर्द छैन बसिबियाँलो गर्न पनि
काममा नगए आज एकदिन पनि
भरे बेलुकाको चुल्हो चिसै रहन्छ ।
तिमीलाई एउटा कुरा भन्नै बिर्सेछु
ज्याला पैँचो गरी एउटा भाले किनेको
घरको पाठो बेचिवरी आयात कर तिरेँछु
बेग्लै मज्जा हुँदो हो हाम्रोजस्तो सरकार पाउनुको ।
बडादसैँको फुलपाती बनि आएरै के गर्नु
बडादसैँको उमङ्ग भनी आएरै के गर्नु
मेरो घर चोटा कोठा जहाँतहीँ
महँगीको विराजमान भएपछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *