भर्खरै :

संस्कृतिमा विज्ञानको खोजी

डा. तीर्थबहादुर श्रेष्ठ
(३९ औँ नेपालभाषा साहित्य तःमुंज्यामा व्यक्त मन्तव्यको सार)
बाल्यकालमा मलाई नेपालभाषामा लेखपढ गर्ने मौका प्राप्त भएन । आमा, दिदी, बहिनी र टोलछिमेकमा नेपालभाषामा कुराकानी गर्थेँ । बुबा, कान्छो बुबा, दाजुभाइसँग नेपालीभाषामा कुरा गर्थेँ । हरेक परिवारमा जागीर गर्ने र जागीर नगर्नेबीच भेद थियो । महिलाहरूसँग अहिले पनि नेपालभाषामा कुराकानी हुन्छ, पुरुषसँग भने नेपाली भाषामा कुराकानी हुन्छ । त्यसकारण मलाई नेपालभाषामा पढ्न गाह«ो लाग्छ । आज म जानी नजानी केही (नेपालभाषामा) पढ्ने कोसिस गर्छु ।
चङ्गा
आजभोलि चाडबाडको समय छ । मोहनी सकिंदै छ । मेरा आँखा आकाशतिर दौडिरहेका छन् किनभने मोहनी भन्ने बित्तिकै म आकाशमा चङ्गा खोज्ने गर्छु । विडम्बना हिजोआज आकाशमा चङ्गा देखिन छोड्यो ।
चङ्गा असाध्यै राम्रो रैथाने आविष्कार हो । चङ्गा चीन, जापान, युरोप आदि विश्वका भूभागमा पाइन्छ । तर, चङ्गा जुधाउने चलन अन्यत्र छैन । चङ्गा जुधाउने कला, संस्कृति, ज्ञान र विज्ञान काठमाडौँका नेवारहरूबाहेक अन्यत्र पाइँदैन । न बैङ्ककमा छ, न चीनमा छ, न युरोपमा नै छ । चङ्गा सबैतिर छ तर चङ्गा जुधाउने संस्कृति भने यहीँमात्र छ । त्यसकारण फाइटर काइट (लडाकु चङ्गा) को देश भनेको नेपाल हो र नेपालका हामी नेवारहरू नै हौँ । जुधाउने चङ्गा बनाउने आफ्नै विधि प्रविधि हुन्छ । त्यसको लागि नेपाली कागजकै आवश्यकता पर्दछ । प्वाँखको भाटा, बीचको भाटा, धागो राख्ने आफ्नै तरिका हुन्छ । चङ्गालाई घुमाउरो उडाउने वा दायाँबायाँ हल्लाउने अथवा चलाउने भन्ने आफ्नै तरिका हुन्छ । धागोमा कस्तो लेदो मिसाउने भन्ने पनि आफ्नै तरिका हुन्छ । कसैले मैदाको माडको धार लगाउँछन्, कसैले अन्डा मिसाउँछन्, कसैले गुँद मिसाउँछन् । जलेको चिमलाई धुलो बनाएर त्यसको माड बनाउन सके अझै राम्रो भनिन्छ । आ–आफ्नै प्रविधि मौलिक शिल्पको हुने गर्छ । हिजोआज बिस्तारै यो प्रविधि लोप हुँदै गएको छ । यो विषयमा विद्यालयमा पढाउनु उपयोगी हुन्छ । चङ्गाको विज्ञान र प्रविधि विद्यार्थीलाई पढाउन सके निकै राम्रो हुनेछ । विशेषतः एरोडाइनामिकबारे पढाउन चङ्गाको उपयोग गर्न सके केटाकेटीलाई सिक्न निकै सहज हुनेछ । कालोपाटीमा चकले लेखेर वा कम्प्युटरमा देखाएरभन्दा विद्यार्थी स्वयम्ले लट्टाइ समाएर हावाको चाल, गति, चङ्गा जुधाउने ठाउँ आदि प्रत्यक्ष अनुभव गराउन सके उपयुक्त हुन्छ । मोहनीजस्तो चाडमा खेल्ने र मनोरञ्जन गर्ने यस्ता विज्ञानलाई हामीले संरक्षण गर्नुपर्छ ।
हिजोआज चङ्गा त उडाइन्छ तर सबै तयारी चङ्गा नै हुन्छ । तयारी चाउचाउ र तयारी चङ्गामा कुनै भिन्नता छैन । धागोलाई कडा वा बलियो कसरी बनाउने कसैलाई थाहा छैन । चङ्गामा कसरी धागोले बाँध्ने कसैलाई थाहा छैन । धागो कसरी बेरेर तान्ने पनि थाहा छैन । यो रेडिमेट जमानामा फर्केर फेरि हाम्रो संस्कृतिबारे विचार गर्नुपर्ने हो कि !
मोहनी अर्थात् कालो टीका
मोहनीमा सबैले घरघरमा रातो टीका लगाएको देख्छु । तर, कालो टीका कसैले लगाएको देख्दिनँ । नेवारहरूको ‘मोहनी’ भनेको कालो रङ्गको मोहनी हो । तान्त्रिकरूपमा देवतालाई चढाई बनाइएको कालो टीका नै मोहनी हो । मोहनी टीका भनेको कालो हुन्छ, रातो होइन । राई लिम्बुले सेतो टीका लगाउँछन् । नेवारहरूले कालो टीका लगाउने हो । तोरीको तेलमा सलेदो भिजाएर त्यो बालेर मोहनी टीका बनाइन्छ । यो प्रक्रिया निकै कलात्मक हुन्छ । त्यसबाट निकै सुन्दर आकारको मोहनी टीका बन्छ । हिजो मैले एउटा शब्दकोशबाट थाहा पाएँ, यसरी मोहनी टीका बनाउँदा माथिबाट घोप्टाउने माटोको सलीलाई ख्वप भनिने रहेछ । त्यही भएर मोहनीमा लगाइने टीकालाई ख्वप सिना
(टीका) पनि भन्ने चलन रहेछ । नेवार संस्कृतिमा फेरि एकपल्ट भित्र गहिराइमा गएर बुझ्न जरुरी छ ।
नेवाः संस्कृति लोप हुँदै गएकोमा पीर
अहिले धेरै मानिसहरू नेवाः संस्कृति लोप हुँदै गएकोमा पीर मान्दै गरेको देख्छु । तर, हामीले पीरमात्र लिएर हुँदैन । सामान्य किसिमबाट हामीले धेरै काम गर्न सक्छौँ । जस्तैः नेवारहरूको भोजलाई लिऔँ । ३० वर्षजति अघि मैले नेवार शैलीको झ्व भ्वँय् खान एक जना फ्रान्सेली मानवशास्त्री कर्नेल जेस्टलाई आमन्त्रण गरेको थिएँ । नेवार भोजमा धेरै परिकार हुने गर्छ । जस्तै गेडागुडी, आलु, जाँड, साग, अमिलो आदि । कमसेकम तीस चालीस परिकार हुने रहेछ ! अय्ला (रक्सी) र छुयाला (पोलेको मासु) त हुने नै भयो । आजकलका युवाहरूलाई छुयाला भनेको के भनी सोध्दा सेकुवा भन्छन् । मैले बुझेको छुयाला भनेको गहुँको छ्वालीले पोलेको मासु हो । त्यो हो सक्कली छुयाला । हिजोआज जेलाई पनि छुयाला भन्छन् । जुनसुकै रक्सीलाई अय्ला भन्छन् । त्यसकारण हामीले फेरि एकपल्ट फर्केर हाम्रो संस्कृतिलाई वैज्ञानिक तरिकाले अनुशीलन गर्न आवश्यक छ ।
आजकल रेस्टुराँहरूमा पनि भोज खुवाइन्छ । तर, भोज सकेपछि जति हामीले खाइसक्छौँ त्योभन्दा बढी त फोहोर जम्मा भएको हुन्छ । मेरो फ्रान्सेली मित्रले भनेको अहिले पनि सम्झन्छु । भोज खाइसकेपछि जति बाँकी रहन्छ, जस्तैः पातको लप्टे, लप्टे उन्ने सिन्का, अय्ला खाने सली सबै जैविक छ । अथवा कुहिने खालका छन् । त्यसबाट वातावरणमा प्रदूषण हुँदैन । तर, आजकल हामी रेस्टुराँमा जाँदा ४ सय ग्राम खाए ५ सय ग्राम त प्रदूषण फालेर आउने गर्छौँ । यो विषयमा चिन्तन आवश्यक छ ।
हाम्रो आफ्नै खाने शैली छ । कुन परिकारपछि कुन खाने भन्ने आफ्नै नियम छ । यो विषयमा पुस्तक पनि छापिएका छन् । साहित्यकारहरूले हाम्रो परिकार, मनोरञ्जनका माध्यम, चङ्गा आदिलाई कसरी साहित्यमा समावेश गर्ने भन्ने विषयमा सोच्न जरुरी छ । साहित्यमा समावेश गर्न सके सबै मानिसको मन मनसम्म यो पुग्न सम्भव छ ।
सानेपादेखि यहाँसम्म आउँदा सडक शान्त छ । म सानो छँदा पनि मोहनी सकेलगत्तै शान्ति अनुभूति हुन्थ्यो । हामी सानो छँदा भाले कुखुराले मोहनी आएको सङ्केत दिन्थ्यो ।
भाले बास्थ्यो, ‘मोहनी वल ! मोहनी वल !’
‘(मोहनी आयो ! मोहनी आयो !)’
हाँसले सोध्थ्यो, ‘ग्वले ?’ ‘ग्वले ?’ (कहिले हो कहिले ?)
भेडाले भन्थ्यो, ‘अ छुयाय् । अ छुयाय् ।’
(अब के गर्ने होला ? अब के गर्ने होला ?)
बोकाले गुहाथ्र्यो, ‘यो मा !’ (आम्ममा)
अनि राङ्गोले हामीले गरेर केही हुन्न भन्दै –‘नारायण नारायण’ भन्थ्यो ।
मोहनीमा पञ्चबली दिइन्छ । त्यही भएर मोहनीको भोलिपल्टदेखि केही कराएको सुनिदैनथ्यो । आजकल ट्राफिक सुनसान भएजस्तै त्यतिबेला टोलछिमेक सबै सुनसान हुन्थ्यो । कमसेकम छ–सात महिना सुनसान हुन्थ्यो ।
पर्साउनुमा विज्ञान
हामीले बोका काट्दा पानी छर्केर पर्साउने गर्छौँ । त्यसरी पर्साउनु पनि निकै वैज्ञानिक रहेछ । पशुलाई पानी छर्केर पर्साउँदा नपर्से रोगी भनेर बुझ्नुपर्छ । रोगी हो–होइन पत्ता लगाउन नै पर्साउने गरिन्छ । हाम्रो संस्कृति र संस्कारमा कति विज्ञान छ भन्ने कुरा हामीले वैज्ञानिक मूल्याङ्कन गर्न आवश्यक छ ।
मोहनीमा हामीले जमरालाई छुट्याउन सक्दैनौँ । जमरा त कुनै पुष्प होइन । त्यो त जौको बेर्ना हो । त्यो बेर्नालाई टाउकोमा राख्दा त्यो फूल बन्छ । त्यो जौको बेर्नालाई सुनजस्तै छोपेर राख्दा त्यसलाई शीरमा राख्ने फूल बनेको हुन्छ । मानिसले जङ्गलबाट निस्केर खेतीपाती गर्न थाल्दा सुरुमा उत्पादन भएको अन्न जौ हो । मानिसले सुरुमा कृषिमा प्रयोग गरेको अन्न जौ हो । रारामा एक जना जापानीले त्यहाँको हजारौँ वर्ष पुरानो बिउ (पोलेनगे्रन) बारे अध्ययन गर्दा त्यहाँको मूल अन्न नै जौ भएको पत्ता लगायो । त्यही भएर हाम्रो संस्कृतिमा जौ र तील नभइ हुन्न किनभने जौको पौराणिक र ऐतिहासिक महत्व छ ।
तिहारमा हामीले बिमिरोको प्रयोग गर्छौँ । बिमिरो पनि मानिसले उत्पादन गरेको पहिलो फल हो । त्यही भएर म्हपूजा र भाइटीकामा बिमिरो नभइ हुन्न । आजभोलि विज्ञानले पनि जमरा र बिमिरोको औषधिजन्य गुण प्रमाणित गरिसकेको छ । काठमाडौँमा प्रातकालीन भ्रमणमा जाने मानिसहरू जौ अथवा जमराको रस खान्छन् । त्यो फेसनजस्तै बनेको छ । जौको रस र परिकार सात दिनभित्रै खानुपर्छ । त्यसपछि त्यसमा औषधिजन्य गुण हुँदैन । जौको बिउबाट हुर्केको पात नै जमरा हो । त्यसमा जलमात्र सिञ्चन गरिन्छ । मल राखिंदैन । कुखुराको अन्डाभित्र जसरी पौष्टिक तत्व हुन्छ, जौको बिउको पौष्टिक तत्वको उत्पादन मात्र पौष्टिक हुन्छ । त्यसकारण जमराको रस खाँदा कति दिन पुरानो भनी सोध्नुपर्छ । सात दिनसम्मको जमराको रसमात्र पौष्टिक हुन्छ ।
नेवार संस्कृतिमा यस्ता धेरै कुरा छन् । तर, तिनको अभिलेखीकरण हुन सकेको छैन । यस्ता संस्कृतिको अभिलेखीकरण र लिपिबद्ध गर्ने विषयमा हामीले ध्यान दिन जरुरी छ ।
तिहार
तिहारमा अनेक कुराको पूजा गरिन्छ । तर, सबभन्दा उँचो पूजा भनेको म्हपूजा हो । आफ्नो शरीरलाई पूजा गर्ने संस्कृति अन्यत्र मैले सुनेको छैन । हामीसँगै एउटै जीवन छ, हाम्रो एउटै जुनी छ । त्यही एउटै जन्ममा राम्रो गर्न नै आफूले आफैँलाई पूजा गर्ने संस्कृतिको विकास भएको हो । यसबारे सबैलाई बताउन जरुरी छ । जे गर्नु छ यही जुनीमा गर्नुपर्छ भन्ने दर्शनमा आधारित संस्कार हो ।
साहित्यको प्रभाव
म्हपूजाकै आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘यात्री’ कविता लेख्नुभयो । म्हपूजा हामीले ग¥यौँ, देवकोटाले लेख्नुभयो । ‘हाडहरूको सुन्दर खम्बा, मांसपिण्डका दिवार । मस्तिष्कको यो सुन्दर छाना, इन्द्रियहरूको द्वार । नशा नदीका तरल तरङ्ग, मन्दिर आफू अपार । कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ।’ अर्थात् भगवान भनेको हाम्रै शरीरभित्र छ, शरीर नै देवता हो । आफ्नो शरीरलाई देवता मान्नेहरू नै नेवारहरू हुन् ।
मण्डप
म्हपूजा र भाइटीका गर्दा मण्डप बनाउँछौँ । कसैले सात कसैले बढी घेरा बनाउने चलन छ । त्यो मण्डपबाट हामीले सिक्नुपर्ने कुरा के हो भने हाम्रो जीवन एउटा बिन्दुबाट आरम्भ हुन्छ । मण्डपको बीचमा हामी तेलको बिन्दु बनाउँछौँ । सबभन्दा बाहिरी घेरा पानीको बनाउँछौँ । बिन्दुदेखि ब्रह्माण्डसम्मको सम्बन्धलाई हामीले म्हपूजाको त्यो मण्डपबाट बुझ्न जरुरी छ । विख्यात पर्वतारोही मेसनरले कञ्चनजङ्गा आरोहण गरेपछि कस्तो अनुभूति भयो भनी सोध्दा आफू मण्डपको बीचमा पुगेको अनुभूति भएको बताए । उनले भने, “जीवन भनेको एकपछि अर्को घेराको शृङ्खला हो । जीवन भनेको मण्डप हो ।”
मण्डप कोरेर अन्डामात्र खाने होइन, किन मण्डप कोरियो भनी चिन्तन गर्नुपर्छ । मण्डपको आयामलाई लिपिबद्ध गरेर आउँदो पुस्तालाई बुझाउनुपर्छ । यस्ता धेरै काम साहित्यमार्फत गर्न सकिन्छ ।
सँझ्या
नेवारहरूले सँझ्या देख्दा त्यसलाई सामान्यरूपमा लिने गरेका हुन्छन् । तर, गैरनेवारले त्यही सँझ्या देख्दा विशिष्ट कुरा देखेको हुन्छ । नेवारहरू सधैँ सँझ्या वरपर बसेका हुनाले त्यसको विशिष्टता महसुस गर्न नसकेको हुनुपर्छ । जस्तैः अक्वारियममा बसेको माछालाई पानीको महत्व थाहा हुँदैन । जतिबेला अक्वारियमबाट पानी निकालिन्छ, त्यतिबेला मात्र माछालाई पानीको महत्वबोध हुन्छ । पहाडबाट झरेको एक जना कविले सँझ्याको महत्व बुझेको छ । कवि माधव घिमिरेले त्यसको महत्व बुझ्नुभयो ।
‘कहाँबाट हेरौँ र संसार
सँझ्याल नै नरहे
नेपाली हामी रहौँला कहाँ
नेपाल नै नरहे ।’
संसार हेर्ने झ्यालको अर्थमा कविले बुझ्नुभयो । पानीमा बसेका माछाजस्तै हामीले त्यसको महत्व बुझ्न सकेनौँ ।
नेवाः भाषा, संस्कृति संरक्षण गर्न आ–आफ्नो घर–परिवारबाट सुरु गर्नुप¥यो । नेपालभाषा बोल्नुप¥यो, नेवाः परिकार खानुप¥यो । बाल साहित्य, अन्य साहित्य, शब्दावली, हाम्रो चाडबाड, संस्कृतिबारे नयाँ पुस्तालाई बुझिने गरी बुझाउन आवश्यक छ । यो प्रयोजनको लागि यस्ता सम्मेलन निकै महत्वपूर्ण छ ।
(श्रेष्ठ वैज्ञानिक एवम् लेखक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *