भर्खरै :

आजको नेकपा

सत्तारूढ दलका नेता–कार्यकर्ताका कर्तुत एकपछि अर्को बाहिरिरहेका छन् । कृष्णबहादुर महरादेखि अखिल नेता इन्द्रहाङ राईसम्मका यौन दुव्र्यवहार काण्डका घटनाले सत्तारूढ दल विकृतिको दलदलमा फसेको प्रस्ट हुन्छ । कति त्यस्ता कर्तुत अझै बाहिर आउन बाँकी हुनुपर्छ । पीपलको बोटले मन्दिर छोपेजस्तै आर्थिक अनुशासनहीनताको विषवृक्षले नेकपालाई ढाकिसकेको छ । अर्को शब्दमा भन्नुपर्दा आजको नेकपामा टिक्न आर्थिक अनुशासनहीनता अनिवार्य चरित्र बनिसकेको छ । आर्थिकरूपमा तलबितल नगरेको कार्यकर्ता भेटाउन नेकपामा गा¥हो हुन्छ । जसले त्यस्ता कृत्य र अपराधबाट टाढा बस्न खोज्छ, उसलाई नेकपामा टिक्न सम्भव छैन । सत्तारूढ दलभित्रको यस्तो अवस्थाको फाइदा उठाउन स्वार्थी नाफाखोरहरू आज चुम्बकले फलामे तान्नेजस्तै नेकपातिर तानिएका छन् । ती मानिसहरू नेकपाका विचारप्रति आकर्षित भएर त्यता लागेका होइनन् । आफ्नो गलत कृत्यमा सरकारी संरक्षण पाउन र नाफाको बाटोलाई अझ चौडा बनाउन नै उनीहरू ऐनकेनप्रकारेण नेकपा बनिदिएका हुन् ।
नेकपाको यस्तो चरित्रले उसलाई आफ्नो नामअनुसारको गुणबाट दिनानुदिन टाढा हुत्याइरहेको छ । कम्युनिस्ट साहित्य पढेका र असली कम्युनिस्ट बन्छौँ भन्नेहरू लाखापाखा लगाइएका छन् । तीमध्ये कति कार्यकर्ताले लुटको मौसममा आफूलाई अनुकूलित बनाइसकेका छन् । इमानदार कार्यकर्ता खोज्न गा¥हो छ, जति छन् तिनीहरू निराश छन् ।
नेकपाका नेताहरूले लगाउने समृद्धिको नारा नेताकै वरपर धुप लिएर चाकडी गर्ने ‘हनुमानहरू’ को लागि फलिफाप बनेको छ । जनताले आर्थिक समृद्धिको कुरा सत्तासीन दलका नेताहरूको आश्वासनले भरिएका भाषणमा मात्र सुन्ने गरेका छन् ।
सत्तारूढ दलका नेता कार्यकर्ताका यस्ता चरित्रले त्यो दल पुँजीवादी दल भएकोमा कुनै सन्देह गरिरहन जरूरी छैन । पुँजीवादी पार्टीको स्थापना पुँजीपति वर्गको राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकार रक्षाको लागि हुने गर्दछ । उसका नीतिले जहिले पनि धनी र शोषक वर्गकै हित गर्ने गर्छ । जनताबाट विद्रोह हुने भयले उनीहरूले केही लोककल्याणकारी नीति घोषणा गर्छन् । तर, त्यस्ता नीतिले व्यापक कामदार जनताको व्यापक हित गर्नसक्दैन । जनतालाई खान पुगे बस्न ठाउँ नहुने, बस्ने ठाउँ भए खान नपुग्ने अवस्थामा अल्झाइरहेको हुन्छ । कतिपय समाजलाई हित हुनेजस्तो देखिने उनीहरूका कार्यक्रमबाट अन्ततः पुँजीपति वर्गलाई नै फाइदा हुने गरेको छ ।
विडम्बना ! नेकपाले आफ्नो चरित्रभन्दा ठीकविपरीत आफ्नो नाममा ‘कम्युनिस्ट’ शब्दको फुर्को लगाएको छ । त्यो नाम राख्दा जनतालाई झुक्याउन सकिने भएर उनीहरूले यो शब्द आफ्नो नाममा झुण्ड्याएका हुन् । संसारका कम्युनिस्ट र क्रान्तिकारीलाई त्यो नाम देखाएर झुक्याउन नै उनीहरूले आफ्नो नाममा यस्तो फुर्को लगाउने गरेका हुन् ।
नेकपाले जति–जति आफ्नो चरित्र देखाउँदै जान्छ, त्यत्ति नै जनताले उसको वास्तविकता बुझ्दै जाने हो । झूठको खेती धेरै दिन टिक्ने होइन । एकपछि अर्को प्रकरण र कुकृत्यका खुलासाले नेकपा कस्तो दल हो भन्ने कुरा जनताले बुझ्दै छन् । बेदागी र इमानदार मानिसलाई टिक्न नदिने दल नै आज नेकपा बनेको छ । कम्युनिस्ट पार्टी कतिसम्म बिग्रन सक्छ र नेताहरू कतिसम्म स्खलित हुनसक्छन् भन्ने कुराको उदाहरण बनेको छ–आजको नेकपा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *