भर्खरै :

कुर्द र दमास्कसबीच समझदारीको घोषणा

सिरिया, २७ असोज (एएफपी) । टर्की–सिरिया सीमाक्षेत्रमा टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि त्यस क्षेत्रमा सक्रिय सिरियाली कुर्दहरूले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन् ।
सिरियाको उत्तरी सीमावर्ती क्षेत्रमा कुर्दहरूको बाक्लो बस्ती छ । टर्कीले पृथकतावादीको आरोप लगाउँदै कुर्द–लक्षित भीषण आक्रमण थालेपछि अप्रत्यासितरूपमा नयाँ सम्झौताको घोषणा गरिएको हो ।
टर्कीको उक्त सैन्य कारबाहीप्रति अन्तर्राष्ट्रिय समुदायले पनि आपत्ति जनाएको छ । सिरियामा जारी गृहयुद्धका कारण कमजोर अवस्थामा रहेको सिरियाले टर्कीको आक्रमणप्रति खासै रुचि देखाएको छैन ।
सिरियाली कुर्दिस लडाकुहरूसँग मिलेर इस्लामिक स्टेट्सविरुद्ध लडिरहेको अमेरिकी फौज पनि अमेरिकी राष्ट्रपतिको आदेशमा उक्त इलाकाबाट फिर्ता हुने तयारीमा छ । कुर्दिस इलाकामा हाल करीब एक हजार अमेरिकी सेना रहेको बताइएको छ ।
अमेरिकी रक्षामन्त्री मार्क एस्परले सोचेभन्दा बढी नै शक्ति लगाएर टर्कीले सिरियाली भूभागभित्र आक्रमण थालेपछि आफूहरू पनि उक्त इलाकाबाट बाहिरिन थालेको बताउनुभएको छ ।
टर्कीले सिरियाभित्र करीब ३० किलोमिटरको क्षेत्रलाई केन्द्रित गरी हवाई आक्रमण, बमवर्षा र सिरियाली लडाकुहरूको सहयोगमा पैदल सैनिक परिचालन गरी आक्रमण गरिरहेको छ । यस आक्रमणबाट ठूलो सङ्ख्यामा सर्वसाधारण र कुर्दिस लडाकुहरू मारिएका छन् ।
सिरियाली कुर्दहरूले आफूलाई अमेरिकी प्रशासनले धोका दिएको बताउन थालेका छन् । इस्लामिक स्टेट्सविरुद्ध लड्न अमेरिकाले कुर्दहरूलाई प्रयोग गरे पनि अहिले अलपत्र छाडेको आरोप अमेरिकामाथि लागेको छ ।
कुर्दहरूले वर्षौंदेखि अलग कुर्दिस्तान (मुलुक) बनाउन सशस्त्र छापामार युद्ध गरिरहेका छन् जसमा सिरिया, टर्की, इराकसमेतका कुर्दहरू एकमत छन् । तर, पछिल्लो पटक सिरियासँग गरिएको अप्रत्यासित सम्झौता भने कुर्दहरूमाथि टर्कीबाट भइरहेको आक्रमण रोक्नका लागि हो ।
कुर्दिस प्रशासनले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, सिरियाली अतिक्रमणसँग जुध्न सिरियाली सरकारसँग सम्झौता गरिएको छ ताकि सिरियाली सैनिकलाई सिरिया–टर्की सीमाक्षेत्रमा खटाउन सकिने छ र सिरियाली भूमिमा टर्कीले गरिरहेको आक्रमण रोकिने छ ।
सिरियाली समाचार संस्था सानाले टर्कीको अतिक्रमणलाई रोक्न सिरियाली सेना परिचालन हुन लागेको समाचार प्रकाशन भएलगत्तै नयाँ सम्झौताको खबर बाहिर आएको छ ।
टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानले सिरियाली भूमिमा आक्रमण गर्नुको मुख्य उद्देश्य नै सुरक्षित इलाका निर्माण गर्नु ात्र रहेको बताउनुभएको छ । उहाँले यो क्षेत्र सिरियाभित्र करिब ३० देखि ३५ किलोमिटरमा मात्र केन्द्रित हुने जानकारी दिनुभयो ।
मानव अधिकारका लागि सिरियाली अब्जरभेटरीले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *