सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
नीरज
रूपेश श्रेष्ठलाई धेरै मानिस समाचारवाचकको रूपमा चिन्छन् । उनी राम्रा कवि पनि हुन् । हालै प्रकाशित कविता सङ्ग्रह ‘घिन्ताङघिसी ट्वाक’ ले उनको कवि व्यक्तित्व अझ प्रकाशमा ल्याएको छ ।
‘घिन्ताङघिसी ट्वाक’ कविता सङ्ग्रह सार्वजनिक गर्ने कार्यक्रममा वक्ताहरूले ‘घिन्ताङघिसी ट्वाक’ को शाब्दिक अर्थबारे आ–आफ्ना व्याख्या र बुझाइ बोले । तर, सांस्कृतिक भिन्नताका कारण हुनुपर्छ, वक्ताहरूले त्यो शब्दावलीको सही अर्थ ठम्याएनन् । ‘घिन्ताङघिसी ट्वाक’ विशेषतः भक्तपुर नगरसँग जोडिएको सङ्गीतको धुन हो । भक्तपुरमा भाद्र कृष्णपक्ष प्रतिपदाको दिन सापारु पर्वमा निकालिने लठ्ठी जुधाएर सडकमा नाचिने सामूहिक नाचको धुनको शाब्दिक रूपान्तरण नै घिन्ताङघिसी ट्वाक हो । यो धुन बजाउन लालाखिं, करखिं धाँबाजा र आजभोलि धिमे बाजा पनि बजाउने गरिन्छ । मानिसहरू सापारु र गाईजात्रालाई समान अर्थ दिन खोज्छन् । तर, सापारु र गाईजात्रा फरक फरक हुन् । कवि रूपेश श्रेष्ठले एकातिर आफ्नो कृतिको नाम ‘घिन्ताङघिसी ट्वाक’ जुराएर कृतिलाई मौलिकता दिन खोजेका छन् भने अर्कोतिर घिन्ताङघिसी ट्वाकको विशिष्ट संस्कृतिलाई पनि अझ विस्तारित गर्न योगदान गर्नुभएको छ ।
स्वयम् भक्तपुरबासी हुनुको नाताले आफ्नो पहिचानलाई पनि कविता सङ्ग्रहको नाममा अभिव्यक्त गर्ने प्रयास भएको देखिन्छ । तथापि, पुस्तकको आवरणका चित्र भने घिन्ताङघिसी ट्वाकको तालमा नाचिने नाचको होइन, माक प्याखँ (बाँदर नाच) को हो । धिमे बजाउँदै गरेकी हाकुपटासी लगाएकी युवतीहरूको चित्र पनि आवरणमा देखिन्छ । तर, घिन्ताङघिसी ट्वाकको ताल धिमे बाजाभन्दा पनि लालाखिं र करखिं (धाँ बाजा) बजाएर निकालिने गरिन्छ ।
अब सङ्ग्रहमा सङ्कलित कविताबारे चर्चा गरौं । आफ्नो जन्म साल (२०४२) लाई सङ्केत गर्न कवि श्रेष्ठले कृतिमा जम्मा ४२ वटा कविता सङ्कलन गरेका छन् । कविताका विषयको आयतन पनि निकै फराकिलो छ । राजनीति, भावना, बेथिति, भूकम्प, सौन्दर्य, प्रेम, गरिबी, पुरुष, महिला, गाउँ, परिवर्तन आदि थुप्रै विषयका कविता छन्, ‘घिन्ताङघिसी ट्वाक’ मा । सङ्ग्रहमा सङ्कलित कविता छोटो अवधिमा लेखिएका होइनन् भन्ने कुरा विषयको फराकिलो आयतनबाट पाठकले बुझ्न सक्छन् । तर, समग्रतामा अधिकांश कवितामा दुई कुरा भने अंशमा नै सही समान छन्– व्यङ्ग्य र असन्तोष वा आक्रोश ।
कुनै पनि विषयको गहिराइ नसमाती व्यङ्ग्य गर्न सकिन्न । यदि गरिन्छ भने त्यो सस्तो हाँसोको विषय मात्र बन्न सक्छ । कवि श्रेष्ठ आफ्नो कवितामा विषयको गहिराइ नापेर मिठो व्यङ्ग्य गर्छन्, उनको व्यङ्ग्यभित्र आक्रोश मिसिएको हाँसो निहीत रहन्छ । सङ्ग्रहको पहिलो कविता यसको उपयुक्त उदाहरण हुनसक्छ–
‘मानिसलाई भगवान् बनाउनु छ भने
सबैभन्दा पहिला उसको सालिक बनाउनुपर्छ
तर,
सत्तापलट हुँदा
पहिलो खतरा सालिकलाई नै हुन्छ
किनकि,
हरेक सत्ताको आफ्नै भगवान् हुन्छ ।’
(सालिक)
अर्को दृष्तान्त
‘सोध्नु त छ अझै केही कुरा
जस्तो कि
अरिङ्गाल मात्रै भुनभुनाउने
त्यो दरबार कसको हो ?
‘हाम्रो सरकार–हाम्रो सरकार’ भन्दै
दरबारमा जुन नारा लाग्छ घण्टैपिच्छे
त्यो सरकार कसको हो ?’
(सोध्नु छ)
कवि श्रेष्ठ कोठामा न्यानो सिरकभित्र गुटमुटिएर हिमालको कविता लेख्ने कवि होइनन् । आफूले भोगेको, आफूलाई पोलेको, आफूलाई सताएको विषयलाई नै उनले आफ्नो कविताको विषय बनाएका छन् । कतिबेला उहाँ काठमाडौँमा चल्ने नेपाल यातायात चढ्छन् बसभित्रको दृश्य नियाल्छन् र लेख्छन्–
‘बस्न देऊ उसलाई,
बसमा छ जिन्दगीदेखि थाकेको मानिस
अलिकति टेक्ने भुईं निकाल,
चढेको छ देशमा टेक्ने माटो नभएको नागरिक
समाउने ठाउँ देखाइदेऊ,
बसमा छ भरोसा भाँच्चिएको अपाङ्ग
खोल झ्याल, पस्न देऊ अलिकति हावा,
बसमा छ सङ्घर्षको गर्मीले सेकिएको नौजवान ।’
(नेपाल यातायात)
सङ्ग्रहमा त्यस्तै सार्वजनिक अनुभवमा आधारित जीवन्त कविता हो– छिमेकी । यो कविता पढ्दा हरेक पाठकको आँखाअघि आफ्नो दैनिकीको दृश्याङ्कन र ओठमा मिठो मुस्कान भरिदिनेछ । यो वास्तवमै जीवन्त कविताको उदाहरण हो । जीवनका कुनाकाप्चामा कति सुन्दर कविता लुकेका हुन्छन् भन्ने अनुभूति पाठकलाई यसले गराउनेछ ।
‘हरेक बिहान
खाना खानुअघि
बरन्डामा हात धोइरहँदा
पुरुषोत्तम दाई
खाना सोध्छन् र खान बोलाउँछन्
सधैं ‘हुन्छ’ भन्छु
तर म जान्नँ
उनी कर पनि गर्दैनन् ।
हरेक साँझ
खाइसकेर आँगन अघिल्तिर चुठ्दै गर्दा
म पुरुषोत्तम दाईलाई
खाना सोध्छु र खान बोलाउँछु
सधैं ‘हुन्छ’ भन्छन्
तर, उनी आउँदैनन्
म बल पनि गर्दिनँ ।
सायद यसैले
पुरुषोत्तम दाई मेरा छिमेकी हुन्
म उनको छिमेकी हुँ ।’
(छिमेकी)
कवितामा कवि विद्रोह बोल्छन् । हरेक कवितामा कहीं न कहीं उहाँले यथास्थितिप्रति असन्तोष र आक्रोश पोख्छन् । तर, त्यो आक्रोशलाई व्यङ्ग्यको चास्नीमा डुबाएर गुलियो बनाएका छन् । आलोचनात्मक चेतको खँदिलो चेतनाले कवि प्रश्नको खात लगाउँछन् । त्यो प्रश्न सत्तालाई पनि, सत्ताबाहिरका लागि पनि । सत्तालाई पनि आफ्नो धारिलो तीरले घाइते बनाउन बाँकी राख्दैनन् कवि ।
‘थोत्रा मोजाहरू बटुलेर
उनीहरूले बनाएका छन्
भकुण्डो
र खेलिरहेका छन्
खबटाको चाङ लगाएर गरिबले बनाएका घर
ढलाएर भाग्ने अजीवको खेल ।’
(सत्ता)
कविले प्रतीक र उपमा भरपुर प्रयोग गरेका छन् । तर, ती प्रतीक र उपमा आफ्नै परिवेश वरपरबाट बटुलेका छन् । तिनमा धार लगाएर कवितालाई धारिलो बनाएका छन् । समाजबाटै बटुलेका प्रतीक र उपमा भने सधैं सरल र सूरुचीकर हुने गर्छ । त्यसैले कवि श्रेष्ठका कविताको विशेषता सरलता हो । उनले टेलिभिजनमा वाचन गर्ने समाचारजस्तै सरल छन् कविता पनि ।
कवि रूपेश श्रेष्ठको ‘घिन्ताङघिसी ट्वाक’ ले कविता सङ्ग्रहको बुक ¥याकबाट मुख फर्काउने पाठकलाई कविता सङ्कलनभित्र पस्ने जाँगर भरिदिन सक्छ । सही तरिकाबाट राम्रा कविताको प्रचार गर्दा कविताका पाठक घटेको छैन भन्ने पुष्ट्याइँको लागि यो कविता सङ्ग्रह उपयुक्त हुनसक्छ ।
पहिलो कवितासङ्ग्रहले श्रेष्ठका कविताहरूका अरु शृङ्खला पनि आगामी दिनमा पढ्न पाउने आशा मनमा बिजारोपण गरिदिनु स्वाभाविक हो ।
पुस्तकको नामः घिन्ताङघिसी ट्वाक
लेखकः रूपेश श्रेष्ठ
पृष्ठः९५
Leave a Reply