भर्खरै :

मासुको स्वच्छता र जनस्वास्थ्यसँग सम्बन्धित विषय भएकोले यसलाई अन्यथा लिन नहुने

मासुको स्वच्छता र जनस्वास्थ्यसँग सम्बन्धित विषय भएकोले यसलाई अन्यथा लिन नहुने

भक्तपुर, ११ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा मासु तथा पशु वधशाला व्यवसायीहरूसँग छलफल कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले कानुन निर्माण गरिसकेपछि त्यसलाई सहजताका साथ कार्यान्वयन गर्ने दिशामा सबै लाग्नुपर्ने बताउनुभयो । शुद्ध मासुको बिक्री–वितरणका लागि कानुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले कानुन जनताको निम्ति हो, जनता कानुनको निम्ति होइन भन्नुभयो ।
व्यवसायीहरूको व्यवसाय राम्रो होस् र उनीहरूलाई कानुन कार्यान्वयनमा सहजता होस् भन्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको उहाँले स्पष्ट पार्दै कानुनले परम्परादेखि चल्दै आएका चाडपर्व तथा संस्कृतिलाई खुकुलो बनाएको उल्लेख गर्नुभयो ।
मासुमा छाप लगाउने विषय उठ्नेबित्तिकै व्यवसायीहरू त्रसित हुने गरेको बताउँदै उहाँले मासुको स्वच्छता र जनस्वास्थ्यसँग सम्बन्धित विषय भएकोले यसलाई अन्यथा लिन नहुने बताउनुभयो ।
कानुन कार्यान्वयन गर्दा व्यवसायीलाई असहज हुनेभन्दा पनि सहज हुने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उहाँले सबैले सहकार्य गरेर कानुन कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले अस्वस्थ मासुका कारण रोग फैलिन सक्ने अवस्थालाई ध्यानमा राखेर यस्तो कानुन ल्याइएको बताउँदै नागरिक स्वस्थ रहनका लागि मासु व्यवसायमा पनि सरसफाइ र स्वच्छता कायम हुनु आवश्यक रहेको बताउनुभयो ।
मासुको स्वच्छता र गुणस्तर कायम राख्नु व्यवसायीको मात्र नभई आम नागरिकको स्वास्थ्यसँग समेत जोडिएको विषय भएकोले सबैले यसतर्फ ध्यान दिनुपर्ने बताउँदै उहाँले भक्तपुर सफा हुन भनेको यहाँका सबै क्षेत्र स्वच्छ र सफा हुनु आवश्यक रहेको बताउनुभयो ।
भक्तपुरलाई सफा सहरको नमुना बनाउन सबै क्षेत्रको सरसफाइमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले मासु व्यवसायलगायत सबै व्यवसायमा स्वच्छता र सरसफाइ कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशीले मासु तथा पशु वधशाला व्यवस्थापन जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।
नगरवासीलाई स्वस्थ र स्वच्छ मासु उपलब्ध गराउने तथा जनस्वास्थ्य सुरक्षित राख्ने उद्देश्यले सम्बन्धित ऐन ल्याइएको उहाँले बताउनुभयो ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रले सम्बन्धित ऐन मङ्सिर १ गतेदेखि लागू भइसकेको जानकारी दिँदै ऐनमा भएका व्यवस्थाहरूको सहज कार्यान्वयनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । मासु व्यवसायलाई विश्वसनीय, व्यवस्थित र गुणस्तरीय बनाउन ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा कृषि समितिका संयोजक राजकृष्ण गोराले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै ऐन लागू भइसकेको अवस्थामा व्यवसायीहरू थप सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. राकेश प्रजापतिले पशु वधशालाको मापदण्ड, मासु पसल तथा वधशाला स्थापना गर्न आवश्यक इजाजतपत्र, ऐन कार्यान्वयनको प्रभाव, पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ का प्रमुख व्यवस्थाहरू, ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका तथा मासु निरीक्षकको भूमिकाबारे प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा सहभागी मासु व्यवसायी तथा पशु वधशाला व्यवसायीहरूले ऐन कार्यान्वयन र व्यवसाय सञ्चालनका क्रममा देखिएका विभिन्न जिज्ञासा तथा प्रश्नहरू राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *