भर्खरै :

राष्ट्रपति सीको भ्रमणले नेपालीमा उत्साह

काठमाडौँ, २७ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको बहुप्रतिक्षित नेपाल भ्रमण सोमबार सफलतापूर्वक सम्पन्न भएको छ । चिनियाँ राष्ट्रपतिको यो उच्चस्तरीय भ्रमण राष्ट्रपतिस्तरमा २३ वर्षपछि सम्पन्न भएको हो । यो भ्रमणलाई नेपालले केही वर्षदेखि व्यग्र प्रतिक्षा गर्दै आएको थियो ।
नेपालका राजनीतिक उतारचढाव र अन्योलका कारण सो सम्भव हुन सकेको थिएन ।
राष्ट्रपति सी यही असोज २५ गते भारतको महावलिपुरम्को भ्रमण गरी चेन्नाई हुँदै काठमाडौँ आउनुहुँदा नेपाली जनताले उहाँलाई भव्यतापूर्वक स्वागत गरे । काठमाडौँ दुलही झैँ सिङ्गारिएको थियो भने भ्रमण अवधिमा काठमाडौँका सडक सफासुग्घर, धुलोविहीन र कतैकतै भर्खरै गरिएको कालोपत्रले निकै चिल्ला र सुन्दर देखिन्थे । सवारी मार्गका सडकका दायाँबायाँ बिरुवा रोपिएको थियो भने अत्यन्तै स्याहार पुगेका फुलिसकेका फूलहरू रोपी वातावरणमा मनमोहकता भर्ने प्रयास गरिएको थियो । ठाउँठाउँमा राखिएका दुवै राष्ट्रका राष्ट्रपतिका तस्वीर अङ्कित बोर्डले काठमाडौँ सजिएको थियो ।
तीनकुनेको खाली ठाउँमा पनि पहिलेजस्तो फ्लेक्स बोर्डले छोप्नेमात्र नभई रातारात दुवो तथा अन्य बिरुवा रोपी उद्यानको रूप दिई हरियाली सिर्जना गरिएको थियो । भ्रमण अवधिमा सफासुग्घर, धुलोरहित र खाल्डारहित सडक देखेका यात्रुहरूले काठमाडौँलाई सधैँ यस्तै राख्नुपर्ने चाहना व्यक्त गरेका थिए । राष्ट्रपतिको आगमन र बिदाइमा नेपाली जनताले उत्तिकै उत्साहपूर्वक स्वागत र बिदाइ गरे ।
राष्ट्रपति सीले उहाँ काठमाडौँ आएकै दिन नेपालका राष्ट्रिय दैनिकमा प्रकाशित उहाँको लेखमा राजकुमारी भृकुटी, अरनिको, ह्वेन साङ्, बुद्घभद्रबाट सृदृढ बन्दै गएको नेपाल चीन सम्बन्धलाई अघि बढाउँदै आपसी सहयोगको नयाँ खाका कोर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले दुई देशबीच हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल विकास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
चिनियाँ राष्ट्रपति सी काठमाडौँ ओर्लिएपछि राष्ट्रपति भवन शीतलनिवासमा आयोजित स्वागत समारोहमा राष्ट्रपति सीले नेपालको व्यापार घाटा कम गर्न सहयोग गर्ने बताउँदै नेपालले लिएको एक चीन नीतिका लागि धन्यवाद दिनुभयो । उहाँले नेपालमा मदन भण्डारी विश्वविद्यालय स्थापना गर्न चीनले सघाउने प्रतिबद्घता पनि व्यक्त गर्नुभयो । सोही अवसरमा राष्ट्रपति सीले नेपाली जनताको जीवनस्तर उकास्न सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ आरएमवी (चिनियाँ मुद्रा) अर्थात लगभग ५६ अर्ब नेपाली रुपैयाँ उपलब्ध गराउने जानकारी पनि दिनुभयो ।
सोही दिन साँझ होटल सोल्टीमा आयोजित स्वागत रात्रीभोजमा राष्ट्रपति सीले नेपाल–चीन दौत्य सम्बन्धको आधा शताब्दीभन्दा बढी हुँदासम्म नेपाल र चीनले विश्वमै नमुना सम्बन्धको उदाहरण पेश गरेको बताउनुभयो । उहाँले नेपाल चीनबीच कुनै समस्या छैन, मित्रता मात्र छ भन्नुभयो ।
भ्रमणको दोस्रो दिन असोज २६ गते बिहान होटल सोल्टीमै नेपाल चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भयो । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो भने चिनियाँ पक्षको नेतृत्व चीनका राष्ट्रपति सीले गर्नुभएको थियो । वार्तापश्चात् २० बँुदे सहमतिमा हस्ताक्षर भयो भने दुई देशका परराष्ट्रमन्त्रीलगायतका मन्त्री र पदाधिकारीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री ओलीको समुपस्थितिमा हस्ताक्षरित कागजात आदानप्रदान गर्नुभएको थियो ।
बीसबुँदे सहमतिपत्रमा नेपाल र जनवादी गणतन्त्र चीनबीच सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्नेसम्बन्धी आदानप्रदान पत्रमा हस्ताक्षर भयो भने नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भयो । यसबाट अब रेलमार्गको सम्भाव्यता अध्ययनलाई अगाडि बढाउने बाटो खुलेको छ ।
दुई देशबीच नेपालबाट चीनमा अमिला वर्ग (साइट्रस) का फलफूल निर्यात गर्ने फाइटोस्यानेटरी (वनस्पति स्वच्छता) सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भयो भने काठमाडौँ उपत्यकाका नगरक्षेत्रमा खानेपानी आपूर्तिमा सुधार गर्नेसम्बन्धी पनि हस्ताक्षर भयो ।
यस्तै, नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्राष्ट्रिय सहयोग नियोगबीच पनि सुरुङ निर्माणमा सहयोगसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भयो । यसैगरी काठमाडौँ र नानजिङ तथा बुटवल र सियानबीच पनि भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भयो ।
यसैगरी, लगानी सहयोग कार्यदल गठन गर्ने, सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षण, परम्परागत उपचार पद्धतिमा सहयोगसम्बन्धी समझदारीपत्र, सीमा व्यवस्थापन, शासकीय क्षमता अभिवृद्घि, तथा अपराध नियन्त्रण, दैविप्रकोप न्यूनीकरण, लगानी अभिवृद्घि आदि क्षेत्रमा सहयोगका लागि पनि समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।
भ्रमणको अन्त्यमा प्रकाशित संयुक्त विज्ञप्तिमा दुई मुलुकबीच शान्तिपूर्ण सहअस्तित्वका नमुना प्रस्तुत गरेको भनी दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् । दुवै पक्षले दुई मुलुकबीचको दुईपक्षीय सम्बन्ध समानता, सौहार्दपूर्ण सहअस्तित्व र निरन्तर मित्रता र एकीकृत सहयोगका रुपमा चित्रित गर्न सकिने भनी स्वीकार गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । चीनले नेपाललाई रेलमार्ग, सडक, आन्तरिक जलमार्ग, सुरुङमार्ग, शिपिङ आदिमा इन्जिनियरिङलगायत मानवीय स्रोतलाई तालिम उपलव्ध गराउने प्रतिबद्घता जनाएको छ ।
नेपाल तथा चीनले क्षेत्र तथा मार्ग पहलकदमी (बेल्ट एन्ड रोड इनिसिएटिभ) लाई सबै क्षेत्रमा एकीकृतरूपमा आपसी फाइदाको सहयोगलाई गहन बनाउने, साझा समृद्धि प्राप्त गर्न संयुक्तरूपमा प्रयास गर्ने तथा यस क्षेत्रमा शान्ति, स्थायित्व तथा विकास कायम गर्न लागिपर्ने महत्वपूर्ण अवसरको रूपमा लिएका छन् ।
नेपाल र चीनबीच दुईपक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको दुवै पक्षले स्वीकार गरेका छन् । दुवै पक्षले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको बडापत्र, असल छिमेकीको सिद्धान्तका साथै निरन्तर मित्रताका आधारमा विकास तथा समृद्धिका लागि नेपाल र चीनबीच एकीकृत साझेदारी कायम गर्ने निर्णय पनि गरेका छन् । यसरी धेरै समयको अन्तरालमा भएको चिनियाँ राष्ट्रपतिको यस भ्रमणबाट चीनले नेपाललाई व्यापक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्घताका साथ नेपाली जनतामा उत्साह जगाएको छ भने नेपाल–चीन सम्बन्ध अझ बलियो भएको विश्वास गरिएको छ ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *