भर्खरै :

चीन अध्ययन भ्रमण – ५

नरेश खत्री
बिहानको भ्रमणले फ्रेस भएर हामी निर्धारित कार्यक्रमतर्फ लाग्यौँ । होटलमा सबै सहभागीहरू जम्मा भइसकेका थिए । हामीलाई एउटा अर्को भव्य प्रदर्शनी केन्द्रमा लगियो– Great Tide Surges in Pearl River-The 40th Anniversary of Reform and Opening-up in Guangdong । “पर्ल नदीमा उठेको महान उभार – क्वाङतोङ प्रदेशमा सुधार र खुलापनको ४० औँ वाषिकोत्सव ” ।
प्रदर्शनी केन्द्रमा हामीले १९७८ देखि २०१८ सम्म ४० वर्षमा चीनको क्वाङतोङ प्रदेशले गरेको विकास निर्माण, आर्थिक वृद्धि , गरिब उन्मूलन र गाउँहरूको विकासबारे विभिन्न सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । सुधार र खुलापनको नीतिले क्वाङतोङ प्रदेशलाई चीनकै आर्थिक केन्द्रको रूपमा विकास गरेको र क्यानतोनिज जनता सुधार र खुलापनका अग्रणी रहेको प्रदर्शनीबाट झल्किन्थ्यो ।
३७ महिनामा निर्माण सम्पन्न गरी रेकर्ड बनाएको एउटा भव्य गगनचुम्बी महलको तश्वीर त्यहाँ प्रदर्शनीमा थियो । तीव्र गतिको विकासनिर्माणको त्यो एउटा ज्वलन्त उदाहरण थियो । १९८७ बाट खुलापनमा गएको प्रदेशमा सबभन्दा पहिला क्वाङचाउ सहरलाई विश्वको लागि खुला गरेको र त्यसपछि सेङचङ सहरलाई खुला गरेको प्रदर्शनी थियो । खुलापन र सुधारको ४० वर्षमा ४ वटा बाघ भनिएको हङकङ, थाइवान, सिङ्गापुर र दक्षिण कोरियाको अर्थतन्त्रभन्दा क्वाङतोङको अर्थतन्त्र बलियो र वृद्धिदर उच्च रहेको तथ्याङ्क त्यहाँ प्रदर्शित थियो ।
प्रदेशका पुराना संचरनाहरू, पुरानो जीवनशैली, पुरानो परम्परा तथा ४० वर्षमा चीनले बनाएका नयाँ संचरनाहरू, नयाँ जीवन शैली, नयाँ प्रविधिहरू विश्वलाई आश्चर्यचकित बनाउने खालका छन् । पुँजीवादले १००÷२०० वर्ष लगाएर गरेको प्रगति चीनले ४० वर्षमा गरेको ज्वलन्त उदाहरण हामीले प्रदर्शनीमा अवलोकन ग¥यौँ ।

क्वाङचाउमा भएको सम्मेलन समापन कार्यक्रम


२०१७ देखि सुरु भएको क्वाङतोङ–हङकङ–मकाउ खाडी क्षेत्रको विकासका लागि सहकार्यका श्रव्यदृश्यहरू त्यहाँ प्रदर्शनीमा थिए । १९९७ मा बनेको पहिलो समुद्रमाथि बनेको पुल, २०१८ मा बनेको हङकङ र मकाउ जोड्ने पुल र त्यसले चीनको आर्थिक क्रान्तिमा पारेको प्रभावबारे त्यहाँ थुप्रै सामग्रीहरू प्रदर्शन गरिएका थिए ।
अध्यक्ष माओको समयको चीन, तङ सियाओ फिङको खुला चीन र अहिलेको विकास र आर्थिक वृद्धिमा लम्किरहेको चीनका विभिन्न नमुनाहरूको अवलोकनले चीनको इतिहास, चीनको वर्तमान अवस्था र चीनको भविष्यबारेमा एउटा गहन पुस्तक अध्ययन गरिरहेको अनुभव भइरहेको थियो ।
यदि त्यहाँ प्रदर्शनमा राखिएका चिनियाँ भाषाका सामाग्रीहरू अध्ययन गर्न र बुझ्न सकिएको भए ठूलो शिक्षा हुने लाग्यो । यद्यपि हामीलाई जति अनुवाद गरेर सुनाइयो त्यतिमै हामीले धेरै पाएको अनुभव गरेर फर्कियौँ ।
त्यसपछि हामी शनचन ट्यालेन्ट पार्क (Shenzhen Talent Park) र शनचन बे मानग्रोभ पार्क (Shenzhen Mangrove Prak) मा गयौँ । त्यो पनि अर्को एउटा अत्याधुनिक प्रविधियुक्त प्रदर्शनी केन्द्र थियो । त्यहाँ हामीलाई शनचन सहरका खुला व्यापार क्षेत्रहरू छियनहाई (Qianhai) र शखउ (Shekou) जिल्लाका बारेमा जानकारी दिइयो ।
छियनहाई जिल्ला चिनियाँ सपना उत्पादन गर्ने जिल्ला Dream Manufacturer of the Chinese Dreams) शीर्षकको एउटा वृत्तचित्र हेर्दा हामीलाई चीनले विकासनिर्माणमा गर्न सकिने सबै गरिसकेको अनुभव हुन्छ । हामीले त्यहाँ छियनहाई, शनचन–हङकङ सहकार्यबाट सञ्चालित अध्याधुनिक सेवा उद्योगहरूले विकासनिर्माणमा फड्को मार्न सफल भएको जानकारी लियौँ । यो क्षेत्र चिनियाँ सरकारले अघि बढाएको बेल्ट एण्ड रोड इनिसियटिभको निर्णायक क्षेत्र र क्वाङतोङ खुला आर्थिक क्षेत्रको महत्वपूर्ण भाग भएको जानकारी पायौँ ।
यसरी चीनको विकासका विभिन्न नमुनाहरू अध्ययन र अवलोकन गर्दै हामी छोङहुवा जिल्लाको अत्यन्तै रमणीय नगर छोङहुवा हट स्प्रीङ टाउनमा गयौँ । त्यहाँ हामी हेल्सटन होटेलमा बास बस्यौँ । छोङहुवा एउटा पर्यटकीय गन्तव्य स्थल पनि रहेछ ।
२०१९ अगस्त १४
कार्यक्रमअनुसार हामी छोङह्वास्थित क्वाङचाउ फूल अनुसन्धान केन्द्रमा गयौँ । १० हजार एकड क्षेत्रफलमा फैलिएको सो फूल अनुसन्धान केन्द्रमा सयौँ प्रकारका आकर्षक फूलहरू उत्पादन गरिएको देख्यौँ । त्यहाँबाट विश्वभरी नै फूलहरू निर्यात हुने गरेको जानकारी पायौँ । अनलाइन बजारबाट पनि विभिन्न जातका फूलहरू बिक्री हुने उक्त फूल अनुसन्धान केन्द्रबाट त्यहाँको विकास र अर्थतन्त्रमा उल्लेख्य टेवा पुगेको रहेछ । अत्याधुनिक विद्युतीय उपकरणहरूद्वारा स्वचालित हरित गृहहरूमा हुर्काइएका लाखौँ फूलका बोटहरूको दुनियाँमा पुग्दा बेग्लै संसारमा पुगेको अनुभव हुन्थ्यो । हरित गृहहरूभित्रको तापक्रम मिलाउन चारैतिर पानी झरिरहने बातावरण मैत्री प्रविधि बनाइएको थियो । फूलका बोटहरूलाई मलजल गर्ने त्यहाँ व्यवस्थित किसिमको प्रणाली निर्माण गरी राखिएको थियो । निकट भविष्यमा कम्युटर प्रविधिमार्फत सबै फूलहरूलाई आवश्कतानुसार मलजल गर्ने प्रविधि निर्माण भइरहेको पनि जानकारी पायौँ ।
त्यस्तै प्रकारको क्याक्टस बगैंचामा पनि हामी गयांैँ । त्यहाँ पनि विभिन्न प्रकारका आकर्षक क्याक्टसहरूको आकर्षक तरिकाले व्यवसायिक उत्पादन र बिक्री वितरणको प्रणाली बनाइएको पायौँ । अललाइनमार्फत विश्व बजारमा क्याक्टसको बिक्री गरी कुनै ठाउँ धनी हुन सक्नु के हाम्रो लागि उदाहरण होइन ? चीनले कुनैपनि वस्तु वा सेवाको उत्पादनलाई राज्यले प्रवद्र्धन गरी गुणस्तरीय बनाउने र विश्वबजारमा पु¥याई आफ्नो देश र जनतालाई धनी बनाउने गरेको पायौँ ।

१० हजार एकड क्षेत्रफलमा फैलिएको छोङह्वास्थित क्वाङचाउ फूल अनुसन्धान केन्द्रको भ्रमण


त्यसपछि हामी त्यसै गाउँको एउटा तालिम केन्द्रमा गयौँ । त्यहाँ व्यवसायिक सेफहरूलाई तालिम दिइने रहेछ । खानेकुरा पकाउने, काट्ने, तार्ने आदि बेग्लाबेग्लै तालिम निःशुल्करूपमा दिइने रहेछ । एक वर्षमा त्यो सानो तालिम केन्द्रले २०÷३० जनाको १५ समूहलाई तालिम दिदै आएको रहेछ । त्यहाँ तालिम प्राप्त सेफहरूले सहरमा ५००० युआन तलबको काम तुरुन्तै पाइने रहेछ । जनतालाई केन्द्रमा राखेर काम गर्दा राज्यको एउटा सानो कामले गाउँका जनतालाई कसरी माथि उकास्छ भन्ने एउटा अर्को चाखलाग्दो उदाहरण लाग्यो ।
त्यसपछिको हाम्रो गन्तव्य थियो – नानफिन गाउँ । त्यो एउटा सुन्दर पर्यटकीय गाउँ रहेछ । करिब ५०० वर्ग किमी क्षेत्रफलको त्यो सानो गाउँमा १२०० परिवारको बसोबास रहेछ । पर्ल रिभर इन्टरप्राइज ग्रुपद्वारा व्यवस्थापन गरिएको त्यो गाउँमा आकर्षक र सफास्वच्छ थियो । २० प्रतिशत गाउँलेको र ८० प्रतिशत राज्यद्वारा सञ्चालित इन्टरप्राइजको स्वामित्व रहेको सो गाउँमा सबै व्यवस्था गर्ने जिम्मेवारी इन्टरप्राइजको हुने रहेछ ।
त्यहाँ हामीले एउटा सानो गाउँमा गरिबी निवारणसम्बन्धी बृत्तचित्र पनि हे¥यौँ । गाउँमा पार्कहरू बनाएर पर्यटन प्रवद्र्धन गरी गाउँलेहरूको आय १५ हजार युयानबाट ५० हजार युयान पु¥याउन सफल भएको जानकारी पायौँ । गाउँको एउटा नारा रहेछ – हामी हाम्रो सपनाको निर्माण गर्नेछौँ । (We will build our dreams) ।
गाउँमा इन्टरप्राइजले सञ्चालन गरेको गेष्ट हाउस पनि छ । ४० वटा कोठा भएको उक्त गेष्ट हाउस बिदाको दिनमा भरिभराउ हुने रहेछ । त्यहाँको एउटा विशेष स्थानीय उत्पादन लिची रहेछ । जुलाई महिनातिर त्यहाँ लिची फल्ने रहेछ । त्यहाँ उत्पादित लिची विशेष भएकोले किन्नलाई अनलाइनबाट अग्रिम बुकिङको व्यवस्था रहेछ ।
यस्तै यस्तै हेर्दा सानातिनाजस्ता तर ग्रामिण भेगको विकासका लागि गाउँले गरिबहरूलाई धनी बनाउनका लागि चीनले जनस्तरमा गरिहेका केही कार्यहरूको अध्ययन गरेर हामी फर्कियौँ । Xihe Style Town, Wanhua Style Town, Hot Spring Town  जस्ता मनमोहक पर्यटकीय नमुना गाउँहरूको भ्रमणपछि हाम्रो यात्रा सुरु भयो क्वाङचाउतिर । क्वाङचाउको होटल क्यान्टोनमा हामीले आफ्ना झोला बिसायौँ । हाम्रो लागि क्वाङचाउमा आईीसीपीसीले बिदाई रात्री भोजको आयोजना गरेको थियो । रात्री भोजमा सहभागी हुन पेइचिङबाट आईडीसीपीसीका उपमहासचिव र आइपीआरसीसीका उपमहासचिव आउनुभएको थियो । भोजमा हरेक देशमा एकजनाले प्रतिनिधित्व गरी सम्बोधन गर्नुपर्ने थियो । नेपालको तर्फबाट मैले प्रतिनिधित्व गर्ने जिम्मेवारी पाएँ ।
रात्री भोजको समापनपछि राती ८ बजेदेखि ११ बजेसम्म रात्रिकालीन व्यस्त क्वाङचाउको भ्रमण ग¥यौँ र भोलि समापन समारोहपछि नेपाल फर्किने कार्यक्रम भएकोले राती नै क्वाङचाउको बजारबाट हामीले नेपालका साथीहरूलाई सम्झेर केही चिनियाँ चकलेटहरू किन्यौँ ।
राति ११ बजेसम्म पनि (सायद रातभरी नै) क्वाङचाउको मुख्य बजार त्यति नै व्यस्त थियो, झिलिमिली थियो ।
२०१९ अगस्त १५
बिहान ९ः०० बज्नु अगाडि नै निर्धारित ‘सिकाइ कक्षा’ शीर्षकको सेमिनार सुरु भयो । Seminar on ” Learning Classroom”सेमिनारमा सहभागी सातवटै देशका ११ राजनीतिक पार्टीका एकजना प्रतिनिधिले गरिबी निवारण र ग्रामीण विकासका बारेमा आआफ्नो पार्टीको अनुभव बताए । नेपाल मजदुर किसान पार्टीको तर्फबाट मैले बक्तव्य दिएँ । हरेक पार्टीलाई पाँच मिनेट समय दिइएको थियो । विषय दिइएको थियो – ग्रामिण विकास र गरिबी निवारण कार्य ः एउटा राजनीतिक पार्टीको जिम्मेवारी । Rural Development and Poverty Reduction Work: A Party’s Responsibility ।
हामीले लिखित मन्तव्य प्रस्तुत ग¥यौँ । हाम्रो मन्तव्यको सार यस्तो थियो ।
गरिबी निवारण र ग्रामिण विकासका कार्यक्रमहरूमा नेपाल मजदुर किसान पार्टीले आफ्ना सम्पूर्ण पार्टी संरचनाहरू, वर्गीय सङ्गठनहरू र पेशागत समाजहरू परिचालन गरिरहेको छ । शोषणमा आधारित राजनीतिक व्यवस्था रहेसम्म साँचो अर्थमा गरिबी निवारण हुनसक्दैन । समाजमा शोषणको अन्त्य भई सामाजिक न्यायमा आधारित समाजवादी व्यवस्था स्थापना नभएसम्म गरिबी निवारण र ग्रामिण विकासको लक्ष्य पूरा हुन सक्दैन ।
प्रतिक्रियावादी भन्दा प्रतिक्रियावादी सङ्घसंस्थाभित्र गएर देश र जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार नेमकिपा र नेमकिपाका निर्वाचित जनप्रतिनिधिहरू शिक्षा, स्वास्थ्य र जनताको जीवनस्तर उकास्न अथक रुपमा काम गरिरहेका छन् । शिक्षा, स्वास्थ्य र जनताको जीवनस्तर नै गरिबी निवारण र विकासका महत्वपूर्ण मापदण्डहरू हुन् ।
नेमकिपाले पार्टीको पूरा शक्ति, जनवर्गीय सङ्गठन र पेशागत समाजहरूलगायत निर्वाचित जनप्रतिनिधिहरू शिक्षा, स्वास्थ्य, जनजीविकालगायतका गरिबी निवारण र ग्रामिण विकासमा परिचालन गरेको छ । नेमकिपाको कार्यपद्धतिअनुसार केन्द्रीय सचिवालयले समग्र योजना बनाउँछ, केन्द्रीय समितिले कार्यक्रम बनाउँछ, जिल्ला र नगर समितिहरूले कार्यान्वयन गर्छन् र पार्टीले सम्पूर्ण जनवर्गीय र पेशागत सङ्गठनहरू परीचालन गर्दछ ।
नेमकिपाका निर्वाचित जनप्रतिनिधिहरूले सङ्घीय तथा प्रदेश सभामा गाउँको विकास र गरिबी निवारणको लागि कानुन बनाउन सङ्घर्ष गरिहेका छन् ।
भक्तपुर, कालिकोट, दैलेख र जुम्लाका स्थानीय तहमा नेमकिपाका निर्वाचित जनप्रतिनिधिहरूले गरिब जनताको दैनिक समस्याहरूमा काम गरिरहेका छन् ।
भक्तपुर नगरपालिकामा नेमकिपाले सबै स्थानहरू जितेको छ । भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रअनुसार जनप्रतिनिधिहरू बहाली भएको करिब डेढ वर्षभित्र करिब ८०० युवाहरूलाई विभिन्न १५ वटा सीपमूलक विषयहरूमा तालिम दिइसकेको छ । करिब ७ वर्ग किमी क्षेत्रफल र करिब १ लाख जनसङ्ख्या भएको भक्तपुर नगरपालिका एउटा पर्यटकीय केन्द्र हो, ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकहरू भक्तपुर घुम्न आउने गर्छन् । त्यसैले भक्तपुर नगरपालिकाले नियमित रुपमा चिनियाँ भाषा तालिम सञ्चालन गर्दै आएको छ । हालसालै मात्र करिब १७० जना युवाहरूलाई चिनियाँ भाषा तालिम दिएको छ । चिनियाँ भाषालगायत भनपाले कृषिसम्बन्धी तालिमहरू, सिलाई, रेडियो प्रस्तोता, फोटोग्राफी, बुटिक, काष्ठकला, पाकशिक्षा र टुरिष्ट गाइड तालिमहरू सञ्चालन गरिहेका छन् । भनपाले तालिमहरू सञ्चालन गरी युवाहरूलाई स्वरोजगार बनाउन मद्दत गरिरहेको छ र गरिबी निवारण र विकासको लागि एउटा स्थानीय तहले गर्नसक्ने कामको नमुना देखाइदिएको छ ।
नेपाल गाउँ नै गाउँले भरिएको देश हो, नेपालका बहुमत जनता गरिब छन् । नयाँ पुस्तालाई स्वरोजगार बनाई आयआर्जन गर्ने सीप नसिकाएसम्म नेपालजस्तो देशले गरिबी निवारण र ग्रामिण विकासमा उल्लेखनीय सफलता हासिल गर्न सक्दैन । तालिमप्राप्त युवाहरूले मात्र आर्थिक विकासमा योगदान गर्न सक्छन् र जनताको सेवा गर्न सक्छन् ।
नेमकिपाका जनप्रतिनिधिहरूको अगुवाइमा भक्तपुरमा ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन भइरहेका छन् । यो अरु स्थानीय तहको लागि उदाहरण हो । यी कलेजहरू नेपालका उत्कृष्ट कलेजहरूमा पर्छन्, वर्षेनी करिब ३००० विद्यार्थीहरू विभिन्न संकायमा भर्ना हुुन्छन् ।
भक्तपुर नपाले विगत आधा दशक अघिदेखि स्वास्थ्य केन्द्र सञ्चालन गरिरहेको छ । अहिले उक्त स्वास्थ्य केन्द्र एउटा अस्पतालको रूपमा विकास हँुदैछ, दैनिक सयौँ बिरामीहरूले विशेषज्ञ सेवा पाइरहेका छन् । पार्टीका वर्गीय र पेशागत सङ्गठनहरूको आयोजनामा विभिन्न स्थानहरूमा नियमित स्वास्थ्य शिविरहरू सञ्चालन भइरहेका छन् ।
पार्टीले कार्यकर्ताहरूलाई नेमकिपाको नीतिअनुसार चल्ने समाज सेवामा आधारित सहकारी संस्थामा आबद्ध हुन प्रेरित गरेको छ । नेमकिपाका कार्यकर्ताहरूद्वारा सञ्चालित सहकारी संस्थाहरूले युवा, बालबालिका र महिलाहरूलाई लक्षित गरी रोजगारमूलक तालिमहरू सञ्चालन गरिरहेका छन् । नेमकिपाले सहकारी संस्थाहरूलाई आफ्ना गतिविधि केही आर्थिक लेनदेनमा मात्र सीमित नराखी सामाजिक जागरण, गरिबी निवारण र ग्रामिण विकास, शैक्षिक अभियान र स्वास्थ्य सेवाहरू सञ्चालन गर्न प्रेरित गर्दै आएको छ ।
राजनीतिक भ्रष्टाचार, अल्छी कर्मचारीतन्त्र र शोषक दलहरूको भागबन्डा नै नेपालको गरिबी निवारण र ग्रामिण विकासका प्रमुख चुनौतीहरू हुन् । नेमकिपा आफ्नो नेतृत्व रहेको दुर्गम ग्रामिण दैलेख, जुम्ला र कालिकोट जिल्लाहरूका स्थानीय तहहरूलाई भ्रष्टाचारमुक्त बनाउन निरन्तर सङ्घर्ष गर्दैछ ।

सम्मेलन समापन कार्यक्रमपछि चिकपा अन्तर्राष्ट्रिय विभागका उपमहासचिव का. याओ चियनकुओ र आइडीसीपीसीका उपमहासचिव का. थान वेइफिङलाई भक्तपुरको कालो टोपी र हस्तकला उपहार प्रदान गर्दै नेमकिपा प्रतिनिधिहरु


नेपालका सातवटै प्रदेश सरकार र ७५३ स्थानीय सरकारले नयाँ पुस्तालाई सीपमूलक तालिम र देशभक्तिको भावना दिएर भ्रष्टाचार मुक्त समाज स्थापना गर्न सकेमा गरिबी निवारण र विकासको लक्ष्य चाँडो हासिल गर्न सकिनेछ । सम्पूर्ण राजनीतिक पार्टीहरूले पनि त्यस्तै गर्न जरुरी छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान नदिएसम्म गरिबी निवारण र विकासको लक्ष्य पूरा हुँदैन । अतः नेमकिपाले गरेजस्तै नेपालका सबै स्थानीय तहले अस्पताल, स्कूल, कलेजहरू सञ्चालन गर्नुपर्दछ ।
हामीले नेपालबाटै पार्टीसँग सल्लाह गरेर भाषण लेखेर लगेको र केही दिन अगाडि नै चिनियाँ साथीहरूलाई बुझाएको हुनाले उहाँहरूले चिनियाँ भाषामा अनुवाद गरेर राख्नुभएको थियो र हाम्रो भाषण निर्धारित विषयवस्तु र निर्धारित समयमा केन्द्रित रहेको प्रतिक्रिया पायौँ ।
सेमिनारलगत्तै समापन समारोह सुरु भयो । समापनमा आइडीसीपीसीका उपमहासचिव याओ चियनकुओ र आइपीआरसीसीका उपमहासचिव थान वेइफिङको उपस्थिति रहेको थियो । का. याओ चियनकुओले चीनको ग्रामिण क्षेत्रको विकास र गरिबी निवारणको लागि का. सि चिङफिङको नेतृत्वमा सिपिसीको हरेक एकाइ परिचालन भएको बताउँदै गरिबी निवारण र विकासमा कसैलाई पछि पार्न नहुनेमा जोड दिनुभयो । No one should be left behind…
का. थान वेइफिङले चीनको अनुभव सबै गरिब देशको विकासको लागि काम लाग्न सक्ने बताउनुभयो । आफ्नो देशको गतिविधि र अनुभवहरू आदानप्रदानको लागि सेमिनार समाप्त भएपनि मित्रता समाप्त नहुने बताउनुभयो । Seminar Ends but Friendship does not ।
हामीले पार्टीका प्रकाशनहरू, भक्तपुरको कालो टोपी र भक्तपुरमा महिलाहरूले बोक्ने थैली र हस्तकला सामग्रीहरू लगेका थियौँ । सबै सहभागीहरूलाई हाम्रा प्रकाशनहरू उपहार दियौँ । चिनियाँ साथीहरूलाई हस्तकला उपहार दियौँ, पुरुष साथीहरूलाई कालो टोपीले सम्मान ग¥यौँ र महिला साथीहरूलाई थैली उपहार दियौँ । हाम्रो उपहारले पनि त्यहाँ हाम्रो बेग्लै परिचय बनायो । बिदाइको बेला एउटा चहलपहलको वातावरण सृजना भयो । हामीले भिजिटिङ कार्ड साटासाट ग¥यौँ ।
त्यसपछि हामी नेपाल फर्किने तयारीमा लाग्यौँ । ७ः ०० बजे क्वाङचाउबाट काठमाडौँको उडान थियो । ५ः०० बजे नै विमानस्थल पुग्नुपर्ने भएकाले हामी ठीक ३ः०० होटल क्यान्टोनबाट क्वाङचाउ विमानस्थलतर्फ लाग्यौँ । विगत दश दिनदेखि हामीसँगै रहेका आईडीसीपीसीका का. कुओ तोङ तोङ र आईपीआरसीसीका का. चाओ हामीलाई विमानस्थलसम्म पु¥याउन आउनुभयो । हामीले उहाँहरूसँग वीच्याटमार्फत सम्पर्कमा रहने वाचा गर्दै बिदाइका हात हल्लायौँ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *