भर्खरै :

सिरिया सङ्कट समाधान गर्न जेनेभामा ‘ऐतिहासिक बैठक’

जेनेभा, ३१ अक्टोबर (एजेन्सी) । सिरियाका विपक्षी, नागरिक समाज र सरकारबाट ५०–५० जना प्रतिनिधि सम्मिलित सिरिया संवैधानिक समितिको बैठक बुधबारबाट स्वीट्जरल्यान्डको राजधानी जेनेभामा सुरु भएको छ ।
सिरियाका लागि संयुक्त राष्ट्र सङ्घीय विशेष प्रतिनिधि गेइर पिडरसन, सरकारी प्रतिनिधिमण्डलका नेता अहमद अल कि कुजबरी र विपक्षी प्रतिनिधिमण्डलका नेता हदी अलबहराले बैठकको संयुक्त अध्यक्षता गरेका छन् । सिरियाका पछिल्लो द्वन्द्वयता सबै पक्ष यसरी एकै छानामुनि बैठक बसेको यो पहिलो पटक हो ।
विशेष प्रतिनिधि पिडरसनले बैठकलाई ‘ऐतिहासिक क्षण’ को संज्ञा दिंदै समितिका सबै सदस्यलाई धैर्यता, सहिष्णु, सम्झौताको लागि तयार र रचनात्मक रूपमा सहभागी बन्न आग्रह गरे ।
“मलाई थाहा छ, तपाईँहरू सबैलाई यसरी एउटै कोठामा बस्न सजिलो पक्कै छैन । म त्यो भावनाको सम्मान गर्छु । तपाईँहरूमा झन्डै नौ वर्षको हिंसात्मक द्वन्द्वपछि सबै सिरियालीसँग भएको गहिरो भावनाको प्रतिविम्ब भएको मलाई थाहा छ”, उनले भने । “तर, आज हामी एकै ठाउँमा आमनेसामने वार्ता र संवाद सुरु गर्न बसेका छौं । यो सबै ठाउँका सिरियाली जनताको लागि आशाको शक्तिशाली सङ्केत हो”, उनले भने ।
उनले सिरियाली जनताले भोगिरहेका घाउ निको बनाउन संवैधानिक सुधार ‘एउटा नयाँ प्रवेशद्वार’ भएको बताए । “किनभने संविधान मौलिक हक, राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक अधिकार, कानुनी शासन र सुशासनसँग सम्बन्धित छ”, उनले भने ।
सन् २०१८ को जनवरीमा रुसको सोचीमा भएको बैठकले सिरिया संवैधानिक समिति गठन गर्ने निर्णय गरेको थियो ।
सिरियाली सरकारी प्रतिनिधिमण्डलका नेता अहमद अल कि कुजबरीले संवैधानिक समिति सिरिया सङ्कट समाधानको लागि राजनीतिक प्रक्रियाको प्रस्थान बिन्दु भएको र बलियो इच्छाशक्ति तथा स्पष्ट प्रतिबद्धताले उपलब्धि हासिल हुने बताए ।
उनले सिरियाली जनताले नै आफ्नो भविष्य र कस्तो सामाजिक, आर्थिक र सामाजिक प्रणाली छनौट गर्ने भन्ने कुराको निर्णय गर्ने बताए ।
“कुनै पनि वार्ता सफल बनाउन त्यो वार्ता सिरियालीबीच मात्र हुुनुपर्छ, कुनै पनि वैदेशिक दबाब वा हस्तक्षेपबाट मुक्त हुुनुपर्छ, सिरियाली स्वामित्व र नेतृत्वमा हुनुपर्छ र कुनै पूर्वशर्त हुुनुहुन्न”, उनले भने ।
विपक्षी प्रतिनिधिमण्डलका नेता हदी अलबहराले सबै पक्षका कुरा आपसमा सुनेर, आपसमा रहेका भयबारे बुझेर आपसका साझा कुरा खोजेर सिरियाली जनतालाई पीडा र दुःखबाट मुक्त गर्नुपर्ने बताए ।
१५० जना प्रतिनिधि सहभागी सो बैठकमा ४५ जनाको सानो मस्यौदा समितिले थप काम अघि बढाउने सहमति भएको छ । बैठकको अवयक्षता गरेका सरकारी प्रतिनिधि मण्डलका नेता अल किजबरी र विपक्षी प्रतिनिधिभण्डलका नेता अल बदराले हात भने मिलाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *