भर्खरै :

चिनियाँ राष्ट्रपति सीको भ्रमण मगन्ते मेला नबनोस

– वीरबहादुर तामाङ
छिट्टै नै छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको एकदिने भ्रमणमा आउँदै छन् । एक छिमेकी देशका कार्यकारी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउनु सुखद पक्ष हो । भ्रमणबाट दुई देशबीचका असमझदारीहरू समाधान हुने र सम्बन्धमा प्रगाढ हुन्छ । चीन धेरै अघिदेखि नै नेपालको विकास साझेदार रहँदै आएको छ । आर्थिक विकासको हिसाबले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको राष्ट्र चीनले नेपालको विकासका लागि केही सहयोग पनि अवश्य गर्नेछ । तर यहाँ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा सुरु भएदेखि नै सङ्घ वा केन्द्र सरकारदेखि प्रदेश सरकार र कतिपय महानगरपालिका र नगरपालिकाहरूले आ–आफ्नो क्षेत्रमा परियोजना बनाई माग्ने होडबाजी भित्रभित्रै चलेको छ । केन्द्र सरकारले केरुङ्गदेखि काठमाडौँसम्मको रेल परियोजना चीनको अनुदान सहयोगमा बनाइदिन माग गर्ने बताइएको छ ।
कर्णाली प्रदेश सरकारले केन्द्र सरकारकै मन्त्रीमार्फत वा मौका मिले मुख्यमन्त्री स्वयम्ले सुर्खेत–हिल्सा द्रुतमार्ग र फुकोट कर्णाली जलविद्युत् आयोजना बनाउन माग गर्ने मनसाय सार्वजनिक गरिसकेको छ । त्यस्तै अपेक्षा र माग गण्डकी प्रदेश सरकार र प्रदेश नं। १, २, ३, ५ र सुदूरपश्चिम प्रदेश सरकारका पनि रहेका छन् । काठमाडौं महानगरपालिकालगायत केही नगरपालिकाहरूले पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणका अवसरमा आफ्नो क्षेत्रको विकास आयोजनामा सहयोग गर्न लगाउन लविङ्ग गरेको सुनिएको छ ।
छिमेकी वा मित्रराष्ट्रसित आफूले गर्नै नसकिने वा प्रविधि नभएकोमा आयोजनामा सहयोग माग्ने हो । आफैले लगानी गर्न वा निर्माण गर्न सकिने आयोजना माग्नु मगन्ते प्रवृत्ति हो । आफूले केही कोसिस नगर्ने र सबै कुरामा छिमेकी र अरु मित्रराष्ट्रसित सहयोग माग्ने नेपाली शासक वर्गको प्रवृत्ति नै बनेको छ । त्यसले देशको स्वाभिमान र गौरवमा पटक–पटक चोट पु¥याएको छ । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई देशबीचको सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउन उपयोग होस् तर देशकै बेइज्जत हुने गरी सहयोग र योजना माग्ने मगन्ते मेला नबनोस् । यही स्वाभिमानी नेपाली जनताको अपेक्षा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *