तातिरहेको पृथ्वी र रुख बिरुवा
- भाद्र ११, २०८३
राजन धौभडेल
समकालीन नेपाली समाजको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं मनोवैज्ञानिक सामाजिकताको सेरोफेरोभित्रको बिम्बको रूपमा प्रस्तुत गरिएको एक कथासङ्ग्रह हो दंश । नेपाली जनजीवनभित्रका आवेग, आघातका साथसाथै यथार्थपरक समसामयिक घटना अनि कतै काल्पनिक लाग्ने अठार वटा कथाहरू यसमा समेटिएको छ ।
कथाकार दिनमान गुर्मछान सर्लाही निवासी हाल बनेपामा बसोबास गर्छन् । लेखकले यस कृतिमा नेपाली समाजको अनुहार प्रतिबिम्बित गर्ने विविध विषयवस्तुमा रहेर छोटा, छरिता एवं सरल तवरबाट जीवनका उतारचढावलाई चित्रण गर्ने हरसम्भव प्रयास गरेको देखिन्छ ।
पछिल्लो समयमा मानिसहरूले भोगेका डर, त्रास र सोबाट प्रभावित भएका क्षेत्रमा कस्तो जनजीवन रहेको हुन्छ ? जनमानसमा यसको असर कतिको पर्नसक्छ ? भिडन्त र आन्दोलनले समाजको धारलाई कहाँ र कतातिर मोडिदिन्छ ? यस्ता प्रश्न र त्यसका उत्तरहरूलाई आम नेपालीले भोगेका वास्तविकता र राजनैतिक क्षेत्रमा आएको परिवर्तनले त्यो ताकाको समाजलाई बदलिदिएको छ । त्यही असहजता परिणामस्वरुप आएको आवेग हो दंश । द्वन्द्वबाट पीडितहरू त्यहीँ चक्रव्युहबाट कसरी डसिएका छन् । हिजो देखाइएको सपनाको अवसान हुँदै गइरहेको र राजनीतिमा आएको परिवर्तनले पनि सोचेअनुरुप परिणाम ल्याउन नसकेको र त्यहीँ पिछडिएका अल्पमतमा परेका समूह नै प्रताडीत भएको र शोषणमा परेको कुराहरू औँल्याइएको छ ।
आन्दोलन, चन्दा आतङ्क, सङ्क्रमणकालीन अवस्था, गरिबी, विवशताको स्मृतिको रूपमा लेखकले केही भोगाइ र केही घटनाक्रमसँग मेल खाने विषयवस्तुमा रहेर रचेका नेपालीका व्यथालाई आप्mना कथाको रूपमा प्रस्तुत गरेको भान हुन्छ । जनआन्दोलनमा होमिएका योद्धाहरूको बहादुरीता, विवशतालगायत निश्चल चोखो हृदयस्पर्शी प्रेमका अनुभूतिको भरपुर प्रयोग गरी कथालाई न्याय दिन खोजिएको प्रस्ट देखिन्छ । कतै–कतै कथामा चित्रण गरिएका पात्रहरूको प्रेमप्रतिको चाख र विश्वासले कथालाई छुट्टै काल्पनिक र फिल्मी शैलीको आभाष दिन खोजिएको जस्तो सजिलै अड्कल गर्न सकिन्छ ।
पुस्तकमा आधुनिक समाजमा मौलाएका विकृति, विसङ्गति र विवशतालाई समाजको विवेकहीन आवेग र पश्चिमेली जीवनको प्रभाव भनी नकार्न सकिन्न । गरीबी ,बेरोजगारी, विदेश पलायनजस्तो यथार्थ वस्तुस्थिति बोध गराउनेजस्ता गतिविधिहरूबाट उत्पीडित पहाडी र तराई मूलका नेपाली जनताको दुःख र भोगाइलाई प्रतिबिम्ब गर्ने कोशिश गरेको देखिन्छ ।
कथामा सहरी क्षेत्रमा देखिने पानीको फोकाजस्तो प्रेम र प्रेमप्रसङ्ग, बाध्यताले मौलाएका पुरुष वेश्या तथा यौन क्रियाकलापले छाडेको वेभ तृष्णासरि फैलिएको महामारी प्रायः सबै वर्ग, तह र समुदायका मानिसहरूलाई प्रत्यक्ष र अप्रत्यक्षरूपमा डसिएको र कोही अछुटो नरहेको जस्ता समसामयिक परिवेशका ऐनाको रूपमा प्रस्तुत गर्न खोजेजस्तो लाग्छ ।
कथाहरू सन्देशमूलक र दिशानिर्देश गर्नेभन्दा पनि सामाजिक र राजनैतिक वस्तुपरक छन् । किताबको नाम नै दंश छ जसबाट हाम्रो जीवनलाई कसरी के कस्ता तत्वहरूले डसिरहेको छ भन्ने कुराको सजिलै अनुमान लगाउन सकिन्छ । कथा पढ्ने क्रममा धेरै क्षण वा मोडमा कथा कुनै ठाउँमा घटिसकेको वा हेरिसकेको जस्तो अनुभूति हुनुले नयाँ र फरक वा बेग्लै स्वादको रसपान गर्न/गराउन नसकिएको हो वा सो खुराक थप्नमा कथाकार चुकेको हो भन्ने लाग्नसक्छ । अन्यथा दंश पुस्तकमार्फत लेखकको यो आख्यानात्मक प्रस्तुति साहित्य क्षेत्रको कथा विधामा एउटा अर्काे योगदान हुनेछ भन्दा अस्वाभाविक नहोला ।
पछिल्लो समयको समाज राजनीति र परिवर्तित समयको आवाज दंश कथासङ्ग्रह वास्तवमै नेपाली समाजको आजको अवस्थाको कथा हो । कथामा आजको आवश्यकता के हो र अब कस्तो हुनुपर्छ भन्ने परिकल्पना गर्नसके राम्रो हुन्छ ।
पुस्तकः दंश
कथाकारः दिनमान गुर्मछान
प्रकाशकः शाब्दिक बुक्स, काठमाडौँ
संस्करणः २०७५ साउन
पृष्ठः २४९
मूल्यः रु. ३४५
Leave a Reply