भर्खरै :

लियो क्लवको पदस्थापना सम्पन्न

भक्तपुर, १८ कार्तिक । “नेपालका लायन्स र लियो क्लवका सदस्यहरूले मानवीय समझदारी जागृत गर्ने, सुयोग्य नागरिक तयार गर्ने, सांस्कृतिक र नैतिक उँचो पार्ने, मित्रता र विश्वास कायम गर्ने, आर्थिक लाभभन्दा उच्च नैतिक स्तर उठाउने र आचारसंहिता व्यवसायप्रति मर्यादित बन्ने, आत्मसम्मान गुमाई लाभ स्वीकार नगर्ने, अर्काको हानी नगर्ने, अरुप्रतिको शङ्का आफूविरुद्ध पनि ठान्ने, मित्रतालाई साध्य ठान्ने, देशप्रति पूर्ण बफादार रहने, गरिबलाई सहयोग गर्ने, बिगार्ने होइन निर्माण गर्ने विषयलाई व्यवहारमै अवलम्बन गर्नु आवश्यक छ ।”
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद पे्रम सुवालले लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए २ नेपालअन्तर्गत भक्तपुरका १३ वटा लायन्स क्लव तथा ५ वटा लियो क्लवहरूको वर्ष २०१९–२० को संयुक्त पदस्थापना कार्यक्रममा उक्त भनाइ राख्नुभएको हो ।
लायन्स र लियो क्लवको उल्लेखित उद्देश्य र आचारसंहिताले सरकारमा गएका पार्टीका मन्त्री एवम् सांसदहरूलाई कमिसन नखान र भ्रष्टाचार तथा घूस नखान खबरदारी गरेको उल्लेख गर्दै सांसद सुवालले लायन्स र लियो क्लवका सदस्यहरूले क्लवको उद्देश्य र आचारसंहिताअनुसार काम गर्नुहुने अपेक्षा राख्नुभयो ।
उहाँले थप्नुभयो, “शान्ति र न्यायको लागि नेपालीबीच समानता हुनु आवश्यक छ । गरिब र धनी वर्गमा विभाजित भएसम्म नेपाली जनताबीच समानता कायम हुने छैन । क्लवका सदस्यहरूको सपथको व्यहोराले कालाबजारी, तस्करी, कम तौलको, मिति नाघेको, र मिसावट सामान बिक्री नगर्ने वाचा गर्दछ ।
देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु राजनीति भएकोले क्लवका सदस्यहरूले सरकारको देश र जनताविरोधी कामको खुलेरै भत्र्सना गर्नुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले धर्म अन्धविश्वास नभई मानव सेवा नै भएको उल्लेख गर्नुभयो ।
देशप्रति पूर्ण बफादार रहनुको अर्थ भारतीय विस्तारवादको हस्तक्षेप, नाकाबन्दी, दशगजामा निर्मित बाँधको कारण तराई भूमि डुबानको विरोध गर्नु हो, उहाँले थप्नुभयो ।
सांसद सुवालले हिन्द–प्रशान्त रणनीतिअन्तर्गत नेपाललाई ५ वर्षमा ५५ अर्ब अमेरिकी सहयोग प्राप्त गर्न भारतको सहमति लिनुपर्ने, चीनबाट भागेर आएका तिब्बतीहरूलाई भारत आश्रयमा बसेका दलाई लामासम्म पु¥याउनुपर्ने र प्रजग कोरियाविरुद्धको नाकाबन्दीलाई समर्थन गर्नुपर्ने सर्तको विरोध गरेमात्र देशप्रति पूर्ण बफादारीता कायम हुने उल्लेख गर्नुभयो ।
लायन्सका पूर्वडिस्ट्रिक गभर्नर केपी अवालद्वारा सञ्चालित उक्त पदस्थापना कार्यक्रममा डिस्ट्रिक गभर्नर शोभा जोशी, निवर्तमान गभर्नर सुदर्शन प्रधानाङ्गले पनि मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *