भर्खरै :

नेकपा अध्यक्ष प्रचण्डलाई खुला पत्र

प्रिय कामरेड प्रचण्ड,
न्हु दँया भिन्तुना !
हिमाली दुर्गम र पहाडी जिल्लाहरूभन्दा तराईका अधिकांश जिल्ला र गाउँ सुगम मानिन्छ । विकास कार्यमा नेता, कार्यकर्ता, कर्मचारी र ठेकेदाहरू इमानदार भए तराईको विकास गर्न पहाडमा भन्दा छिटो सम्भावना छ । त्यसो त दुर्गम र पहाडको विकासमा पनि नेता, कार्यकर्ता, कर्मचारी र ठेकेदारहरू नै जिम्मेवार छन् ।
तराईमा तुलनात्मकरूपले दहेज (दाइजो), बोक्सी, अपराधीलाई राजनीतिक संरक्षण, हत्या, हिंसा, अन्धविश्वास र सामाजिक कुरीति विकराल छ । त्यसको एउटा प्रमुख कारण खुला सिमाना पनि हो । अर्को महत्वपूर्ण कुरा परीक्षामा नक्कल गर्न दिने । नक्कली प्रमाणपत्रको बिगबिगीमा नेता (मन्त्रीहरू), राजनीतिक कार्यकर्ता र अभिभावकहरूसमेत अगाडि छन् ।
तराई र देशको यस्तो स्थितिमा शासक दल र नेताहरू नै जिम्मेवार रहेको बारे नेकपाका एक अध्यक्ष प्रचण्डजी बेखबर हुनुहुन्छ भन्नेबारे पत्याउन सजिलो छैन । पत्याउन गा¥हो छ भन्ने हो भने के शासक दलका सहअध्यक्षले ‘अनसन’ गर्दैमा तराई वा पहाडको विकास हुने हो ? के यो नेकपा र ‘ओली सरकार’लाई धम्की हो ? वा उपनिर्वाचनमा तराईमा बढी उम्मेदवार जिताउने उद्देश्यले ‘मधेसको विकास नभए अनसन’ प्रचण्डजीको घोषणा (अन्नपूर्ण, १४ कार्तिक २०७६) त अङ्ग्रेजीको स्टन्ट, एक चालबाजी, जालसाझी र हिन्दीमा ‘चकमा’ शब्द प्रयोग गर्नु उपयुक्त होला !
पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री र राष्ट्रपतिका उम्मेदवारको झ्याली पिटेका नेताले यस्ता पाखण्डी कुरा भन्न मिल्छ ? आफ्नो इज्जत र प्रतिष्ठा आफैले बचाउने हो । आफ्नो जिम्मेवारी र कर्तव्यबोध भएर बोल्नु जनतालाई राजनैतिक प्रशिक्षण सरह हुन्थ्यो ।
यसै सन्दर्भमा तराईका ‘सुयोग्य’ र ‘नैतिकवान’ नेता माथिका गुण भएका नेता नेका उपसभापति विमलेन्द्र निधिलाई सम्झनु राम्रै हुन्छ । उहाँले भन्नुभयो – “देशको शासन व्यवस्था अनुभवविहीनको हातमा पुगे ।” (ङातापोल एक्सप्रेस, १४ कार्तिक २०७६)
शासक दलका नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरूले ध्यान दिनुपर्ने विषय निम्न हुन् –
एक, सर्वोच्चमा भ्रष्टाचार मुद्दा फछ्र्यौट कछुवा गतिमा, ‘सात वर्षदेखि भ्रष्टाचारको मुद्दा थाती ।’
(राजधानी, १४ कार्तिक २०७६) दुई, हाम्रो अध्यागमन कार्यालयको गुनासो आजको होइन । जिल्लामा भ्रष्टाचारमा दसीसमेत पक्राउ परेका प्रमुख जिल्ला अधिकारीलाई समेत शासक दलले अध्यागमनमा उँचो पदमा राखेका थिए । “… कर्मचारीले गैरकानुनीरूपमा कामदार विदेश पठाउने धन्दालाई व्यवस्थित ढङ्गले जारी राखेका छन् ।” समाचारको शीर्षक छ – ‘एक हातले पासपोर्टमा छाप, अर्को हातले १० हजार ।’ (व्यङ्ग चित्र पनि आकर्षक, समाचारपत्र, १४ कार्तिक २०७६)
तीन, कर्मचारीहरूलाई शासक दलहरूले आ–आफ्नो शासनको बेला आफ्नो पक्षमा लिन र पार्टी सदस्य बनाउने काम गरेको हुँदा कर्मचारीहरू चरम अराजक बन्दै गएका छन् । माथिल्ला कर्मचारीहरू त शासक दलका ‘चाहेता’ र सम्भ्रान्त वर्गमै पुगेका छन् । तिनीहरूले मन्त्रीको राजीनामा लिन लगाउन सक्छन् । तर, कर्मचारीलाई तह लगाउन मन्त्रीहरूलाई धौ धौ छ । शीर्षक छ – ‘कर्जाले कङ्गाल, करिब ३० लाख रूपैयाँ लिएर कर्मचारी फरार ।’ समाचार हो धनुषाको ।
नेकपाका अध्यक्ष कामरेड प्रचण्डज्यू,
तपाईँको भावना राम्रै होला, त्यो राम्रो भावना आफू सत्तामा रहँदा गरेर देखाउने हो । आफू पदमा हुँदा जनता नदेख्ने प्रधानमन्त्री भए पनि, राष्ट्रपति भए पनि जनतालाई ‘फकाउने काम’ जिम्मेवार व्यक्तिलाई सुहाउँदैन । आफ्नो कर्तव्यप्रति गम्भीर भएमा कार्यकर्ता र जनताले पनि जिम्मेवार वक्ताहरूको अनुसरण गर्नेछन्, नत्र ती भनाइ हाँसोका विषय हुनेछ । धन्यवाद !
–एक नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *