भर्खरै :

रौतहटमा सातौँ महाधिवेशनको सन्देश

रौतहट, ३० असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन सन्देशबारे जानकारी दिने उद्देश्यले नेमकिपा रौतहट जिल्ला समितिको आयोजनामा बिहीबार फुलबरियामा कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपा हिमाल, पहाड र तराईका गरिब, शोषित–पीडित कामदार जनताको साझा पार्टी भएको चर्चा गर्दै नेमकिपामा भ्रष्टाचारी र अपराधीहरूलाई प्रवेश निषेध छ भन्नुभयो ।
तराईको जग्गा–जमिन जमिनदारहरूको हातमा रहुञ्जेल तराईको किसान समस्या समाधान नहुने उल्लेख गर्दै उहाँले नेमकिपा क्रान्तिकारी भूमिसुधारको पक्षमा रहेको बताउनुभयो ।
“तराईका गरिब जनताले दुःख पाउनुमा सत्तामा जाने शासक पार्टीहरू नै जिम्मेवार छ । नेमकिपा भारतविरोधी नभई भारतीय विस्तारवाद र एकाधिकार पुँजीको विरोध गर्छ ।” केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सृजना सैँजूले नेकपा सरकार कम्युनिस्टको मुकुण्डो लगाएर जनतालाई ठगिरहेको बताउनुभयो ।
नेमकिपा जातीय, क्षेत्रीय र साम्प्रदायिक पार्टी नभएको स्पष्ट पार्दै उहाँले पार्टीले जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्ने काम गरिरहेको बताउनुभयो ।
नेमकिपाको सातौँ महाधिवेशनले ‘जनताको प्रजातन्त्र’, समाजवाद र साम्यवादी व्यवस्थाबारे जनतालाई प्रशिक्षित गर्ने नीति पारित गरेको जानकारी दिँदै केन्द्रीय सदस्य सैंजूले नेमकिपा देशको स्वाधीनता र सार्वभौमिकता रक्षाको लागि सडकदेखि सदनसम्म सङ्घर्षरत छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला संयोजक सरोज साहले शासक दलहरूले तराईमा साम्प्रदायिक कुरा गरेर जनतालाई भड्काउने काम गरिरहेको बताउनुभयो ।
तराईको किसान समस्या समाधानको लागि विगतमा जस्तै किसान आन्दोलन चर्काउनुपर्ने आवश्यक छ, उहाँले भन्नुभयो ।
रवीन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेमकिपा रौतहटका अध्यक्ष दिनेश साह, लालबाबु चौधरी र स्वामी सम्रातले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *