भर्खरै :

बासुमा फ्रान्सेली विद्यार्थीको देउसी भैलो

भक्तपुर, ७ कार्तिक । भक्तपुरको बासु माध्यमिक विद्यालयमा बिहीबार फ्रान्सेली विद्यार्थीले देउसी–भैली खेले । फ्रान्सेली विद्यार्थीले भक्तपुरकै परम्परागत कसिपाँय्चा खेल सिके भने भक्तपुरका विद्यार्थीले फ्रान्सेली खेल पेङताङ सिके ।
भक्तपुरको बासु मावि र फ्रान्सेली विद्यालय लाइसी सेन्ट आन्द्रेका विद्यार्थीबीच सांस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत विद्यार्थीले आ–आफ्नो अनुभव साटासाट गरेका हुन् ।
कार्तिक ५ गते विद्यार्थीबीच परिचयात्मक कार्यक्रमको साथै नेपाली र फ्रान्सेली भाषा सिक्ने सिकाउने काम भएको विद्यालयका प्रधानअध्यापक अम्बिका न्याइच्याईले बताउनुभयो । कार्यक्रममा कार्तिक ६ गते नेपाली विद्यार्थीहरूले नेपालको इतिहास, संस्कृति, चाडपर्व, शिक्षण प्रणाली, पर्यटनसम्बन्धी प्रस्तुतीकरण गरेको प्रधानाध्यापक न्याइच्याईले बताउनुभयो । भक्तपुर दरबार स्क्वायरमा भक्तपुरको परम्परागत खेल कसीपायँचा र फ्रान्सेली खेल पेन्टाङ खेल प्रदर्शनीसमेत गरे ।
बिहीबार बासुका विद्यार्थीले धिमाय् बाजा बजाउनुको साथै नृत्य, गीत प्रस्तुत गरे भने फ्रान्सेली गीतमा नाच प्रदर्शन भयो ।
फ्रान्सेली शिक्षक एवम् विद्यार्थीहरूलाई बिदाइ दिने क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले दुई देशबीचका विद्यार्थीबीच सांस्कृतिक एवम् शैक्षिक आदानप्रदानले दुई देशका जनताबीचको सम्बन्ध अझ फराकिलो पार्ने धारणा राख्नुभयो ।
फ्रान्सेली विद्यालयका शिक्षिका टोइ मारियोनको नेतृत्वमा नर्स शिक्षक, अनुशासन इन्चार्जका साथ २० जना विद्यार्थी भक्तपुर आएका हुन् । विद्यालयका कम्प्युटर शिक्षक सत्यराम सुवालको समन्वयमा नेपाल आएको विद्यार्थी टोलीको सहजीकरणमा बासुका २० जना विद्यार्थी प्रत्यक्ष सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *