भर्खरै :

अर्जेन्टिनाको नयाँ सरकार र ल्याटिन अमेरिकी नयाँ आशा

मारिया जोसे हारो स्ले
अर्जेन्टिनाका पेरोनवादीहरू एकजुट भएर मौरिसिओ म्याक्रीलाई पराजित गरेका छन् । सन् १९४० को दसकमा जुआन डोमिन्गो पेरोनको नेतृत्वमा बनेको अर्जेन्टिनाकै सबभन्दा पुरानो पार्टीका विभिन्न हाँगाबिँगा क्रिस्टिना फर्नान्डेज एक पाइला पछि हटेर अल्बर्टो फर्नान्डेजलाई राष्ट्रपति पदको लागि उम्मेदवार बनाउने घोषणा गरेसँगै एकै ठाउँमा आएका हुन् ।
चुनावको नतिजा घोषणा भइसकेको छ । अल्बर्टो फर्नान्डेज–क्रिस्टिना फर्नान्डेजलाई एकै ठाउँमा ल्याउने पेरोनवादीहरूको सुत्रले काम गरेको छ । पेरोनवादीहरूको गठबन्धनले ४८ प्रतिशत मत ल्याएको छ भने राष्ट्रपति माक्रींसम्बद्ध दलले ४० प्रतिशत मत हासिल गरेको छ । चुनावको सबभन्दा रोचक भिडन्त भने व्युनर्स आयर्स प्रान्तमा देखियो । अर्जेन्टिनाको कुल जनसङ्ख्याको एकतिहात्न्दा बढी जनसङ्ख्या बसोबास गर्ने सो प्रान्तमा पूर्व अर्थमन्त्री तथा बहुलतावादी अर्थशास्त्री एक्सेल किसिलोफले कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत हासिल गरे ।
राष्ट्रपति पदमा निर्वाचित अल्बर्टो फर्नान्डेजसामु अघिल्ला राष्ट्रपति म्याक्रींले ठड्याएका आर्थिक चुनौतीका पहाड छन् । ती चुनौतीको समाधान चुस्त तरिकाबाट छिटोभन्दा छिटो समाधान गर्ने जिम्मेवारी फर्नान्डेजको काँधमा छ ।
म्याक्रीं सरकारले वैदेशिक ऋण ४१ प्रतिशतबाट बढाएर ९० प्रतिशतभन्दा बढी पु¥यायो । कुल जनसङ्ख्याको ३५ प्रतिशत गरिबीको रेखामुनि छन् । मुद्रा स्फीति दर ५० प्रतिशतभन्दा बढी पुग्यो । व्याज दर ७० प्रतिशत पुग्यो । झन्डै ४ सय प्रतिशतले राष्ट्रिय मुद्राको अवमूल्यन भयो । अवस्था निकै भद्रगोल छ र सरकारी सञ्चिति र विदेशी मुद्रा बढाउन सुधारको आवश्यकता छ ।
हालै सम्पन्न चुनावले बितेका चार दसकमा अर्जेन्टिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषको मुद्दा तेस्रो पटक असफल भएको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको नीति लागू गर्दा संसारका धेरै देश डुबेका छन् । तर, अर्जेन्टिनाको पछिल्लो चुनावी परिणामले नयाँ परिस्थितिको सङ्केत गरेको छ । पछिल्लोपटक म्याक्रींलाई आर्थिक खतराका कारण ऋण दिइएको थियो । त्यो ऋणको ९० प्रतिशतभन्दा बढी पैसा विदेशी बैङ्क खातामा जम्मा भयो । पुँजीको स्थानान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय मुद्रा कोषको नियमविपरीत त्यसरी विदेशी बैङ्कमा पैसा जम्मा भएको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले आफ्नो इतिहासकै सबभन्दा ठूलो ऋणको अन्तिम किस्ता दिन विलम्ब गरिरहेको छ । अर्जेन्टिनालाई दिने भनिएको ५५ अर्ब अमेरिकी डलर ऋणमध्ये अन्तिम किस्ता ५ अर्ब ४० करोड अमेरिकी डलर पैसा दिन मुद्रा कोषले आनाकानी गरिरहेको छ । त्यसै त कमजोर अर्जेन्टिनाको आर्थिक अवस्थालाई यसले झन् भयावह बनाएको छ । बहुमत अर्जेन्टिनाका जनता अलबर्टो फर्नान्डेजले यो अवस्थामा सुधार गर्नेमा विश्वस्त छन् । नेश्टर क्रिचनर राष्ट्रपति छँदा अलबर्टो मन्त्रीमण्डलका अध्यक्ष र सन् २०११ को आर्थिक सङ्कटपछि विदेशी ऋणका लागि प्रमुख वार्ताकार पनि थिए ।
यसअर्थमा नवनिर्वाचित राष्ट्रपतिले चालु सङ्कट समाधानको लागि सही निर्णय गर्न म्याक्रींबाट जिम्मेवारी लिएका छन् । म्याक्रीं र अलबर्टों फर्नान्डेजबीच गएको मङ्गलबार भेटवार्ता भएको छ । सो क्रममा अन्तरिम कालको व्यवस्थापनको लागि आपसमा समन्वय गर्ने सल्लाह भएको छ । तर, त्यो काम त्यत्ति सहज भने छैन । नयाँ सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा र उत्पादनमा जोड दिनुपर्नेछ । त्यसको लागि सरकारसँग पैसाको कमी छ । सरकारसँग भएको पैसा अन्तर्राष्ट्रिय मुद्रा कोषको व्याज तिर्न नै ठिक्क छ । अर्जेन्टिनाको आजको आवश्यकता भने आर्थिक वृद्धि हो । चुनावलगत्तै वर्तमान अर्थमन्त्रीले पुँजीको बाहिरी प्रवाह रोक्न डर खरिदमा कडा नियन्त्रण गरेका छन् । मुद्रा सतहीका खुद्रा कारोबारीले प्रतिमहिना २०० डलर बराबरको मात्र कारोबार गर्न पाउनेछ । सो घोषणाअघि प्रत्येक महिना १ हजार डलरसम्म कारोबार गर्न सक्ने व्यवस्था थियो । सेप्टेम्बर महिनाको सुरुबाट सरकारले नयाँ प्रावधान लागू गरेको हो ।
अर्जेन्टिनाको हालैसम्पन्न चुनावलाई ल्याटिन अमेरिकी सन्दर्भमा विशिष्ट मानिएको छ । बितेका केही महिनायता चिली र इक्वेडरमा नवउदारवादी नीतिविरुद्ध ठूलठूला प्रदर्शन भइरहेका छन् । ती जनविरोधले त्यहाँका राष्ट्रपतिहरूलाई महत्वपूर्ण सुधारको लागि बाध्य बनाएको छ ।
इक्वेडरमा राष्ट्रपति लेनिन मोरेनो इन्धनमा मूल्यवृद्धि फिर्ता लिन बाध्य भए । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकार जोगाउन मन्त्रीमण्डल पूरै फेरे । सन् १९७० दसकयता नवउदारवादका पक्षधर सञ्चारमाध्यमहरूले चिलीलाई ल्याटिन अमेरिकामा ‘नमुना’ देशको रूपमा प्रशंसा गरेको थियो । चिलीले सन् १९७३ मा राष्ट्रपति भवनमाथि भीषण हमला गरी तत्कालीन राष्ट्रपति साल्भाडोर एलेन्डेविरुद्ध सत्ताविप्लव गरेपछि नवउदारवादी नीति लागू गरेको छ ।
चिलीमा सबै कुरा निजीकरण गरिएको छ । शिक्षा, स्वास्थ्य, निवृत्तिभरण र पिउने पानीसमेत निजी क्षेत्रको नियन्त्रणमा छ । नवउदारवादी सपना चिलीका बहुमत जनताको लागि नमिठो दुस्वप्न बन्यो । संसारकै सबभन्दा बढी असमानता भएको महादेशको चिली सबभन्दा बढी असमानता भएको देश बनेको छ । इक्वेडर र चिलीमा आज चालु प्रदर्शनको कुनै निश्चित नेतृत्व छैन र त्यस्तो आन्दोलनको परिणाम के आउने हो कुनै टुङ्गो छैन ।
क्रिस्टिना फर्नान्डेज र अलबर्टों फर्नान्डेजले संरा अमेरिकाले अर्जेन्टिनाको चुनावी परिणामको सन्दर्भमा गरेको टिप्पणीबारे बोल्दै बोलिभियाली चुनावमा ते मोरालेसको सफलताबारे चर्चा गरे । उनीहरूले ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई अन्यायपूर्वक राजनीतिक मुद्दा लादेर कैद गरेकोमा विरोध गरे । उनीहरूले लुलाविरुद्ध पूर्वाग्रही फैसला गर्ने न्यायाधीशको भत्र्सना गरे । लुलाविरुद्ध फैसला गर्ने न्यायाधीश हाल ब्राजिलका कानुन मन्त्री हुन् ।
ल्याटिन अमेरिकाका प्रगतिशील शक्तिहरू सन् २००० को दसक आरम्भमा ल्याटिन अमेरिकी राजनीतिमा हासिल गरेको प्रमुख भूमिका पुनः हासिल गर्न सकिनेमा आशावादी बनेका छन् । वित्तीय नियन्त्रणको अवधिलाई बिदा गरेर राष्ट्रिय र देशको वास्तविक अर्थतन्त्रमा आधारित विकासको बाटोमा फर्किनमा उनीहरू आशावादी बनेका छन् ।
अल्बर्टो फर्नान्डेजले भने,“हामी केही उत्तम कामको लागि फर्किएका हौं ।” ल्याटिन अमेरिकी क्षेत्रका प्रगतिशील जनताको लागि यो समय एउटा अवसर हो । अगाडिको बाटो जोखिमपूर्ण र धेरै अवरोधले भरिएका छन् । तर, ल्याटिन अमेरिकी जनताले सधैं उत्तम भविष्यको लागि सपना देख्ने गर्ने गरेका छन् ।
(लेखक चीनमा कार्यरत अर्जेन्टिनाका विद्वान हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *