विश्व शान्तिको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो
- जेष्ठ १४, २०८३
संयम क्षेत्री
दसैँपछि नेपाली जनताले मनाउने अरु चाड तिहार, छठपर्व, ल्होसारलगायत सङ्घारमै आइपुगेको छ । चाडपर्व भनेकै समुदाय वा मानिसहरूले मनाएको खुसीयालीको निरन्तरता वा खुसी हुने अवसर हो । त्यसैले चाडपर्वमा सामान्य दिनमा भन्दा बढी विभिन्न उपभोग्य वस्तुहरूको उपभोग गर्नु स्वाभाविक हो । तर हिजोआज विदेशमा श्रम गरेर पठाएको रेमिट्यान्स रकमसँगै विदेशी वस्तुको किनमेल र प्रयोग बढेको छ ।
विदेशी वस्तुको प्रयोग गर्नैहुँदैन भने पनि होइन तर स्वदेशमै उपलब्ध वस्तुको सट्टा पनि सबै विदेशी वस्तु प्रयोगमा जोड दिनु समग्र देशलाई र प्रकारान्तरले आफैलाई गरिब बनाउनु हो । हिजोआज लगाउने कपडाहरू, जुत्तादेखि टोपीसम्म, खानेकुरामा चामलदेखि सागपात र तरकारीसम्मै विदेशी नै रोज्ने चलन बढेको छ । तिहारमा बढी उपयोग हुने फलफूलमा पनि विदेशी नै बढी भाउमा बिकिरहेका छन् । विदेशमा निर्मित वस्तुको प्रयोगले इज्जत बढ्ने र स्वदेश निर्मित वस्तु प्रयोगले घट्ने मानसिकता हामीले त्याग्नुपर्छ ।
त्यस्तै झिलिमिली बत्तीहरूको प्रयोगले स्वदेशमै निर्मित माटाका दियो र पालाहरूको र मैनबत्तीको प्रयोग उल्लेख्यरूपमा घटेको छ । स्वदेशमै उत्पादित र निर्मित वस्तु प्रयोग गर्दा एकातिर हाम्रै समाज र समुदायका उत्पादकहरूले दुईचार सय रुपैयाँ आम्दानी गर्न सक्छन् र उनीहरूले पनि चाडपर्व मनाउन पाउने हुन्छन् भने अर्कोतिर आयात कम भएर बढ्दो व्यापार घाटा कम गर्न थोरै भए पनि योगदान पुग्ने हुन्छ ।
स्वदेशी वस्तु प्रयोगमा जोड दिनमा केही समस्या नभएको पक्कै होइन । केही वस्तु अपर्याप्त भएपछि उत्पादनकर्ता वा व्यापारीले तुरुन्तै मूल्यवृद्धि गर्ने र कतिपय अवस्थामा कृत्रिम अभाव सृजना पनि गर्ने गर्छन् । यथोचित मूल्य कायम गर्नका लागि उपभोक्ताकै सजगता र अनुगमनकारी निकायको सक्रियता उपयोगी हुन्छ । व्यापारी समुदायले पनि उचितमात्र नाफा लिएर स्वदेशी वस्तु बिक्री वितरणलाई जोड दिनु श्रेयष्कर हुने देखिन्छ ।
Leave a Reply