भर्खरै :

चिनियाँ र ब्राजिलियन राष्ट्रपति भेटवार्ता, थप आर्थिक साझेदारीको सहमति

पेइचिङ, ९ कार्तिक (सिन्ह्वा) । चिनियाँ राष्ट्रपति सि चिनफिङ र ब्राजिलका राष्ट्रपति जायर मेसिया बोल्सोनारोबीच शुक्रबार पेइचिङमा भेटवार्ता भएको छ ।
हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका ब्राजिलका राष्ट्रपति बोल्सोनारो र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच शुक्रबार ‘ग्रेट हल अफ दि पिपुल’मा भेटवार्ता भएको समाचारमा जनाइएको छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङले सो अवसरमा विश्वमा धेरै कुराहरू परिवर्तन हँुदै गएको भए पनि चीन र ब्राजिलबीचको सम्बन्ध भने स्थिर र सुमधुररुपमा अघि बढिरहेको धारणा राख्नुभएको पेइचिङबाट सिन्ह्वा समाचार समितिले जनाएको छ ।
त्यस अवसरमा द्विपक्षीय हित, आपसी सहयोग र समझ्दारीका साथै चीन र ब्राजिलबीचको आर्थिक लगानी र व्यापार प्रवर्धनका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङले विकासका सम्भावना र अवसरको सामूहिकरुपमा खोजी गरी आपसी हितका लागि लगानी, आपसी सम्बन्धको प्राथमिकता एवम् चीन ब्राजिल बृहत् राणनीतिक साझेदारिताको विकासका क्षेत्रमा जोड दिनुभएको थियो ।
उहाँले लगानीका साझा र नयाँ क्षेत्रको खोजी गर्नुपर्ने, साझा चासो र फाइदाका क्षेत्रमा लगानी गर्नुपर्ने तथा द्विपक्षीय व्यापार अभिवृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको समाचारमा जनाइएको छ ।
उहाँले ऊर्जा, कृषि, खानी उपजका साथै पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि चीन तयार रहेको भन्दै हालको तुलनामा अझै धेरै ब्राजिलियन सामान आयात गर्न चीन तयार रहेको धारणा पनि राख्नुभएको समाचारमा जनाइएको छ ।
त्यस अवसरमा दुवै देशका राष्ट्रपतिले दुई देशको सम्बन्ध इतिहासदेखि नै असल र सुदृढ रही आएको धारणा राख्नुभएको थियो ।
ब्राजिलियन राष्ट्रपति बोल्सोनारो चिनियाँ राष्ट्रपति सिको आमन्त्रणमा औपचारिक भ्रमणका लागि चीन पुग्नुभएको हो ।
बिहीबार पेइचिङ पुग्नुभएका राष्ट्रपति बोल्सोनारो शनिबारसम्म चीनमा रहनुहुने छ । उहाँहरूबीच शुक्रबार भएको भेटवार्तापछि दुवै देशको तर्फबाट संयुक्त प्रेस वक्तव्य पनि जारी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *