भर्खरै :

भारतीय हस्तक्षेपविरुद्ध जुलुस र सभा

काठमाडौँ, २० कार्तिक । भारत सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतभित्र रेखाङ्कन गरेको विरोधमा देशव्यापी विरोध भएको छ । नेपालको सार्वभौमिकताविरुद्ध नेपाली जनताको भावनाविपरीत भारतले आफूखुसी प्रकाशित नक्सामा नेपाली भूमि गाभेपछि देशभक्त जनता जुरमुराएका हुन् । भारतीय विस्तारवादले नेपालका ७० भन्दा बढी क्षेत्रमा जथाभावी सिमाना अतिक्रमण र सीमा क्षेत्रमा एकपक्षीय बाँध र तटबन्ध बाँधेर नेपाली भूमि डुबानमा पर्दै आएको छ ।
भारतीय हस्तक्षेपको विरोधमा बुधबार नेपाल मजदुर किसान पार्टीले विरोध जुलुस र सभा आयोजना ग¥यो । भक्तपुरको कमलविनायकबाट हजारौँ जनताको सहभागितामा निकालिएको विरोध जुलुसका सहभागीहरूले भारतीय विस्तारवादविरोधी नारा लगाएका थिए ।
उनीहरूले भारतीय सेना कालापानी छोड, सिमाना अतिक्रमण बन्द गर, लिम्पियाधुरा हाम्रो हो–लिपुलेक पनि हाम्रै हो, सिमानामा बाँधिएका बाँध र तटबन्ध भत्काउनैपर्छ आदि नारा लगाएका थिए ।
जुलुस सूर्यविनायकमा पुगेर विरोधसभा भएको थियो ।
सभामा नेमकिपाका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले लिम्पियाधुराबाट निस्कने नदी नै वास्तविक महाकाली नदीको उद्मग हो र भारतले सो क्षेत्रलाई आफ्नो नक्सामा पार्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप हो भन्नुभयो ।
सुगौली सन्धिमा महाकालीपूर्व लिम्पियाधुरा नेपालमा पर्ने उल्लेख भएको र लिम्पियाधुरा क्षेत्रभित्र कालापानी पनि पर्ने उहाँले बताउनुभयो । सांसद सुवालले जनता भारतको हस्तक्षेपकारी व्यवहारको विरोधमा उठिसकेको अवस्थामा पनि नबोल्ने नेपाल सरकार भारतीय दलाल सावित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली भूमि डुबानमा पार्ने भारतीय बाँधहरू नभत्काएसम्म र भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता नभएसम्म नेपाली जनताले आन्दोलन चालू राख्न आवश्यक छ ।”
सांसद सुवालले भन्नुभयो, “खराब ठेकेदार, गुण्डा र ठग म्यानपावर कम्पनीको संरक्षण गर्ने पार्टीहरूको सरकारबाट देश र जनताको हित हुँदैन । खाममा पैसा बाँड्ने, भोजभत्तेर खुवाउने, सिद्धान्तहीन र अनैतिक गठबन्धन गर्ने पार्टीहरूलाई पराजित गर्नुपर्छ ।”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले काली नदीको उद्गम थलो लिम्पियाधुरासम्म नेपाली भूमि भएकोले भारतले जबरजस्ती आफ्नो नक्सामा सो क्षेत्र राख्नु नेपालमाथिको हस्तक्षेप भएको बताउनुभयो ।
जुलुस आरम्भ हुनुअघिको सभामा मीनबहादुर बाटा र नीरज लवजूले पनि बोल्नुभएको थियो ।
सुर्खेत
भारतीय हस्तक्षेपकै विरोधमा बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि विरोध सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य बजीरसिं विकले काश्मीरमाथि नाङ्गो हस्तक्षेप गरेको भारतीय विस्तारवादले नेपाललाई पनि पाइला–पाइला गर्दै आफ्नो नवउपनिवेश बनाउन खोजेको बताउनुभयो ।
उहाँले नेपालका शासक दलले भारतीय शासक वर्गसामु आत्मसमर्पण गरेकोले लगातार हेपाहा व्यवहार गर्दै आएको बताउनुभयो ।
सभामा नेमकिपा सुर्खेत जिल्ला समितिका सचिव धनेन्द्र विक र नेपाल क्रान्तिकारी युवा सङ्घका गोविन्दनाथ योगी, नेक्राविसङ्घका खेमराम कँडेललगायतले बोल्नुभएको थियो ।
सभाअघि मङ्गलगढी चोकबाट जुलुस भएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *