भर्खरै :

सुदूरपश्चिम विश्वविद्यालयको तालाबन्दीबारे नेक्राविसङ्घको टोली र उपकुलपतिबीच भेट

कञ्चनपुर, ४ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको प्रतिनिधिमण्डलले आइतबार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. पूर्णबहादुर चन्द र विश्वविद्यालयका परीक्षा नियन्त्रक देवसिङ नाथसँग भेटघाट गरेको छ ।
विश्वविद्यालयमा उत्पन्न भएको समस्याप्रति नेक्राविसङ्घ केन्द्रीय समितिको ध्यानाकर्षण भएको जनाउँदै नेक्राविसङ्घका केन्द्रीय सदस्य ईश्वर शाहीले विश्वविद्यालयमा सात महिनादेखिको तालाबन्दी विद्यार्थीको भविष्यमाथि खेलबाड भएको बताउनुभयो । सुदूरपश्चिम विश्वविद्यालय गरिब जनताका छोराछोरीले अध्ययन गर्ने थलो हो भएको उल्लेख गर्दै उहाँले सम्बन्धित पक्षले विश्वविद्यालयलाई राजनीतिक अखडाको रूपमा प्रयोग नगर्न खबरदारी गर्नुभयो ।
नेक्राविसङ्घका पूर्वकेन्द्रीय सह–सचिव लक्ष्मी पोखरेलले नेक्राविसङ्घले सुरुदेखि नै विश्वविद्यालयमा हुने दलीय भागबन्डाको विरोध गर्दै आएको उल्लेख गर्र्दै विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा राजनीतिक भागबन्डा नभई योग्यता र दक्षताको आधारमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गर्नुपर्ने धारणा राख्नुभयो ।
छलफलको क्रममा सुदूरपश्चिम विश्वविद्यालय प्रा. डा. पूर्णबहादुर चन्दले नेक्राविसङ्घको प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेविसङ्घले तालाबन्दी गरेको समयदेखि नै आफूले ताला खुलाउन पहल गरिरहेको र तालाबन्दी गर्ने पक्षसँग ताला खुलाई बन्दको विकल्प खोज्न अनुरोध गरे पनि सम्बन्धित पक्षले यो पार्टीको निर्देशन भएकोले यो विषयमा केही गर्न नसक्ने बताउँदै आएको जानकारी गराउनुभयो । “तालाबन्दी लामो समयसम्म यथावत छ”, उहाँले भन्नुभयो ।
उहाँले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएपछि केही समय कर्मचारीले कार्यालयको कामकाज रजिष्ट्रारको निवासबाट सञ्चालन गरेको बताउँदै भन्नुभयो, “रजिष्ट्रारको कार्यालयमा पनि पछि नेविसङ्घले ताला लगायो । अहिले कामकाज प्रभावित छ ।”
सुदूरपश्चिम विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राध्यापक भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टको कार्यसञ्चालनप्रति प्रश्न उठेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०७६ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेपछि नेविसङ्घले तालाबन्दी गरेको उहाँले बताउनुभयो ।
उपकुलपति श्रेष्ठको कार्यकाल गत भदौ ७ गते सकिएको छ भने तत्कालीन रजिष्ट्रार भट्टको कार्यकाल आगामी माघसम्म छ । चैत २७ मा विश्वविद्यालयका विज्ञान तथा प्रविधि सड्कायका डिन प्रा. डा. पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डिन डा. गोविन्द विष्टलाई रजिष्ट्रारको जिम्मा दिइएको छ । श्रेष्ठ र भट्टले आर्थिक अनियमितता गरेको विषय आएपछि सरकारले तीनवटा छानबिन समिति बनाएर छानबिन गरेको थियो । सोही छानबिन टोलीको प्रतिवेदनको आधारमा विश्वविद्यालयका कुलपतिले नयाँलाई जिम्मेवारी दिएको उपकुलपति चन्दले बताउनुभयो
समाचारमा प्रकाशित भएजस्तो प्रयास नै नगरेको भन्ने कुरा निराधार रहेको भन्दै उहाँ भन्नुहुन्छ, “केन्द्रीय कार्यालयमा २०७५ जेठ २७ गते तथा रजिष्ट्रार निवासमा २०७६ साउन ८ गतेदेखि तालाबन्दी भएको सन्दर्भमा सम्बद्ध पक्ष नेविसङ्घलगायत विभिन्न दलका नेता तथा जनप्रतिनिधिसँग पटक–पटक छलफल गर्दा निकास ननिस्किएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा अनुरोध ग¥यो । २०७६ साउन १३ गते कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकद्वारा निवासजस्तो ठाउँमा गरिएको तालाबन्दी खोल्ने निर्णय गरिए पनि आजका मितिसम्म तालाबन्दी रहनु लज्जाबोध छ ।”
उहाँले भन्नुभयो, “सम्बन्धित पक्षलाई पुनः औपचारिकरूपमा वार्ताका लागि आह्वान गर्दासमेत समय उपलब्ध गराइएको छैन ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक देवसिंङ नाथले केन्द्रीय कार्यालय र रजिष्ट्रार कार्यालयमा तालाबन्दी भए पनि कक्षा सञ्चालनमा कुनै अवरोध नरहेको दाबी गर्नुभयो । परीक्षा नियन्त्रण कार्यालयबाट हुने सानातिना प्राविधिक त्रुटिबाहेक अन्य काम कारबाहीमा रहेका कमजोरी सच्याउँदै परीक्षा नियन्त्रण कार्यालयले काम अघि बढाइरहेको उहाँले बताउनुभयो ।
परीक्षा नियन्त्रक नाथले प्रजातन्त्रवादी प्राध्यापक सङ्घका साथीहरू आफू निकट मान्छे राख्न खोजेको र नेविसङ्घको भित्री उद्देश्य भनेकै दुई चार जना विद्यार्थी नेतालाई जागिरको बार्गेनिङ्गको निम्ति तालाबन्दीको निहुँ बनाएको बताउनुभयो ।
यसै सन्दर्भमा उपकुलपति चन्दले भन्नुभयो, “तालाबन्दीमा नेविसङ्घले पार्टीकै निर्देशनमा भएको बताउँदै आएको छ । काङ्गे्रस नेता रमेश लेखकसँग छलफल गर्दा उहाँले देउवाजीसँग कुरा राख्छु भन्नुभएको छ । बल प्रयोग गरी ताला खुलाउँदा मुठभेडको स्थिति आउने सम्भावना देखिएकोले सर्वपक्षीय सहमतिको प्रयास भइरहेको छ ।”
नेक्राविसङ्घको प्रतिनिधिमण्डलमा नेक्राविसङ्घ कैलाली सचिव हिक्मत भण्डारी, नविन शाही, अञ्जु सिङ र काठमाडौँ–कैलाली सम्पर्क समितिका सचिव विवेक रावलको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *