भर्खरै :

प्राथमिकतामा आत्महत्या रोकथाम

 प्रा.डा. धनरत्न शाक्य
आत्महत्याको सामाजिक पहलुः
समाजशास्त्री इमाइल दुर्खाइमले विभिन्न सामाजिक प्रतिकूलताहरूलाई आत्महत्यासँग जोडेर आत्महत्यालाई मूलरूपमा सामाजिक समस्याको रूपमा हेरियो । हुन पनि अभाव, अन्याय, शोषण, उत्पीदन, भ्रष्टाचार, विसङ्गति, अव्यवस्थित, कमजोर वा विखण्डित सामाजिक परिस्थितिले आत्महत्या बढाउने गर्दछन् । जीवनप्रति निरास र निरूत्साहित पार्ने कुराहरूको हावी हुन्छ । अस्वस्थ प्रतिस्पर्धा, अन्ध परम्परा र अनुपयुक्त अनुशरणले तनाव बढ्छ । यस्तो समाजमा आत्महत्या गर्न प्रयोग हुने माध्यमहरूप्रति उचित निगरानी र नियन्त्रण हुँदैन । खतरनाक स्थानहरूमा बन्देज गर्नसक्तैन । बन्दुक, हातहतियार, विष वा खतरनाक स्थानहरू सजिलै उपलब्ध हुन्छन् । यसबाट आत्महत्या सरल हुनजान्छ । समस्या पर्दा सहायता पु¥याउने सेवास्रोत पनि कम मात्र उपलब्ध हुन्छ ।
आत्महत्याको मनोवैज्ञानिक पक्षः
आत्महत्यामा व्यक्ति विशेषको स्वभाव, प्रवृत्ति वा व्यक्तित्व तथा तनावजस्ता मनोवैज्ञानिक तत्वहरूको भूमिका पनि प्रस्टिन थाल्यो । समस्यासँग जुझ्ने क्षमता, आत्मविश्वास, सामाजिक आडभरोसा, साथसहयोग, सम्बन्ध कम भएका, अरूको बढी भरपर्ने, अरूबाट त्यक्त, निराश अनुभव गर्नेहरूमा आत्महत्याको समस्या धेरै गुणा बढी देखिन्छ । झडङ्ग आवेशमा आउने, विषम परिस्थिति व्यहोर्न नसक्ने, एक्लो, निराश, बेसहारा, यौन द्वन्द्वग्रस्त, ग्लानी र दलदलमा फसेको सोच्ने वा पूर्वाग्रह पीडित मानसिकता भएका मानिसहरूमा आत्मघाती व्यवहार अधिक देखिएको छ । मनोसामाजिक समस्याको रूपमा यसलाई कानुनी हिसाबले हेरेर दण्ड–सजायको पनि व्यवस्था गरियो ।
आत्महत्याको जैविक पक्षः
अध्ययनहरूले आत्महत्याको समस्या मनोसामाजिक, सांस्कृतिक वा कानुनी पक्षसँग मात्र होइन, जैविक र समग्र स्वास्थ्य स्थितिसँग जोडिएको पुष्टि हुँदै गयो । विकलाङ्ग बनाउने, कुरूप पार्ने, पेशा वा दैनिकीमा असर पार्ने, जीर्ण र अनियन्त्रित पीडा हुने खालका शारीरिक रोगहरूः विशेष गरेर उदासीन र अरू पनि मानसिक रोगहरू, जस्तैः स्किजोफ्रेनिया, delirium  / dementia, आत्तिने मनोरोग (anxiety), नशा, लागू सेवन, छारेरोग पीडित व्यक्तिहरूमा आत्महत्याको समस्या बढी देखिन्छ । यस्ता व्यक्तिहरूमा स्नायु रसायनमा गडबडी (serotonin, Noradrenaline) र अनुवांशिक रूपमा पनि हाडनातामा आत्महत्याको समस्या बढी देखिएको छ ।
नेपाली यथार्थः
नेपालमा आत्महत्याको समस्या बढ्दै गएको देखिन्छ । आत्महत्याको समस्या औसतमा बढी हुने देशहरूको सूचीमा नेपाल सार्क मुलुकहरूमध्ये दोस्रो स्थानमा र विश्वमै पनि अगाडि देखिँदै छ । पन्ध्रदेखि २४ र ५० वर्षभन्दा माथिका उमेरमा यो समस्या देखिएको छ । यस लेखकको समूहले गरेको एक अनुसन्धानमा आकस्मिक मनोचिकित्सा सेवा लिने चार बिरामीमध्ये एकजना (२२ प्रतिशत) मा आत्महत्याको समस्या देखिएकोे छ । आत्महत्याको दर व्यक्ति, परिवार, समाज र राज्यको तहमा विद्यमान विसङ्गति, अव्यवस्था, प्रतिकूलता, अस्वस्थ प्रतिस्पर्धा, अन्ध अनुशरण र अस्वस्थताको सटिक मानक मानिन्छ । यस हिसाबले हामी नेपालीहरू बडो बिकराल स्थितिमा छौँ ।
प्रतिकूल नेपाली पृष्ठभूमिः
नेपालका कतिपय सामाजिक र सांस्कृतिक परिस्थिति (जस्तै– पुरूषप्रधान, छोराछोरी बीचमा विभेद, दाइजो प्रथा, महिलाहरूले घरपरिवारमात्र सम्हाल्नुपर्ने र रोजगारी, शिक्षाजस्ता अवसरबाट बिमुख रहनुपर्ने नियति, सम्पत्तिप्रतिको असमान अधिकार, विभेद, छुवाछूट, घरेलु हिंसा, देहव्यापार, इत्यादि) आत्महत्यालाई बढावा दिने खालका छन् । बेरोजगारी, गरिबी, भोकमरी, असुरक्षा, हत्या, हिँसा, आतङ्क, बलात्कार, बन्द, हडताल, भ्रष्टाचार, नातावाद, दण्डहीनता, अराजकता र भ्रष्टाचारले जर्जर भएको नेपालमा राज्यसंयन्त्रहरू गैरजिम्मेवार देखिन्छन्, लोककल्याणप्रति प्रशासन उदासीन देखिन्छ । एकातिर पहिलेका गुठी, सङ्घ, समाज इत्यादि सामाजिक संरचनाहरू विखण्डनको मारमा छन् भने अर्कोतिर पश्चिमेली हावा, जानकारी र माध्यमले गर्दा धर्मर बन्दै गएको छ । वर्षौँ लामो जनयुद्ध, त्यसले जन्माएका आन्तरिक बसाइँसराइँ, पारिवारिक–सामाजिक विखण्डन, विदेशको रोजगारी, शरणार्थी समस्या, बेलाबेला थपिने बाढी–पहिरो, भूकम्प, प्राकृतिक प्रकोपजस्ता विषम परिस्थितिहरूले गर्दा आमजनताको बास, गास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता आधारभूत आवश्यकताहरू पनि पूरा गर्न कठीन बन्दै गएको छ । अपाङ्ग, बालबालिका, वृद्ध, महिला, अल्पसङ्ख्यक समूह अझै बढी मारमा परेका छन् । युवा वर्ग पनि आधुनिकताले थोपरेका आवश्यकता, प्रविधि, विसङ्गति, परिवारका आकाङ्क्षा र वास्तविकताको दोसाँधमा व्यहोर्न परेका भ्रम, बेरोजगारी, अवसरको कमि र अस्थिर समाजका कारणले गर्दा मानसिक विचलन र हीनताबोधमा पलायन हुन बाध्य छन् । समग्रमा आम जनताको मनस्थिति र नैतिकता अधोगामी देखिन्छ । मनोसामाजिक समस्या र रोगहरूको भार बढी भए पनि सर्वसाधारणदेखि योजनाकार, सरकार र शिक्षित वर्ग पनि यसतर्फ पटक्कै सचेत र सजग देखिन्नन् ।
आत्महत्या रोकथामको प्रयास ः
आत्महत्यामा जैविक (biological factors), मनोवैज्ञानिक (psychological factors), सामाजिक (social factors), सांस्कृतिक एवम् परिस्थितिजन्य तत्वहरूको अत्यन्त जटिल अन्तरक्रिया हुने गर्दछ । हाम्रो देश नेपालमा आत्महत्याका खतराजन्य तत्व (risk factors) बढेर बचाउने तत्वहरू (protective factors) कमजोर भएको भनेर बुझ्न गा¥हो छैन । ‘आत्महत्याको रोकथाम केन्दविन्दु’मा राखेर सबै खालका प्रयासहरू थाल्न आवश्यक छ । नेपालजस्तो आत्महत्याको समस्याले अत्याधिक पिडित देशले अब पनि आवश्यक कदम नउठाउने हो भने अगाडि शोक र क्षतिबाहेक के नै होला ?
आत्महत्याको समस्यालाई सम्बोधन गर्न बहुआयामिक कार्यक्रम, प्रयास र समन्वयको खाँचो छ । एक पक्ष वा एक क्षेत्रको संलग्नताले मात्र यो बिकराल समस्याबाट पार लाग्न सकिँदैन । सबैले आत्महत्याको रोकथामलाई केन्द्रविन्दुमा राखेर समन्वय, सहभागिता, संलग्नता र साथ–सहयोग सहित आत्महत्या विरूद्धको अभियानमा लाग्न जरूरी भएको छ । व्यक्ति, परिवार, समाज, राज्य, नेता, योजनाकार, सेवाप्रदायक, चिकित्सक, मनोवैज्ञानिक, परिचारीका, सामाजिक कार्यकर्ता, शिक्षक, विद्यार्थी, गृहिणी, साथीभाइ, सहकर्मि, सबै सबैको इमानदार र बहुआयामिक योगदानको जरूरत छ ।
आत्महत्यापूर्व देखाउने खतरासुचक लक्षणप्रति चनाखो रहेर उच्च खतरा रहेको व्यक्तिलाई एकछिन एक्लै नछाडी साथ रहने, आत्महानीका साधन उसको पहुँचबाट हटाउने, सम्बन्धित सबैको सहयोग जुटाउनेतिर परिवार, साथीभाइ, छरछिमेक लागौँ । आफ्ना आसपास रहेका व्यक्तिहरूको अवस्थाबारे सरोकार राखेर आवश्यक परेको बेलामा मानवीय साथ र सहयोगी हात बढाउने प्रवृत्ति र संस्कृतिलाई निरन्तरता र बढावा देऔँ ।
सामाजिक विसङ्गति, विकृति र विखण्डन हटाएर अनुकूल समाजको सृजना गर्नु हामी सबैको साझा कर्तव्य हो । समाज सभ्य, उन्नत र स्वस्थ बनाउन नेता, योजनाकार, शिक्षित र धनीमानी सबैले सामाजिक दायित्व आत्मसात् गरौँ । राज्यसंयन्त्रले हरेक नागरिकको बाँच्न पाउने नैसर्गिक अधिकारको प्रत्याभूति दिनको लागि सुसाशन, शान्ति, प्रगति, समानता र आधारभूत सुविधाको जिम्मा लिएर काम गर्नसक्नुपर्छ । सबैका लागि सुरक्षा, साथ र सहयोगको सूत्रमा बाँध्नसके आत्महत्यारहित समाजको कल्पना कल्पना मात्र रहँदैन ।
हाम्रो अध्ययनले यतातिर पनि आत्महत्याको प्रयास गर्ने बहुसङ्ख्यामा असह्य तनाव हुने गरेको देखाउँछ । यस्ता धेरै मानिसहरू कलह, झैझगडा, बैमनस्यता, सम्बन्धविच्छेद, विछोड, वियोगजस्ता व्यक्तिलाई एक्लो, बेसहारा र त्यक्त महसुस गराउने अन्तरसम्बन्धका समस्याले तनावग्रस्त हुन्छन् । वर्तमान नेपालमा बेरोजगारी, वैदेशिक रोजगारी, त्यसबाट सिर्जित सामाजिक परिस्थिति, बिखण्डन, बढ्दो विश्वसँगको खुलापन, अनुपयुक्त प्रतिस्पर्धा, एकाङ्कीपन, भौतिकवादी चिन्तन, पारिवारिक संरचनाको विचलन आदिले परिवार, साथीभाइ, नातागोता, छरछिमेकसँगको सम्बन्धमा दरार र दूरी बढ्दै गएको देखिन्छ । अर्को मुख्य तनाव भनेको उनीहरूकै शारिरीक वा मानसिक स्वास्थ्य समस्याले निम्ट््याएको चिन्ता हो । यी पिडितहरूमध्ये कतिलाई आत्महत्याको आवेग आएको बेला आँखा अगाडि सजिलै विष, औषधी, मट्टितेल, डोरी वा यस्तै आफूलाई हानी पुु¥याउने साधन हुनाले थाम्नै गाहारो भएको देखियो । यी मूल तत्वहरू धेरै हदसम्म न्यूनीकरण गर्न सकिने खालका छन् । एकआपसबीचको सम्बन्धमा सुमधुरता ल्याउन सामाजिक तालिम, तनाव व्यवस्थापन, समस्या समाधानको सीप अभिवृद्धिका कार्यक्रम उपयोगी हुन्छन् ।
मानसिक स्वास्थ्यसेवासहितको आधारभूत स्वास्थ्य सेवा प्रसार गर्न आवश्यक भएको छ । कृषिमा प्रयोग हुने वा अन्य विषको कडाइका साथ उपयुक्त व्यवस्थापन र नियन्त्रण तथा खतरनाक स्थान, हतियारजस्ता कुराहरू कानुनतः सुरक्षित व्यवस्थापन गर्दा तिनको सरल पहुँच घट्न जान्छ । हामीकहाँ हामीलाई आत्महत्यातिर ढकेल्ने तनाव र अरू मूल कारणहरू, जस्तैः डिपे्रसनजस्ता मानसिक रोग र नशालु पदार्थको सेवन÷लतलाई पहिचान गरेर उपयुक्त कदम चालौँ । दिवसहरूले आत्महत्याको रोकथामलाई केन्द्रमा राखेर सोचौँ भन्छ । आजैदेखि हामी सबै जागरूक होऔँ ।
(लेखक वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ हुनुहुन्छ । )
drdhanashakya@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *