भर्खरै :

पद र पैसाको लागि होइन, जनताको सेवा गर्न राजनीति

भक्तपुर, ६ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनताको सेवा गर्ने उद्देश्यका साथ राजनीतिमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल कर्मचारी समाज, ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा बुधबार भएको कार्यक्रममा उहाँले पैसा कमाउन र पद प्राप्तिको लागि राजनीतिमा लाग्न नहुने धारणा राख्नुभयो ।
उहाँले कर्मचारीहरूले कानुनबारे जानकारी राख्नुपर्ने र व्यवहारले अरूको मन जित्न सिक्नुपर्नेमा जोड दिनुभयो ।
हालै सम्पन्न नेमकिपाको सातौँ महाधिवेशनबाट पारित कार्यक्रमबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रवादी हुने भएकोले संसारमा हुने न्यायपूर्ण र साम्राज्यवादविरोधी आन्दोलनको नेमकिपाले समर्थन गर्ने बताउनुभयो ।
उहाँले अग्रजहरूको योगदानलाई कदर गर्दै भावी पुस्तालाई समाजमा परिवर्तनको लागि तयारी गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा प्रजातान्त्रिक केन्द्रीयतामा चल्ने पार्टी भएको बताउँदै उहाँले पार्टीमा छलफल र बहस गर्ने प्रजातन्त्र भएको र केन्द्रियता पनि भएको बताउनुभयो ।
“आँखा चिम्ली ठीक बेठीक भन्नु गलत हुन्छ, व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितको लागि कार्यकर्ताहरू लाग्नुपर्छ, समाजवादी देशमा कर्मचारीहरू पनि पार्टीका कार्यकर्ताझैँ हुन्छन् ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् भनपाका उपप्रमुख रजनी जोशीले अनुसन्धानमूलक कार्यमा शैक्षिक संस्था लाग्नुपर्ने र भनपाले गर्दै आएको शिक्षा, स्वास्थ्य, सम्पदाको संरक्षणबारेमा बताउनुभयो । उहाँले भक्तपुर नपाले नगरवासी र समग्र देशको हितको लागि गरिरहेका विभिन्न गतिविधिबारे प्रकाश पार्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले शिक्षक –कर्मचारीहरूको मेहनत र अग्रजहरूको योगदानले आज भनपाद्वारा सञ्चालित शैक्षिक संस्थानहरूले विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको छ भन्नुभयो ।
कार्यक्रममा ख्वप इ. कलेजका उपप्राचार्य इ. रवीन्द्र फोजू र प्रशासन शाखा प्रमुख सिद्धिराम सुवाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *