भर्खरै :

आख्यानकार विकलको साहित्यिक योगदानको चर्चा

 काठमाडौँ, ११ कात्तिक (रासस) : आख्यानकार रमेश विकलको ९२औँ जन्मजयन्तीमा उहाँको सालिकमा माल्यार्पण गरी नेपाली साहित्यमा पु¥याउनुभएको योगदानको चर्चा गरियो ।
रमेश विकल साहित्य प्रतिष्ठानले आज उहाँको जन्मस्थान आरुबारीस्थित अर्धकदको प्रतिमास्थलमा आयोजना गरेको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले रु १६ लाखको लागतमा पूर्णकदको सालिक बनाउन लागिएको जानकारी दिनुभयो ।
सांसद कृष्ण राईले विकलले साहित्यका साथै शिक्षाको स्तर सुधार गर्न पनि योगदान दिनु भएको स्मरण गर्नुभयो । विसं २००८ मा आफ्नै घरको एउटा कोठामा अरुणोदय विद्यालय सञ्चालन गर्नु भएको उहाँले जानकारी दिनुभयो । हाल यो विद्यालय आरुबारी चोकमा चलिरहेको छ । “मत दिएर जिताउने जनताले नेता बिग्रेलान् भनेर सचेत बनाउँदैनन्, जितेपछि हामीले मत दिएर जितायौँ, अब हामीलाई के दिन्छस् भनेर कुरा शुरु हुन्छ”, सांसद राईले भन्नुभयो ।
प्रदेशसभा सदस्य रामेश्वर फुँयालले भैरव अर्याल, विकललगायत राजधानीका पूर्वोत्तर क्षेत्रका साहित्यकारको सालिक निर्माण गरी यस क्षेत्रलाई साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको बताउनुभयो । नेपाली आख्यान क्षेत्रमा विकलले पु¥याउनु भएको योगदान महत्वपूर्ण रहेको उहाँले जानकारी दिनुभयो ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकलले समाजमा प्रेरणाको स्रोतका रुपमा काम गर्नुभएको स्मरण गर्नुभयो । आरुबारीबाट सुन्दरीजल हुँदै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बाटोबाट गोसाइँकुण्ड यात्रा गर्दाको सन्दर्भलाई ‘सात सूर्य एक फन्को’ कृतिमा सजीव तरीकाले उतार्नुभएको उहाँले बताउनुभयो ।
समालोचक युवराज मैनालीले गुरुप्रसाद मैनालीले शुरु गर्नुभएको नेपाली कथाको धारलाई विकलले नयाँ उचाइमा पु¥याउनुभएको बताउनुभयो । विकलले आफू जीवित हुँदै छोराहरुको सहमति लिएर प्रतिष्ठानका लागि घरजग्गा दान दिएर उदाहरणीय साहित्यकारका रुपमा स्थापित हुनुभएको उहाँले बताउनुभयो ।
कार्यक्रममा डा विदुर चालिसे, कलाकार श्रीकृष्ण सिम्खडा, प्रतिष्ठानका सचिव वसन्त रिजाललगायतले गोकर्णेश्वर नगरपालिकाले साहित्य क्षेत्रको श्रीवृद्धिका लागि उल्लेखनीय काम गरेको बताउनुभयो । नगरपालिकाले यस क्षेत्रका सात वटा साहित्यिक संस्थालाई गतिविधि सञ्चालन गर्न रु १० लाखका दरले रु ७० लाख बजेट चालु आवमा विनियोजन गरेको छ ।
विसं १९८५ कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन जन्मनुभएका साहित्यकार विकलको विसं २०६४ पुसमा निधन भएको थियो । उहाँका ‘नयाँ सडकको गीत’, ‘अविरल बग्दछ इन्द्रावतीलगायत कृति चर्चित छन् ।
सो अवसरमा विकल अभिनव बाल साहित्य पुरस्कारबाट पाँचजना विद्यार्थीलाई सम्मान गरियो । अभिनव साहित्य समाजले आशु कविता लेखन प्रतियोगिता आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *