भर्खरै :

सेती प्रादेशिक अस्पतालमा सुधार आएन

– सामना
धनगढी, ५ कार्तिक । सुदूरपश्चिमको एकमात्र रेफरल अस्पतालको रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा सुधार आउन सकेको छैन ।
प्रदेश सरकारले अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल त बनायो तर अस्पतालको सेवामा भने सुधार हुनसकेन । नाममात्रै परिवर्तन भएको छ । यहाँका सर्वसाधारण जनताले नाम फेरिएसँगै उपचार र अस्पतालले दिने सेवा सुविधामा परिवर्तन आउने झिना आशा गरेका थिए । तर, सर्वसाधारण जनताले सेवामा सुधार भएको, उपचार सेवा र जनशक्ति थपिएर स्तरीय उपचार पाएको महसुस गर्न पाएका छैनन् ।
यहाँ भएका चिकित्सक समायोजनमा जान थालेपछि अस्पतालमा जनशक्तिविहीन हुने अवस्था सिर्जना हुने देखिन्छ । भएका जनशक्ति समायोजनमा जानथाले पनि नयाँ कर्मचारीको व्यवस्थापन गर्न प्रदेश सरकारले प्रभावकारी भूमिकामै खेलेको पाइँदैन ।
नयाँ चिकित्सकीय जनशक्ति थप्ने, बिग्रेका उपकरण मर्मत गर्ने अथवा नयाँ उपकरण थप्ने, भएको सेवालाई व्यवस्थापन गरेर सेवा विस्तार गरी अस्पतालमा प्रभावकारी सेवा दिनेतर्फ प्रदेश सरकारको ध्यान दिन सकेको छैन । व्यवस्थापकीय पाटो बलियो बनाउन नसक्दा भएकै जनशक्तिले पनि सेवा प्रभावकारीरूपमा दिन नसकेको जनगुनासो आउन थालेको छ ।
अस्पतालको चारैतिर फोहोर देखिन्छ । शवगृह झनै दुर्गन्धित बनेको छ । शवगृह नजिक नाक छोपेर आवतजावत गर्नुपर्दछ । इमर्जेन्सी वार्ड पनि निकै दुर्गन्धित रहेको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्दै आए पनि आवश्यक औषधि नै पाइँदैन । आइसीयू, सिकलसेल एनिमियालगायतका मेसिनसमेत प्रयोगविहीन बनेका छन् । आवश्यक जनशक्ति अभावको कारण उपकरणहरू प्रयोगविहीन भएको छ ।
बैतडीबाट बुबाको उपचार गर्न आउनुभएकी सीता भट्ट आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, बुबा बिरामी परेको २ महिनादेखि हो । गरिबीको कारण उपचार गर्न गा¥हो परेको छ । यहाँ सरकारी अस्पतालमा भर्ना गरेको चार दिन भयो । यो चार दिन बस्दा बुबाको उपचारमा खर्च त अनुमान गरेभन्दा कम नै लाग्यो, यसमा म खुसी छु । तर, अस्पतालभित्रका दृश्यहरू बताउनुपर्दा मेरो टाउको नै भनभनाउन थाल्छ ।
उहाँ भन्नुहुन्छ, टाढा टाढाबाट राति आधाराति बिरामीलाई बचाउन भनेर यहाँ बिरामी ल्याइन्छ । तर, डाक्टरहरू नै अस्पतालमा हुँदैनन् । भएका डाक्टरले बिरामीको वास्तासमेत गदैनन् । यहाँ एक कर्मचारीले अर्को कर्मचारीको आज्ञा पालना गरेको देखिँदैन । एक कर्मचारीले अर्को कर्मचारीको मर्यादा राखेको देखिँदैन । कर्मचारीहरू बिरामीको हेरचाह र सेवामा भन्दा पनि समूहमा गफिरहेका हुन्छन् । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कर्मचारीहरूमै एक आपसमा हाँसोठट्टा गरिरहेका हुन्छन् । बिरामी भने डाक्टर आउने बाटो हेरेर बेडमा छटपटाइरहेका हुन्छन् । यहाँ स्रोत र साधन छ, जनशक्ति छ तर फितलो प्रशासनकै कारण सेती प्रादेशिक अस्पतालमा पटक–पटक तनाव उत्पन्न भएको समाचार सुन्न पाइन्छ ।
चौमालाबाट फुपूको उपचार गराउन आउनुभएका रामचरण रानाको अनुभव पनि त्यस्तै छ । उहाँ भन्नुहुन्छ, “अस्पतालमा उपचार गराउँदा पनि आफ्नो नातागोता चाहिने भयो । कि त नाम कहलियकै मान्छे हुनुप¥यो नत्र यहाँका डाक्टरहरूले अनुहार हेरेर अस्पतालको सेवा दिने गर्छन् । भन्न, बोल्नसक्ने बिरामी र कुरुवा भए छिटो उपचार अथवा राम्रो रेखदेख हुन्छ । बोल्न नसक्ने र सोझो बिरामीको त कुनै पवहि नै छैन यहाँ ।
सबै क्षेत्रमा लथालिङ्ग छ । अति संवेदनशील क्षेत्र प्रसूतिगृहमा पनि त्यस्तै फोहोर छ । अस्पताल सफा गर्ने सफाइ मजदुरले समेत अस्पताल सफा नगरी सफा गरेजस्तो मात्र गर्छन्, त्यो पनि दिनको २ पटकमात्र ।
यहाँको सेती प्रादेशिक अस्पतालप्रति आम जनताको विश्वास छ, सम्बन्धित निकायले यसतर्फ बेलैमा गम्भीर भएर सोच्न आवश्यक छ । नत्रभने नाममात्रको परिवर्तनले सर्वसाधारण जनताको अस्पतालप्रति गरेको विश्वास गुम्दै जाने छ । अस्पतालसँग सम्बन्धित सरोकारवाला पक्षले व्यवस्थापकीय पाटोलाई सुधार गर्दै जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *