भर्खरै :

आर्थिक हमला सैनिक हमलाजत्तिकै घातक

अजरबैजान, ९ कार्तिक । अजरबैजानको राजधानी बाकुमा शुक्रबारबाट आरम्भ भएको असंलग्न आन्दोलनको शिखर सम्मेलनमा आन्दोलनका हालका अध्यक्ष भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले अन्तर्राष्ट्रिय मुद्रा कोषको विरोध गर्नुभएको छ । उहाँले संरा अमेरिकी आर्थिक र वित्तीय हमला सैनिक हमलाजत्तिकै घातक हुने गरेको बताउनुभयो ।
बोलिभारियाली क्रान्तिका नेता माडुरोले ‘आर्थिक हमला अन्तर्राष्ट्रिय युद्धको नयाँ रूप’ भएको बताउनुभयो ।
माडुरोले आर्थिक युद्धले बालबालिका, महिला र ज्येष्ठ नागरिकलगायत सबभन्दा कमजोर जनतामाथि प्रभावित हुने गरेको बताउनुभयो ।
“आगामी वर्षमा हाम्रो आन्दोलनले अमानवीय, असमावेशी र विपन्नताको ढाँचाको विकल्प खोजी गर्नुपर्ने छ । अहिलेको अमानवीय, असमावेशी र विपन्नताको ढाँचालाई अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले टेवा दिइरहेको छ”, माडुरोले भन्नुभयो ।
“अन्तर्राष्ट्रिय मुद्रा कोषले डिजाइन गरेको र वाशिङ्टनका सहयोगी सरकारहरूले कार्यान्वयनमा ल्याउने गरेको निर्मम नवउदारवादी आर्थिक ढाँचाले जनताको निवृत्तिभरण र तलब कटौती गर्दैछ, सार्वजनिक सेवामा अचाक्ली मूल्यवृद्धि गरेको र शिक्षा तथा स्वास्थ्यसम्बन्धी अधिकारबाट वञ्चित गर्ने गरेको छ”, उहाँले भन्नुभयो ।
आर्थिक युद्धले निम्त्याउने सामाजिक प्रभावबारे प्रकाश पार्दै माडुरोले अन्तर्राष्ट्रिय मुद्रा कोषको नीतिले संसारभरका विकासशील देशमा ‘व्यापक मानव अधिकार हनन गरिरहेको’ बताउनुभयो ।
“त्यसकारण हामी आर्थिक, वित्तीय र व्यापार नीति थोपर्नुलाई हामी हमला मान्छौँ । त्यस्ता नीतिले सैनिक हमलाजस्तै घातक प्रभाव पार्ने गरेको छ । आजभोलि केही शक्तिले गरेका आर्थिक र वित्तीय हमला सैनिक हमलाजत्तिकै घातक हुन्छ ।”
विदेशको उक्साहटमा भेनेजुयलाले सामना गर्नुपरेको समस्याबारे चर्चा गर्दै माडुरोले आफ्नो सरकारले जनतालाई नै केन्द्रमा राखेर नीति बनाउनमा जोड दिएको र त्यही कारण संरा अमेरिकी साम्राज्यवादले अन्तर्राष्ट्रिय कानुनको खिल्ली उडाउँदै नाकाबन्दी लादेको बताउनुभयो ।
“भेनेजुयला प्रतिरोध गरिरहेको छ र यो प्रतिरोधलाई निरन्तरता दिनेछौँ । त्यसका साथै भेनेजुयलाले बहुरूपका आर्थिक युद्धलाई पराजित गरिरहेका छौँ । भविष्यमा हामी हुर्कनेछौँ, पुनःस्थापित हुनेछौं र समृद्धिको बाटोमा अघि बढ्नेछौं”, माडुरोले भन्नुभयो ।
विश्व शक्तिहरूले ‘एकपक्षीय रूपमा हस्तक्षेपकारी निर्णय गर्दा’ अन्तर्राष्ट्रिय कानुनको हरेक पटक उल्लङ्घन गर्ने गरेको बताउँदै माडुरोले राजनीतिक दबाबलाई सामूहिक सजाय दिने लक्ष्यले हतियारको रूपमा प्रयोग गरेको बताउनुभयो । असंलग्न आन्दोलनको बाकु सम्मेलनले आगामी तीन वर्षको लागि अजरबैजानलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *