भर्खरै :

अतिथिहरूको नजरमा तःमुंज्या–२

विगोल
तःमुंज्यामा भक्तपुरका पुराना कलाकारलाई पनि सम्मान गरियो । साहित्य तथा सांस्कृतिक गतिविधिहरू निरन्तर भइरहेको छ । पुराना कलाकारहरूले नयाँ पुस्तालाई आफ्नो प्रतिभा हस्तान्तरण गर्नुपर्छ । पुराना कलाकारहरूले आफूसँग भएको कला सिकाउनुपर्छ । सम्मानित हास्य कलाकारले आफूले कला क्षेत्रमा गरेको कामको अनुभव बाँडेर दर्शक हँसाए । कला क्षेत्रमा हात हालेको धेरै समय छुटेको भए पनि आफूसँग भएको जोश–जाँगरमा कमी नआएको कुरा पनि सम्मेलनमा व्यक्त भयो । आफूसँग भएको कला नयाँ पुस्तामाझ नबाँडे नयाँ पुस्ताले पुराना अग्रज कलाकारलाई चिन्ने छैन । ‘बूढा मरे भाषा सरे’ भनेझैँ अग्रजका सीप र कला पनि लोप हुन बेर लाग्दैन ।
हरेक जनजातिले आ–आफ्नो मातृभाषा बचाउनुपर्छ, उत्थान र विस्तार गर्नुपर्छ । मातृभाषालाई बेवास्ता गरिए संस्कृति पनि लोप हुनसक्छ । घर–घरमा, गाउँबस्ती र सहर बजारमा आ–आफ्नै भाषाबाट वातचित गर्नुपर्छ । आ–आफ्नो भाषाभित्र धर्म, संस्कृति र इतिहास लुकेको हुन्छ । देशको शासन सधैँ राम्रो हुनुपर्छ, देशलाई जहिल्यै अक्षुण्ण राख्नुपर्छ । नेपाली जनता एकताबद्ध भएसम्म देशलाई कसैले दूरगामी असर पु¥याउने छैन ।
संसद राष्ट्रिय झन्डा देखाएर जनताको रगत बेच्ने थलो नबनोस् । राजतन्त्र अन्त्य भइसकेपछि राष्ट्रपतिले किन नयाँ राजा बनेर उच्चपदस्थ व्यक्तिहरूलाई टीका लाउँछन् ? के राष्ट्रपतिको हातबाट टीका लगाउन नपाए उच्चपदस्थहरूले चित्त दुखाउँछन् ? गत वर्ष टीका लगाउँदा राष्ट्रपतिको आलोचना भएको थियो । आफू मेचमा बसेर अरुलाई घुँडा टेकाएर टीका लगाउँदा गणतन्त्रमा पनि सामन्ती संस्कार बाँकी रहेको चर्चा व्यापक बनेको थियो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ इमानदार, चरित्रवान र देशभक्त नेता हुन् । उनीबाट अरु नेताहरूले सिक्नुपर्छ । पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएर जनताको विश्वास कसरी जित्न सकिन्छ ? देशमा पथभ्रष्ट र चरित्र भ्रष्टहरू रहेसम्म, उनीहरूको नेतृत्वमा सरकार रहेसम्म देशले प्रगति गर्दैन । सांसदहरू नीति निर्माण र देश विकासमा भन्दा सांसद विकास कोषमा किन जोड दिन्छन् ? नेताहरूमात्र होइन मन्त्री र सांसदहरू पनि आफ्नो जिम्मेवारी भुल्छन् र गलत कार्यमा लाग्छन् । यो देशको विडम्बना हो ।
भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीको विरोध नगर्ने दल कम्युनिस्ट हुनैसक्दैन । वर्तमान सरकारले नबोले पनि साहित्यकारहरूले कलम चलाएका छन्, चलाउने छन् । सत्ता र शक्तिको आडमा सार्वजनिक पोखरी पनि व्यक्तिगत बनाइएको छ । काठमाडौँको कमलपोखरीमा बनाइएको छायादेवी कम्पलेक्स भवन यसको दृष्टान्त हो । ऐतिहासिक पोखरीलाई व्यापारिक भवन बनाइयो । सरकार या राज्यले त सांकृतिक धरोहरको रक्षा गर्नुपर्छ । सांस्कृतिक सम्पदाहरू विनास या नष्ट गरेर कसरी सम्पदा संरक्षण हुन्छ ? सम्पदा नष्ट गर्ने या व्यक्तिको हातमा सुम्पिनेमा भूमाफियाहरूको हात छ, गुठी संस्थानका पदाधिकारी र सत्तासीन नेता तथा कार्यकर्ताहरूको मिलेमतो छ । तर भक्तपुरमा सम्पदा संरक्षण भएको छ । यसले सम्पदाप्रेमीहरूको निम्ति ऊर्जा प्रदान गरेको छ । बोङा, खोकना र काठमाडौँको सम्पदा संरक्षण या सम्पदा जोगाउनमा भक्तपुरका जनताले गरेको सहयोग, साथ बिर्सनु हुँदैन । यसले ललितपुरवासी र काठमाडौँवासीहरूमा थप बल मिलेको छ ।
कला, साहित्य र संस्कृतिको संरक्षणमा भक्तपुरले विशेष ध्यान दिएको छ । तःमुंज्याको कार्यक्रम व्यवस्थित र अनुशासित छ । देशमा इमानको राजनीति आवश्यक छ । देशमा नारायणमान बिजुक्छेँ जस्ता नेताहरूको खाँचो छ । ६ सय अरब खर्च गरेर नेपालको संविधान बनेको हो । त्यसकारण संविधानमा आम नेपालीको स्वामित्व छ । संविधान आस्थाको दस्ता बन्नुपर्छ । आस्थाको दस्ता भइदिएको भए संविधानप्रति जनताको सम्मान हुन्छ । संविधान दिवसमा सेनाभन्दा जनताको उपस्थिति हुनुपर्छ । संविधान व्यवहारमा लागू गर्न सरकार चुकेको छ । नेका र कम्युनिस्टहरूको समर्थनमा बनेको संविधानको दस्तावेज उँटजस्तो बनेको छ ।
संविधानमा कता–कता समाजवादमा आधारित भनिएको व्यहोरा छ तर व्यवहार र नीति पुँजीवादी बन्दोबस्तको छ । सामाजिक न्याय र आर्थिक न्यायमा सरकारको प्रतिबद्धता उल्लेख छ तर व्यवहारमा असफल देखिएको छ । आर्थिक समृद्धिको कुरा पनि कागजको पानामा सीमित छ । कम्युनिस्ट भनिएको शासनमा आर्थिक विसृङ्खलताको बयान गरेर साध्य छैन । नेपालको बाटो बनाउन पनि विदेशी आउनैपर्ने ? देशमा विदेशी ऋण थुपारेर देशलाई कहाँ पु¥याउन लागेको हो ? सिंहदरबारको अधिकार गाउँ–गाउँमा होइन सिंहदरबारको भ्रष्टाचार वडा–वडामा पुगेको छ । नेपाली जनतासँग उठाइएको कर विकासको लागि हो कि कसैको सेवा सुविधा र भ्रष्टाचारको लागि हो ? राज्य व्यवस्था सञ्चालनको लागि पनि विदेशी ऋण ! के यसले देशको सार्वभौमसत्ता र स्वाधीनतामा चोट पु¥याउँदैन ? यो देशको लागि दुर्भाग्य र विडम्बनाको विषय हो । सरकारले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत देशको राजस्वमा दाइँ गरिरहेको छ ।
अरुले भनेको बोलेको सरकारको लागि सह्य हुँदैन । दुईतिहाइको दम्भमा अरुलाई जबरजस्ती कुल्चिरहेको छ । जनतालाई ढाँट्ने काम छोड्नुपर्छ । सरकारी नीति तथा कार्यक्रम र संविधान व्यवहारमा लागू गर्न नसके सुधार्नुपर्छ । तर, त्यो पनि गर्दैन, हुँदैन । यो कस्तो सरकार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *