भर्खरै :

समाजमा विद्यमान केही भ्रम

एक समालोचनात्मक विश्लेषण – १
सञ्जय खड्का
१. भूमिका
विश्वास संस्कृतिको एक अभिन्न अङ्ग हो । मानवशास्त्री ई.बी. टायलरका अनुसार ‘संस्कृति त्यो जटिल सम्पूर्णता हो । जसमा ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, प्रथालगायत अन्य सामथ्र्य र आनीबानीहरू पर्दछन् । जुन मानवद्वारा समाजको सदस्यका रूपमा रही प्राप्त गरेको हुन्छ (सोच नेपाल २०७०ः१) ।’ संस्कृति मानवद्वारा वा परिष्कृत गरिएको कृति हो । स्थान सापेक्ष हुन्छन् । ज्ञान र विश्वास एक अर्कासँग अन्तरसम्बन्धित छन् । कुनै व्यक्ति वा विचार वा चिजप्रति भएको विश्वासमा परिवर्तन आउन सुरुमा ज्ञानमा परिवर्तन आउन जरुरी हुन्छ । ज्ञान परिवर्तनशील, परिमार्जित र परिष्कृत नहुने हो भने विश्वासको दायरा पनि साँघुरो घेराभित्र कुँजिएर बस्छ । कुनै पनि विश्वास समयानुकुल परिमार्जित तथा परिष्कृत हुन सकेन भने त्यही विश्वासले कालान्तरमा अन्धविश्वासको रूपमा लिन्छ । हाम्रो समाजमा अन्धविश्वासले डेरा जमाएको छ । अन्धविश्वासमा आधारित धेरै कुरीति तथा कुसंस्कृतिहरू विद्यमान रहँदै आएका छन् । समालोचनात्मक दृष्टिकोणबाट हेर्ने हो भने हाम्रो समाजलाई मोटोरूपमा नकारात्मक प्रभाव पार्ने धेरै विषयवस्तुको रहेका छन् । नेपाली समाजमा नकारात्मक प्रभाव पार्ने विषयवस्तु लामो सूची मध्ये यहाँ ज्योतिषशास्त्र, राशीफल, चमत्कार, गोमूत्र र वैकल्पिक चिकित्सा पद्धति होमियोथेथीबारे समालोचनात्मक विश्लेषण गरिनेछ ।
ज्योतिषशास्त्र आफैंमा एउटा व्यापक तर अस्पष्ट विषयवस्तु हो । सामान्यतया ज्योतिषशास्त्रलाई गणित ज्योतिष र फलित ज्योतिष गरी सरलरूपमा दुई भागमा विभाजन गरिएको पाइन्छ । यहाँ गणित ज्योतिषबारे तटस्थ भई फलित ज्योतिषबारे मात्र समालोचना गरिएको छ । यी पाँच विषयवस्तु के साँच्चै वैज्ञानिक र मानवहित केन्द्रित छन् ? भन्ने मूलभूत प्रश्नलाई केन्द्रविन्दु बनाएर उक्त विषयवस्तुको बहुआयामिक कोणबाट समालोचना गर्ने प्रयत्न यस लेखमा गरिएको छ ।
२. के ज्योतिषशास्त्र विज्ञान हो ?
मानिसको मानस–पटलमा ज्योतिषशास्त्रबारे गहिरो विश्वास रहेको पाइन्छ । आम मानिसदेखि ठूलाठूला राजनीतिज्ञ, अभिनेता तथा ठूला घरानाका व्यापारीसमेत ज्योतिषशास्त्रको भरपर्ने गरेका छन् । नेपाल र भारतका उच्च पदाधिकारीहरूले (प्रधानमन्त्रीलगायत) आध्यात्मिक सल्लाहकारको रूपमा व्यक्तिगत ज्योतिषीहरू राख्ने गरेका धेरै उदाहरणहरू छन् । यसरी सुप्रसिद्ध व्यक्तित्वहरूद्वारा ज्योतिषशास्त्रप्रति देखाइएको आकर्षणले गर्दा पनि ज्योतिषशास्त्रको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । ज्योतिषशास्त्रले भूत, वर्तमान र भविष्य पनि बताउने दावा गरिन्छ । साथै भविष्यमा हुनसक्ने दुर्दशा तथा दुर्घटनालाई रोक्न सक्ने दावा पनि गरिन्छ र मानिसहरू पनि यो तर्कप्रति विश्वस्त भएको पाइन्छ । तर, के हाम्रो जीवन ग्रह, ताराकै नियन्त्रणमा छ त ? ज्योतिषशास्त्र विज्ञान हो कि फलित विज्ञान हो ? यी लगायतका अन्य प्रश्नहरू ज्योतिषशास्त्रको औचित्यमाथि उठ्नु स्वाभाविक नै हो । आजका मितिसम्म गरिएका अनेकौ वैज्ञानिक अध्ययन अनुसन्धानले ज्योतिषशास्त्रको सिद्धान्त, व्याख्या तथा भविष्यवाणी विधिमा कुनै पनि वैज्ञानिक आधार देखाउन सकेनन् । ज्योतिषशास्त्रलाई यदि वैज्ञानिक मान्ने हो भने यसले केही आधारभूत विशेषताहरू धारण गर्नुपर्ने हुन्छ । वैज्ञानिक सिद्धान्तका केही आधारभूत विशेषताहरू हुन्छन् । यहाँ वैज्ञानिक सिद्धान्तका ६ आधारभूत विशेषताको चर्चा गरिएको छ जुन फलित विज्ञानमा अभाव हुने गर्छ । (विस्तृतको लागि हेर्नुहोस– http://atheism.about.com/ library/FAQs/skepticism/blfaq-astro-sci-pseudo.htm
१. समानता (consistency/uniformity)
वैज्ञानिक सिद्धान्तको रूपमा योग्य हुनका लागि कुनै पनि अगाडि सारिएको तर्क वा विचार, भित्री र बाह्य दुवैरूपमा, समान वा परस्पर सङ्गति (consistent) हुनुपर्छ । कुनै पनि विचार वा तर्क विज्ञानपरक सिद्ध हुनका लागि अहिलेसम्म विश्वव्यापी रूपमा स्वीकारिएको वा प्रमाणित सिद्धान्तसँग समान वा परस्पर सङ्गति (consistent) हुनुपर्छ । तर, विडम्बना भन्नुपर्छ ज्योतिषशास्त्रका तर्क वा विचार आधुनिक विज्ञानका सर्वमान्य सिद्धान्तसँग बाझिन्छ । कुनै विचारबीच बेमेल हुँदैमा गलत हो भनेर बुझ्नु गलत हो । त्यसैले विचार वा तर्क बाझिनु प्रमुख कुरा होइन । प्रमुख कुरा त ज्योतिषशास्त्रीहरूले तार्किकरूपमा ब्रह्माण्डको नियम, स्वभाव र स्वरूपबारे प्रस्ट्याउनुपर्ने हो । तर, उनीहरूले व्याख्या गर्न तथा प्रस्ट्याउन नसकेका कारण उनीहरूका दाबीहरूको औचित्यतामाथि प्रश्न उठ्ने गरेको छ, जुन स्वाभाविक पनि हो ।
दोस्रो कुरा, ज्योतिषशास्त्र भित्रीरूपमा पनि समान (consistent) देखिँदैन । ज्योतिषशास्त्रमा जे जति दाबा गरिन्छ, त्यो सबै अस्पष्ट (vague) हुने गर्छ । ज्योतिषशास्त्रीहरूबीचको भिन्नता र विभिन्न समुदायमा व्याप्त विविध किसिमका ज्योतिषशास्त्रीय विधिले पनि ज्योतिषशास्त्र भित्रीरूपमा पनि कन्सिस्टेन्ट नभएको देखाँउछ ।
२. के ज्योतिषशास्त्र पर्सिमोनियस (parsimonious) छ ?
विज्ञानमा कुनै पनि सिद्धान्त पर्सिमोनियस छ भन्नाले कुनै पनि प्रक्रिया वा प्रश्नको व्याख्या गर्दा अनावश्यक कुराको चर्चा नगरी वस्तुको ठोस विश्लेषण गर्नुपर्छ भन्ने बुझिन्छ । यसरी हेर्दा ज्योतिषशास्त्र पर्सिमोनियस (parsimonious) देखिदैन किनभने यो शास्त्र अनावश्यक शक्ति वा बल (force) को मान्यतामा आधारित छ ।
ज्योतिषशास्त्रलाई समर्थ (valid) र सत्यसाबित गर्न मान्छे र आकाशीय पिण्डबीचको बलरूपी सम्बन्ध स्थापित गर्नुपर्ने देखिन्छ । त्यो बल स्थापित वा परिभाषित बलजस्तै गुरुत्वाकर्षण बल हुनसक्दैन, त्यो बल पक्कै पनि अर्कै प्रकृतिको हुनुपर्छ । अतः ज्योतिषशास्त्र पर्सिमोनियस हुनका लागि ज्योतिषशास्त्रीहरूले आविष्कार वा पत्ता नलागेको बल (force) को तथ्य अगाडि सार्नुपर्छ जसले अन्तरिक्षमा भएका पिण्ड र धर्तीमा भएका मानिसबीचको स्पष्ट सम्बन्ध स्थापित गर्ने सकोस् । तर, विडम्बना ज्योतिषीहरूले आजको मितिसम्म सम्बन्ध हुन्छ मात्र भनेका छन् तर कार्यकारण सम्बन्ध स्थापित गर्नसकेका छैनन् ।
३. के ज्योतिषशास्त्र प्रमाणमा आधारित (evidence based) छ ?
विज्ञानमा दाबा गरिएका कुरा परीक्षण गरिन्छ र प्रमाणित गरिन्छ अनि मात्र स्वीकार्य सिद्धान्त बन्छ । वैज्ञानिक दृष्टिकोणले के चाहिँ सर्वविदित छ भने तथ्यमा आधारित नभएको कुनै पनि सिद्धान्त जुन प्रमाणित हुँदैन, त्यहाँ सत्यसँग कुनै सम्बन्ध छ भनी गरिएको दाबाको कुनै तुक हुँदैन । कुनै पनि कुरा धेरैले स्वीकार गरेको वा विश्वास गरेको भन्दैमा असत्य कुरा कहिल्यै सत्य हुँदैन । सत्य हुनका लागि अवलोकन, परीक्षण र प्रमाणित हुन अनिवार्य छ । ‘असाधारण दाबाका लागि असाधारण तथ्य चाहिन्छ’ भन्ने भनाइ यहाँ धेरै सान्दर्भिक र तार्किक देखिन्छ । ज्योतिषशास्त्र असाधारण दाबाको एउटा सुन्दर उदाहरण हो । ज्योतिषशास्त्रको सिद्धान्तलाई सही मान्ने हो भने अन्तरिक्षमा रहेका पिण्ड (ग्रह÷तारा) ले मानिसको चरित्र, जीवन र भविष्यमा प्रभाव पार्छ भने भौतिक, जीवविज्ञान तथा खगोलशास्त्र असत्य ठहरिन्छन् । किनभने अप्रमाणित कुरालाई सत्य मान्ने हो भने अहिलेसम्मका प्रमाणित कुरालाई स्वतः असत्य मान्नुपर्ने हुन्छ । अतः ज्योतिषशास्त्रका दाबालाई स्वीकारयुक्त बनाउनका लागि सो शास्त्रका असाधारण दाबाका लागि असाधारण तथ्य प्रस्तुत गर्नुपर्ने देखिन्छ जुन आजसम्म हुन सकेको छैन ।
४. के ज्योतिषशास्त्र नियन्त्रण र पुनरावृत्ति परीक्षण (controlled and repeatable experiment) मा आधारित छ ?
वैज्ञानिक सिद्धान्त नियन्त्रण र पुनरावृत्ति परीक्षणमा आधारित हुन्छ । नियन्त्रण र पुनरावृत्ति (controlled and repeatability) विज्ञानका प्रमुख दुई विशेषताहरू हुन् । नियन्त्रण (control) भन्नाले परिणाममा असर वा प्रभाव पार्ने तत्वलाई हटाउन सकिन्छ भन्ने बुझिन्छ । जति असरदायी तत्व हटाइन्छ, कुनै कार्यको कारक तत्व यही हो भनी दाबा गर्न त्यति नै सजिलो र कुनै व्यक्तिले गरेको परीक्षण अर्को व्यक्तिले पुनः गर्नसक्छ र उस्तै वा एउटै निष्कर्षमा पुगिन्छ भन्ने बुझिन्छ । यसो हुँदा हाम्रो दाबा र सिद्धान्त अझ बढी पक्का (confirmed) हुन्छ । ज्योतिषशास्त्रमा Repeatability नगण्य छ किनभने ज्योतिषशास्त्रमा विश्वास गर्नेहरूको अनुमानित findings दोहो¥याउन मुस्किल हुन्छ । एउटा ज्योतिषको तर्क वा दाबा अर्का ज्योतिषभन्दा फरक हुँदा ज्योतिषीमित्रबीच पनि पुनरावृत्ति (Repeatability) को सम्भावना नगण्य देखिन्छ । ज्योतिषशास्त्रमा न नियन्त्रण न पुनरावृत्तिको विशेषता पाइन्छ । ज्योतिषशास्त्रमा नियन्त्रणको विशेषता सतहीमा देखिए पनि उक्त पक्रियामा न कुनै तर्क छ, न त कुनै विश्वासनियता । अतः ज्योतिषशास्त्रीहरूको व्याख्यामा नियन्त्रण र पुनरावृत्ति नदेखिएकोले उनीहरूको दाबा वा व्याख्या सत्यबाट धेरै टाढा देखिन्छ । 
५. के ज्योतिषशास्त्र संशोधनीय (correctable) छ ?
विज्ञानमा सिद्धान्तहरू परिवतर्नशील (dynamic) हुन्छन् । नयाँ सूचना तथा तथ्य (data) को आधारमा विज्ञानका सिद्धान्तहरू परिमार्जित तथा परिवर्तनीय हुन्छन् । तर, फलित विज्ञानमा परिवर्तन तथा परिमार्जित हुँदैन वा नगण्य परिवर्तन हुन्छ । परिवर्तन तथा परिमार्जनको दृष्टिकोणबाट हेर्दा ज्योतिषशास्त्र संशोधनीय (correctable) देखिँदैन । आफ्नो विषयवस्तु प्रस्तुत गर्ने प्रक्रियामा केही परिवर्तन भएको देखिए तापनि ज्योतिषशास्त्रको मूलभूत आदिमा सिद्धान्तमा कुनै फेरबदल भएको छैन । प्राचीन कालदेखि अहिलेसम्म पनि राशी चिह्नका विश्ेषताहरूमा केही परिमार्जन भएको छैन । पछिल्लो समय नयाँ खोजको क्रममा नयाँ ग्रहहरू थपिए पनि कुनै पनि ज्योतिषीले नयाँ ग्रह पत्ता लगाउनुभन्दा अगाडि अनुमान गरिएका राजीफल तथा भविष्यवाणी गलत थिए भन्न सकेका छैनन् । अतः ज्योतिषशास्त्र समयानुकूल अर्थात् विज्ञानको नयाँ खोजको नयाँ सत्य र तथ्य अनुरूप संशोधनीय देखिँदैन जुन विज्ञानको मूल विशेषताविपरीत हो ।
६. के ज्योतिषशास्त्र टेन्टेटिब (tentative) छ ?
टेन्टेटिव (tentative) भन्नाले ट्रायल वा परीक्षा रीतिको प्रयोगसम्बन्धी भन्ने बुझिन्छ । विज्ञानमा वैकल्पिक व्याख्याको अभावमा कुनै सिद्धान्तलाई सही भनी तर्क गर्न मिल्दैन । तर, फलित विज्ञानमा सधैँ त्यस्ता तर्कहरू अगाडि सारिन्छन् । यो विज्ञान र फलित ज्योतिषबीचको मूल फरक हो किनभने विज्ञानको मान्यताअनुसार कुनै विकल्प पत्ता लगाउन नसक्नुले कुनै प्रश्नरूपी सिद्धान्तलाई सत्य छ भन्न मिल्दैन । अतः विज्ञानको मान्यतामा कुनै सिद्धान्तलाई अपरिमार्जित, अपरिवर्तनीयरूपमा होइन अहिलेसम्म उपलब्ध भएका सूचना र तथ्यको आधारमा हालको सिद्धान्त नै सर्वोत्कृष्ट भनेर व्याख्या गरिन्छ ।
ज्योतिषीशास्त्रमा गरिने दाबालाई सामान्यतया नकारात्मक ढङ्गमा प्रयोग गरिन्छ । ज्योतिषशास्त्रमा परीक्षणको उद्देश्य सिद्धान्त व्याख्या गर्नसक्ने तथ्यको खोज गर्नु नभएर त्यस्ता तथ्य खोज्नु हो जसको व्याख्या गर्न नसकियोस् । अन्ततोगत्वा, कुनै वैज्ञानिक व्याख्याको अभावमा नतिजालाई अलौकिक शक्तिसँगै जोडेर निष्कर्ष निकालिन्छ । यस्ता तर्क विज्ञानपरक छैनन् । ज्योतिषशास्त्रलाई साँघुरो घेरामा परिभाषित गरिएको छ र ज्योतिषशास्त्रले तथ्य सत्यको दायराभित्र नपर्ने कुरालाई मात्र व्याख्या गर्ने गरेको देखिन्छ । यस्ता तर्कमा आधारित विधि अवैज्ञानिक हुन् किन भने यसले दुई विधिलाई विपरीत दिशातिर लैजान्छ । वैज्ञानिक सिद्धान्त बढीभन्दा बढी तथ्य संलग्न गराउने ढाँचामा आधारित हुन्छ । वैज्ञानिकहरू धेरै सिद्धान्त र कम व्याख्याभन्दा थोरै सिद्धान्त तर प्रक्रियासम्बन्धी बढीभन्दा बढी व्याख्या भन्दा गर्नसक्ने विधा रुचाउँछन् । तर, ज्योतिषशास्त्रको व्याख्या विज्ञानको भन्दा ठीकविपरीत देखिन्छ ।
विज्ञानका मूलभूत मान्यतासँग तुलनात्मकरूपमा हेर्दा फलित ज्योतिष कुनै पनि कोणबाट वैज्ञानिक देखिँदैन । परिकल्पना गरिएको प्रक्रिया वा अनुमान परीक्षण गर्न सकिँदैन भने ज्योतिषशास्त्रीय विधि कसरी वैज्ञानिक हुनसक्छ ? परीक्षणसम्बन्धी कुनै पनि मापदण्ड अपनाउन वा लागू गर्न नसकिने ज्योतिषशास्त्रीय विधि वैज्ञानिक हुनैसक्दैन ।
२.२ ज्योतिषशास्त्र र मनोविज्ञान
मानिस किन ज्योतिषशास्त्रमा विश्वास गर्छन् ? यो प्रश्न मानिस किन अन्धविश्वासमा विश्वास गर्छन् ? भन्ने प्रश्न सोध्नु सरह हो । हाम्रो जीवनमा धेरै घटनाहरू घट्ने गर्छन्, कहिले साना, कहिले ठूला । यी सबै घटनाका पछि केही न केही कारण हुन्छ भन्नेमा जनमानसमा गहिरो विश्वास रहेको पाइन्छ । ज्योतिषीहरू ती घटनाका कारण र भोलि हुनसक्ने दुर्घटना रोक्नसक्ने दाबा गर्छन् । ज्योतिषीहरू जीवन र जगतको रहस्य बुझ्न सक्ने र जीवनलाई खुशीयाली तथा सुखमय बनाउन सक्ने शास्त्रीको रूपमा आफूलाई परिभाषित गर्छन् । आखिर सुखमय जीवनको चाहँदैनन् र ? ज्योतिषीहरूको सल्लाह अस्पष्ट (vague) र साधारण हुन्छ जुन धेरै मानिससँग मिल्न जान्छ । त्यसैले ज्योतिषीको सल्लाह लिनु र नलिनुमा खासै अन्तर देखिँदैन । आफ्नो कुरा अरूले सुनिदियोस् र आफ्नो समस्याप्रति झुकाब देखाओस् भन्ने भाव मानिसमा हुनु स्वभाविक नै हो । मानिसको यो स्वाभाविक प्रवृत्तिलाई बुझेर ज्योतिषहरू मनोवैज्ञानिक ढङ्गबाट प्रस्तुत हुने गरेको देखिन्छ । डेनियल कोहेन्ले भनेजस्तै ज्योतिषशास्त्रीहरूको लोकप्रियता र विश्वासनीयता बढ्नुको कारण उनीहरूसँग भएको विशेष क्षमता हो जुन खगोलशास्त्री तथा वैज्ञानिकहरूले प्रदान गर्नसक्दैन । त्यो के भने उनीहरू आशा तथा राम्रो देखाउन सक्छन् ।
पुरुष वा महिला सबैले ज्योतिषशास्त्रमा विश्वास गरे पनि पुरुषको तुलनामा महिलाहरूले बढी विश्वास गरेको पाइन्छ । परम्परा, भक्ति, श्रद्धा तथा अलौलिकक शक्तिमा बढी विश्वास गर्ने भएकाले पनि महिलाहरू ज्योतिषशास्त्रमा बढी विश्वास गर्ने गरेको पाइन्छ । भविष्यप्रतिको कौतुहलता, चिन्ता, आश र त्रासको सम्मिश्रणले गर्दा नै मानिसहरू ज्योतिषशास्त्रमा विश्वास गरेको देखिन्छ । आफ्नो भविष्यको बारेमा आज नै थाहा पाउने जिज्ञासाले मानिसहरूलाई ज्योतिषशास्त्रले आफूतिर आकर्षित गरेको हो । भोलिका दिनमा भइपरि आउने दुर्घटनाको जानकारी र त्यसको निराकरण गर्ने उपाय पनि ज्योतिषशास्त्रले बताइदिने दाबा गरेकोले पनि मानिसहरूको ध्यान उक्त शास्त्रप्रति आकृष्ट भएको देखिन्छ ।
२.३ केही समालोचनात्मक प्रश्न
जन्म कुण्डली तथा चिना मान्छेको मात्र हुन्छ कि जनावरको पनि हुन्छ ?
यदि हुन्छ भने कुनै जनावरको सही जन्म, मिति, स्थान र समय दिइए, कुन जनावर हो वा उक्त जनावरको आयु कति हो भनेर भन्न सकिन्छ ? कुनै जनावर र मानिस एकै स्थान र समयमा जन्मिए के यी दुईको चिना एउटै हुन्छ ? भाग्य र ग्रहदशा एउटै हुन्छ ?
जुम्ल्याहाको चिना एउटै हुन्छ कि फरक ? एउटै हुन्छ भने भिन्न दुई व्यक्तिको जिवनभरि भाग्य र ग्रह दशा कसरी एउटै हुन्छ ? चिना फरक हुन्छ भने ज्योतिषशास्त्रको कुन सिद्धान्त वा विधिद्वारा फरक हुन्छ ?
एकै अस्पतालको एउटै कोठामा एकै समय जन्मिएका बच्चाहरूको चिना एउटै हुन्छ कि फरक ?
भनिन्छ ज्योतिषशास्त्र त्रिकालदर्शी हुन्छ । के ज्योतिषशास्त्रले सबै थाहा पाउँछ ? के ज्योतिषशास्त्रको कुनै सीमा हुँदैन ?
चिना गर्भधारणको समय (time of conception) को आधारमा नभएर जन्म समयको आधारमा बनाइन्छ । यी दुईमध्ये कुन चाहिँ सही जन्म समय हो ? टाउको देखिएको वा खुट्टा देखिएको समय ? के ग्रहले आफ्नो प्रभाव जन्म भएपछि मात्र देखाउन सुरु गर्छ ? गर्भ अवस्थामा नौ महिनासम्म बच्चाको विकासक्रममा ग्रहको कुनै प्रभाव नै हुँदैन ? के जन्मनु भन्दा अगाडि (नौ महिनासम्म) ग्रहको प्रभाव शून्य र जन्मेपछि शतप्रतिशत बढ्ने हो ? त्यो के कारण हो ज्योतिषशास्त्रमा जसले जन्म समयलाई महत्वपूर्ण बनायो र गर्भधारणको समयलाई (time of conception) असान्दर्भिक बनायो ? कतै गर्भधारणको समय पत्ता लगाउन कठिन भएकोले ज्योतिषशास्त्रमा जन्म समयलाई नै आधार बनाइएको त होइन ?
जन्म समयको आधारमा जन्म कुण्डली बन्ने गर्छ । त्यसो हो भने साइत हेरे २–३ दिन अघि (सिजरिङ) चिरफार गरेर जन्मिएको बच्चाको जन्म कुण्डलीमा ग्रहको प्रभाव फरक पर्छ कि पर्दैन ?
टेस्ट्युब बेबीको सवालमा ज्योतिषशास्त्रीय विधि के भन्छ ?
तेस्रो लिङ्गीय सवालमा ज्योतिषशास्त्रीय विधिले के भन्छ ?
ज्योतिषशास्त्रअनुसार ग्रहहरूबीचको प्रभावलाई त मानिन्छ तर ग्रहबीचको दूरीलाई कुनै पनि मापदण्डको रूपमा मानिएको देखिँदैन । यो ब्रह्माण्डमा अगन्य आकाशीय पिण्डहरू रहेका छन् । तर, ती पिण्डहरूको प्रभावलाई नजरअन्दाज गरेर ज्योतिषशास्त्रमा किन नौ ग्रहमा मात्र सिमित गरिएको हो ?
ज्योतिषशास्त्रमा मानिएका दुई ग्रह राहु र केतु वास्तवमा ग्रह नै होइनन् । तिनीहरू त केबल ग्रहकक्षहरूको मिलन विन्दु मात्र हो, कुनै पिण्ड होइनन् । पिण्डरहित कथित ग्रह राहु र केतुले हाम्रो जीवनमा कसरी प्रभाव गर्न सक्छ ? जुन ग्रहको भौतिक अस्तित्व नै छैन भने उक्त ग्रहको ग्रहशान्ति गराउनुको औचित्य के छ ?
ज्योतिषशासत्रमा ग्रहको गलत अवधारणा रहेको पाइन्छ । चन्द्रमा उपग्रह हो, सूर्य तारा हो र राहु र केतु ग्रहकक्षको मिलन विन्दु हो– कुनै पिण्ड होइन । तर, यी सबैलाई ज्योतिषशास्त्रमा ग्रह मानिएको छ । यस्तो गलत अवधारणामा आधारित ज्योतिषशास्त्र कसरी सही हुन सक्छ ?
ज्योतिषशास्त्र जियोसेन्ट्रिक सिद्धान्तमा आधारित छ अर्थात् ग्रह पृथ्वीको वरिपरि घुम्छ भन्ने मान्यतामा आधारित छ । अर्थात् ज्योतिषशास्त्रमा पृथ्वीलाई ग्रहहरूको केन्द्रको रूपमा लिने गरिन्छ । तर, यो सिद्धान्तलाई कोपरनिकसले धेरै समयअघि नै गलत सावित गरेका थिए । उनले सूर्य पृथ्वीको वरिपरि होइन, पृथ्वी चाँहि सूर्यको वरिपरि घुम्छ भनेर पहिलो पटक प्रमाणित गरेका थिए । यसलाई हेलियोसेन्ट्रिक थेउरी भनिन्छ ।
के ज्योतिषशास्त्रले प्राकृतिक प्रकोपबारे पनि भविष्यवाणी गर्न सक्छ ? विख्यात ज्योतिषीहरूले भूकम्प तथा सुनामी जस्ता प्राकृतिक प्रकोप जानुभन्दा अगाडि किन पूर्व जानकारी दिन सकेनन् ? ज्योतिषशास्त्रीय विधि अनुसार प्राकृतिक प्रकोपबारे गरिएका भविष्यवाणी पनि किन गलत साबित भए ?
पूजापाट तथा बाहुनलाई दान दिएर ग्रहदशा कसरी हट्न सक्छ ? यो सम्भव छ भने कसरी हुन्छ ? त्यसले काम गर्ने प्रक्रिया, संयन्त्र वा विधि के हो ? पूजाआजा गर्दा, अमुक पत्थर लगाउँदा वा बाहुनलाई दान गर्दा ग्रहले हाम्रो जीवनमा पारेका वा पार्ने कुप्रभावलाई सुप्रभावमा कसरी परिवर्तन गर्छ ? के कर्मकाण्डीय प्रक्रियाले ग्रह दशाद्वारा हामीलाई प्रभाव पार्ने बल (force) (अहिलेसम्म परिभाषित हुननसकेको) को दिशा नै परिवर्तन गरिदिने हो या उक्त बललाई बाटो मै रोकिदिने हो ? कि गलत दिशा वा स्थानमा रहेको ग्रहको स्थान नै परिवर्तन गरिदिने हो ?
राहु र केतु मानिएका ग्रहको अस्तित्व नै छैन भने यस्ता ग्रहको नाममा ग्रह शान्ति गर्नुको औचित्य के छ ?
प्राचीन कालमा मानिसले अन्तरिक्षमा अवस्थित ग्रह, तारा वा अरू प्राकृतिका आकाशीय पिण्डबीच खाली आँखाले कसरी छुट्याउन सके ?
खुल्ला आकाश मुनी र घर वा बिल्डिङ्ग भित्र जन्मेका बच्चामा ग्रहको प्रभाव उही मात्रामा हुन्छ या कम वा बढी हुन्छ ? यदि कम वा बढी हुन्छ भने कसलाई कम वा बढी हुन्छ ? र किन ?
हुन नसकेको वा असफलताको दोष कसलाई लगाउने ? ग्रहदशालाई लगाउने ? केही काम बिग्रँदा मैले बिगारेको होइन, ग्रह दशाले बिगारेको हो भन्ने ? कसैलाई कुटियो भने मैले होइन, मेरो दोष छैन, सब ग्रह दशाले गर्दा भएको हो भन्ने ? के यसले दोष जति अरूलाई थोपार्ने प्रवृत्ति सिकाउँदैन र ? हामीलाई भाग्यवादी हुन सिकाउँदैन र ?
एउटै चिना लिएर दुई ज्योतिषीकोमा जाँदा किन जीवन व्याख्या फरक–फरक हुन्छ ?
मानववाद, पूर्णाड्ढ–१
(अन्धविश्वास विशेष)

Leave a Reply

Your email address will not be published. Required fields are marked *