भर्खरै :

त्यतिबेलाको भक्तपुर

उदय
स्मृतिको पर्दा उघारेर अतीतलाई चियायो भने ४० वर्षअघिको भक्तपुर नगरलाई अहिलेको नगरको स्वरूपले आश्चर्य पार्छ । तीन वर्षअघिको भूकम्पले क्षतविक्षत पारेको नगर भर्खर तङ्ग्रिदै छ जस्तो देखिन्छ । तैपनि ४० वर्षभित्रका नगरका विभिन्न गतिविधि र त्यसले पारेका सकारात्मक असरले विगत, वर्तमान र भावी पुस्तालाई राम्रो सन्देश दिन्छ ।
पहिलो पटक काठमाडौँ उपत्यका आउँदा देखेको भक्तपुर आश्चर्य लाग्छ, गरे के नहुने रहेछ र ! २०३६ मा जनमतसङ्ग्रह घोषणा भयो । पार्टीका गतिविधिहरू कसरी सञ्चालन गर्ने र चुनाव (नीलो–पहेँलो) कसरी प्रयोग गर्ने भन्नेबारे दूरदराजका हामीलाई अलमल भयो । आकाशवाणीबाहेक सञ्चारका साधनहरू केही नभएका र चिठीबाहेक अरु केही साधन नभएकोले प्रवास पार्टी कार्यालयमा सशरीर सम्पर्क गर्नुबाहेक अर्को उपाय थिएन । भेरी कर्णालीको जिम्मा लिएर दैलेखबाट हिँडँे भारतको दरभङ्गामा जहाँ का. रोहित बस्नुहुन्थ्यो । त्यस अगाडि दुईपटक गइसकेको थिएँ त्यहाँ । ०३६ को चैतको अन्ततिर चार दिन पैदल हिँडेर नेपालगञ्ज पुगेँ । भारतको रूपैडियाबाट अघिल्लो दिनको ५ बजे बेलुकी रेलमा चढेर भोलिपल्ट दिनको २ बजेतिर मुजफ्फरपुर पुर्गँे । त्यहाँबाट एकघण्टा बसमा बसेर दरभङ्गा पुगेँ ।
बस अड्डाबाट पैदलै भटियारी सरायको मिश्र टोलमा डोमुरायको घरमा प्रवास कार्यालयमा पुगेँ । त्यसअघि दुई पटक पुगिसकेकोले अप्ठेरो लागेन । त्यहाँ पुग्दा आदरणीय रोहित दाइ जहिल्यै मुस्कानमा पाइने । स्वास्थ्यको हेरचाह, अध्ययनको स्तर, सरसफाइ आदिबारे उहाँ ध्यान दिनुहुन्थ्यो, निर्देशन र सल्लाह सुझाव हामी पाउँथ्यौँ ।
त्यहाँ पुग्नेबित्तिकै कार्यालयमा जनकवि चन्द्रबहादुर उलकलाई देखेँ । जनकवि दाइले नुहाउनुस् शाहीजी कुराकानी पछि गरौँला भन्नुभयो । साँझ खाना खाइसकेपछि दाइहरू आममाफीमा परेर स्वदेश फर्केको र भक्तपुरमै जान भन्नुभयो । एकातिर हर्ष लाग्यो । कहिल्यै काठमाडौँ नगएकोले आफू र आफ्ना पुर्खाले नेपाल भन्ने काठमाडौँ कसरी पुग्ने विस्मात् भयो । जे पर्छ पर्छ जाने आँट गरँे ।
भोलिपल्ट कवि दाइले बाटोको नक्सा बनाइदिनुभयो । त्यसैको सहाराले हिँडेँ । रक्सौल आएँ । रक्सौलको सीमा पार गरेर वीरगञ्ज आएँ । बस नियमित नहुने रहेछ । मान्छे पुगेसाथै हिँड्ने । ट्रक चालकसँग कुरा गरँे । ट्रक चालकले रु. २५ भाडा भने त्रिभुवन राजपथको बाटो हुँदै काठमाडौँ पुगेँ । पर्सिपल्ट नक्साकै आधारमा पुरानो बसपार्कबाट ५० पैसामा भक्तपुर मिनीबस पार्क झरँे । अब मैले पुग्नु छ, नक्साअनुसार भक्तपुर । पुस्तक सदन टिबुक्छेँ पुगँे । सोधेँ ह्योजुको घर । चोकमा भएका सबैले मुखामुख गरे । मेरो टिबुक्छेँ भनेको उच्चारणले एकछिनको अलमलपछि ह्योजुले कोठामा लगे । सानो ढोका भएको साँघुरो कोठामा छोडेर हिँडेको ३ घण्टासम्म बेपत्ता । दाइलाई मेरो हुलिया सेना–पुलिस जस्तो भन्ने भएर होला अलमल परेछ । म दरभङ्गा पार्टी सम्पर्कमा आउँदा जाँदा सैनिक बाल कटाउने र भादगाउँले टोपी लगाएर हिँड्ने, भन्सार र चौकीहरू कराउने गर्थे । यसपटक पनि त्यस्तै गरेकाले ३ घण्टा आफ्नै बन्दी भएछु, पछि थाहा भयो । दाइले खापाको प्वालबाट हेरेपछि मलाई चिनेर आफ्नै भाषामा के के भन्नुभयो । मैले बुझिनँ । नबुझेकै राम्रो लाग्यो । दुईतीन दिनपछि मेरो बसाइ स¥यो जीवन दाइको घरमा । बसाइ सर्दै मलाई अत्यास लाग्यो । इनाचो, जेँलाका गल्ली तल हेर्न नमिल्ने दिसामा हिँड्नुपर्ने । गल्लीपिच्छे पिसाबले सिञ्चित भएका, रागले सास फेर्न गा¥हो हुने । मान्छेको गोबरमा चिप्लिएर लडिएला भन्ने डर ।
जीवन दाइको घरमा पुगेपछि आफ्नै घर पुगेको अनुभव त भएथ्यो । छोरा–छोरी सानै, भाउजू नेपाली बोल्न नजान्ने । बोली हाले भात पाक्नुभयो खाने आ भन्नुहुने । जेसुकै होस् मेरो काम अध्ययन गर्ने हो गरेँ । जीवन दाइको घर चीन र भियतनामको सानो पुस्तकालयजस्तो लाग्ने । केही दिनपछि मेरो डेरा राम प्रजापतिकहाँ भयो समस्या उही । समाज सुधार स्कूल भर्खर स्थापना भएको थियो क्यारे । पहाडका बाख्रा गोठालाका जस्ता कपडा लगाएका मास्टर, सिँगाने १०÷१२ जना विद्यार्थीहरूको कक्षा प्रत्येक दिन चल्थ्यो । जीवन दाइ पनि कहिलेकाहीँ त्यहीँ स्कूलमा देख्थेँ ।
डेरा फेरि कुसी सरको घरमा स¥यो । च्याह्मासिंहमा ४–५ वटा घरमात्र थिए त्यतिखेर । बाहिर आउन नमिल्ने, दिनभरि एक्लै बस्नुपर्ने । खाजा खान प्रायः साथीहरूसँगै खेतमा जान्थेँ । दिसा गर्न बिहान ब्रह्मायणी घाटको खोला किनारमा जानुपर्ने कुसीजीसँगै । लाजै नमानिकन लहरै दिसा बसेका सहरियाहरू देख्दा अचम्म लाग्थ्यो । कहीँ मिटिङ भए सडकमा हिँड्यो कुकुरको डर । गल्लीमा हिँड्यो कि मलाई देखेर घरेलु कुकुरले घेरा हाल्ने । संस्कार र संस्कृति कुकुरले पनि चिन्ने म ‘पर्ते’ हो भनेर । तर, ती कुकुरको जमात सरकारी पार्टीका मान्छेजस्ता तर्साउने तर टोक्ने काम नगर्ने । पछि बुझेँ यी कुकुरले टोक्दैन भनेर ।
पछि सहर बुझ्न मनलाग्यो । किसानहरू बस्ने गल्ली जहाँ गयो त्यहाँ फोहोर दिसा पिसाबमय । व्यासी, याता, महाकाली, हनुमानघाट, ब्रह्मायणी, महेश्वरी, राम मन्दिरतिर गयो भने रासका रास सुङ्गुरको फोहोरले हिँडी नसक्नु । यस्तो थियो मेरो पहिलो आगमन २०३६ को अन्ततिरको अवस्था ।
त्यसपछि निरन्तर भक्तपुर मेरो दोस्रो घर भयो । नेमकिपाका स्थानीय गतिविधिहरूसँगै आजको यो सफा र स्वच्छ भक्तपुर देख्दैछु । देशको जुनसुकै कुनामा गए पनि आज नेमकिपाले भक्तपुरमा गरेका गतिविधिहरूको प्रशंसा सुन्दा गर्व लाग्छ । पार्टीको लक्ष्य र उद्देश्य ठीक भयो भने हिजोको फोहोर भक्तपुर आजको जस्तो सफा र सुन्दर हुँदोरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *