भर्खरै :

इँटा कारखाना र नेकमा कमिसनखाने भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ

भक्तपुर, ११ कार्तिक । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगु नगरपालिका वडा नं. ८ एकाइ समितिको आयोजनामा दीपावली, नेपाल संवत् ११४० र छठको अवसरमा शुभकामना कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नेमकिपाले राजनीतिलाई देश र जनताको इमानदारी र निःस्वार्थपूर्वक सेवा गर्ने क्षेत्रको रूपमा अघि बढाउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले स्थापनाकालदेखि नै देशको सार्वभौमिकताको रक्षाको पक्षमा आवाज उठाउँदै आएको हो । भारतीय विस्तारवादले नेपालको सीमा अतिक्रमण गरेको र सीमामा बाँध एवम् तटबन्ध बनाई नेपालको तराईका भूभाग डुबान पारेकोविरुद्ध नेमकिपाले विरोध गर्दै आएको छ ।”
सुस्तामाथि भारतीय विस्तारवादको अतिक्रमणको पहिलो विरोध नेपालमा नेमकिपाका अग्रजहरूले भक्तपुरबाटै गरेको चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, “कोसी र गण्डक सम्झौतालाई देशघात भन्ने एमाले र माओवादीले सरकारमा गएपछि देशघाती महाकाली र कर्णाली सम्झौताको समर्थन गरे ।”
“पार्टीले सुरूदेखि नै भ्रष्टाचारको विरोध गर्दै आएको हो । एनसेल, फोरजी सेवा, वाइडबडीमा अर्बौँ रूपैयाँ भ्रष्टाचार गरिएको छ । ३८ क्वीन्टल सुन तस्करका अपराधीहरूलाई वर्षौदेखि सार्वजनिक गरिएको छैन ।” उहाँले भन्नुभयो ।
अख्तियार स्रोतका अनुसार १८४८ ठेक्काको ११८ अर्ब रूपैयाँको काम अलपत्र रहेको र ठेकेदार पत्तो नलागेको तथ्य जानकारी गराउँदै सचिव सुवालले २४ अर्ब रूपैयाँको परिचालन पेश्की लिएका ठेकेदारहरूले वर्षौैँदेखि काम सुरू नै नगरेको बताउनुभयो ।
प्रम ओलीले गत पुसको भ्रष्टाचारविरोधी अन्तर्राष्ट्रिय दिवसमा त्यहाँ सहभागीले भ्रष्टाचार नगरे आधा भ्रष्टाचार अन्त्य हुने बताउनुभएको थियो । ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भन्ने ओलीको भनाइ झूटा सावित भएको सचिव सुवालले प्रस्ट्याउनुभयो ।
उहाँले भन्नुभयो, “झन्डै दुईतिहाइको मत भएको एमाले र माओवादीले सरकार गठन गर्न भारतीय विदेशमन्त्रीलाई नेपाल बोलाएर आत्मसमर्पण गर्नुले भारतीय दलाल सावित गर्छ । एमाले र माओवादीको चुनावी मोर्चा र पार्टी एकतासमेत भारतीय निर्देशनमा भएको पुष्टि हुँदै छ । ओली र दाहालको आरोप–प्रत्यारोपले पार्टी एकता सिद्धान्तहीन र अनैतिक नै सावित गर्छ ।”
भक्तपुर अस्पताल एउटा राम्रो बनाउन नसकेको एमाले–माओवादीको सरकारले देश बनाउने दाबी गरेको झूटा हो भन्दै सांसद सुवालले निर्वाचनमा पैसा र सामान बाँडेर, भोज खुवाएर धेरै स्थान जितेका पार्टीहरूलाई जनताले उदाङ्ग्याउनु आवश्यक छ भन्नुभयो ।
अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन ठाउँ तोक्ने निहुँमा रू. ५० लाख बजेट सिध्याउनेहरू भ्रष्टाचारी नभए के होला ? उहाँले प्रश्न गर्नुभयो ।
सचिव सुवालले जोड दिनुभयो, “भक्तपुर इँटा कारखाना र नेपाल इन्जिनियरिङ कलेज चाँगु कब्जा गरी कमिसन खाने भ्रष्टाचारीहरूलाई कडा कारबाही हुनु आवश्यक छ ।”
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले मन्त्रिपरिषद्द्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा योजना ठेक्का दिने कार्यविधि बनाउनु ठेकेदार पोस्ने काममात्र भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गणेश सुकमनीको सभापतित्वमा भएको कार्यक्रममा नेक्रायुसङ्घ भजिस अध्यक्ष मीनबहादुर बाटा, नेमकिपा चाँगुनारायणका केशवप्रसाद तिमिल्सेना, नारायणप्रसाद दुलाल, जीवन गिरी, सरोज दुलाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *