भर्खरै :

जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण

भक्तपुर, २ वैशाख । बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज दिउँसो सम्पन्न भएको छ ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जात्रामा आज थिमी बोडे–८ का ४५ वर्षीयका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेडेर महाद्वीप बोकेर टोल टोल घुम्दै जात्रा सम्पन्न गरेका हुन् ।
कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा गर्न दिउँसो २ बजे बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजाराँै मानिसकै अगाडि बाग श्रेष्ठको जिब्रो छेडिएको थियो ।
जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात् महाद्वीप बोकेर टोलटोल घुमेका वागश्रेष्ठले पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकिएको थियो ।
जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुपर्ने श्रेष्ठले बताउनुभयो ।
विगत आठ वर्षसम्म बोडेकै जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छेडाएका थिए भने यसवर्ष पारिवारिक समस्याका कारण उहाँले जिब्रो नछेड्ने भएपछि वाग श्रेष्ठले आठ वर्षअघि आफूले दिएको निरन्तरतालाई यसवर्ष कायम राख्नुभएको हो ।
परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले जिब्रो छेडेको बताउँदै उहाँले यसअघि २०६२ देखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेड्नुभएको थियो ।
उहाँले भन्नुभयो – “विभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेको थियो, मैले त्यही वर्ष जिब्रो छँेडे, मेरो रोग निको भयो, त्यसपछि रोजगारीका लागि कोरिया गएँ, उताबाट फर्किएपछि निरन्तर कोरिया नेपाल मैत्री अस्पताल ठिमीको अस्पतालमा एम्बुलेन्स चलाइरहेको छु, परिवार पनि धेरै राम्रो भएर आयो, अहिले भगवान्प्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरि आठ वर्षपछि जिब्रो छेड्ने निर्णय गरेको हुँ ।”
त्यसअघि अर्थात् २०६२ साल अगाडि उहाँकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर यो परम्परा जोगाउनुभएको थियो । उहाँ अहिले जिब्रो छेडाउने कार्य गर्दै आउनुभएको छ ।
परम्परा जोगाउनका लागि मध्यपुर थिमी नगरपालिकाले गतवर्ष रु ४४ हजार सहयोग गरेको बताउँदै यसवर्ष पनि जिब्रो छेड्ने जात्राका लागि रकम बढाएर सहयोग गर्ने नगरपालिकाका कानुन अधिकृत केशव सिलवालले बताउनुभयो ।
बोडेको नीलबाराहीसँग यो जात्रा जोडिएकाले पनि यो जात्रालाई निरन्तरता दिन सके बोडेका बासिन्दाका लागि शुभ हुने विश्वास रहँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *