भर्खरै :

जापानमा एक हप्ताभित्र दोस्रो मन्त्रीद्वारा राजिनामा, प्रधानमन्त्रीलाई ठूलो धक्का

टोकियो, जापान, १४ कार्तिक (सिन्ह्वा) । जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजिनामा दिनुभएको छ । एक हप्तामा दुई जना मन्त्रीको राजिनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ ।
कावाईकी पत्नीले निर्वाचन कानुनको उल्लङ्कन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजिनामा दिनुभएको हो ।
जापानी साप्ताहिक पत्रिका शुकान भुनशुनले जुलाईमा जापानी संसदको माथिल्लो सदनमा ४६ वर्षीया एन्द्री कावाईले आफ्ना कर्मचारीलाई कानुनले तोकेभन्दा बढी भत्ता दिएको कुरा सार्वजनिक गरेपछि छपन्न बर्षीय न्यायमन्त्री कावाईले राजिनामा दिनुभएको हो ।
कावाईले कर्मचारीलाई दिएको दैनिक खर्च जापानी कानुनले निर्धारण गरेको खर्चभन्दा बढी भएको उक्त पत्रिकाको बुधबारको अनलाइन संस्करणमा छापिएको थियो ।
पत्रिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एन्द्री कावाईका १३ महिला निर्वाचन अभियानकर्मीलाई कानुनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गराउनुभएको थियो ।
मन्त्री कारबाहीसमेतलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई आलु तथा मकैको उपहार दिएर मत प्रभावित गराएको आरोप पत्रिकामा लगाइएको छ ।
प्रधानमन्त्री आवेलाई उहाँको कार्यालयमा राजिनामा बुझाएपछि बिहीबार पत्रकार सम्मेलनमा भन्नुभयो, “मेरो पत्नी एन्द्री वा ममाथि लगाइएका आरोप निराधार छन् । हामीले कुनै अनियमितता गरेका छैनौँ । यसलाई तल्लो तहसम्म पुगेर आरोपलाई निराधार पुष्टि गर्नु नै अहिलेको मेरो जिम्मेवारी हो ।”
हिरोसिमाको निर्वाचन क्षेत्र नं ३ बाट संसदको तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कावाईले सेप्टम्बरदेखि न्यायमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले न्यायराज्य मन्त्री तथा विशेष कूटनीतिक सल्लाहकारका रूपमा काम गरिसक्नुभएको छ ।
गत शुक्रबार सोही पत्रिकाले त्यहाँका उद्योग मन्त्रीलाई पनि आफ्ना सहयोगीलाई कानुन विपरीत नगद तथा उपहार वितरण गरेको समाचार छापेपछि उहाँले पनि राजिनामा दिनुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *