भर्खरै :

नेमकिपाद्वारा भक्तपुर र दाङमा उम्मेदवारी दर्ता

भक्तपुर, २१ कार्तिक । मंसिर १४ गतेको उपनिर्वाचनमा रिक्त प्रदेशसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नं. १ (क) मा नीरज लवजू र दाङ क्षेत्र नं. ३ (ख) मा सुरेश परियारलाई उम्मेदवार बनाएको छ ।
भक्तपुरमा उम्मेदवारी दर्ता गर्न पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय प्रतिनिधिसभाका सांसद प्रेम सुवालको नेतृत्वमा सयौँ कार्यकर्ता सम्मिलित जुलुस जिल्ला समन्वय समितिको कार्यालय दरबार स्क्वायरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।
उम्मेदवारी दर्तापछि भक्तपुर दरबार स्क्वायरमा आयोजित घोषणासभामा नेमकिपाका केन्द्रीय सचिव सुवालले ओली–दाहाल सरकार र प्रमुख प्रतिपक्ष नेकांको गैरजिम्मेवारीका कारण देश पछाडि परेको चर्चा गर्दै जनताले तिनै पार्टीका उम्मेदवारहरूलाई जिताउन नहुने बताउनुभयो ।
उहाँले नेमकिपाले उपनिर्वाचनलाई शासक दलहरूका देश र जनताविरोधी कुकृत्य जनतामाझ पु¥याई जनताको चेतनास्तर बढाउने राजनीतिक अभियानको रूपमा अगाडि लाने बताउनुभयो ।
उहाँले विगतका निर्वाचनमा जस्तै शासक दलहरूले जनतालाई भोजभतेर खुवाएर, पैसा र सामान बाँडेर र अनेक झूटा आश्वासन दिएर चुनाव जित्ने हठकण्डा अपनाउन सक्ने औँल्याउँदै सचेत जनताले त्यस्ता गैरकानुनी कदमको विरोध र प्रतिकार गर्नुपर्छ भन्नुभयो ।
सांसद सुवालले वर्तमान ओली–दाहाल सरकार कति कायर र भारतपरस्त छ भन्ने तथ्य भारतले नेपाली भूमि कालापानी क्षेत्र भारतीय नक्सामा पारेको बारे सरकारको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यले नै पुष्टि गरेको बताउँदै शासक पार्टीहरू सरकारी कोष लुट्ने ठेकेदार, भ्रष्टाचारी, मानव तस्कर र गुण्डाहरूको चौघेराभित्र रहेका छन् भन्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपाका प्रमुख सुनिल प्रजापतिले समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानअनुसार शासन गरिरहेको कथित नेकपाको सरकारको नीति पूर्णतया पुँजीवादी रहेको र बहुसङ्ख्यक कामदार वर्गका जनताको हितविरूद्ध रहेको चर्चा गर्नुभयो ।
संसदमा गएर समाजवाद आउँछ भन्नेमा नेमकिपाले विश्वास नगरेको बताउँदै उहाँले संसदबाट देश र जनताविरोधी नीति निर्णय पारित हुन नदिन सचेत पार्न र प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्न नेमकिपाले संसदलाई उपयोग गर्दै आएको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले देश र जनताको पक्षमा सही अर्थमा लडिरहेको पार्टी नेमकिपा भएको पुष्टि हुँदै आएको बताउँदै शासक दलहरू ठेक्कापट्टा र अनेक नाममा राज्य कोष लुट्ने, कमिसन खाने र देशलाई भड्खालोमा जाक्ने काम गरिरहेका छन् भन्नुभयो ।
उहाँले नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलन र नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेमकिपाले अब्बल भूमिका खेलेको बताउँदै उहाँले नेमकिपाले चुनावलाई वर्गसङ्घर्षको रूपमा उपयोग गर्दै आएको छ भन्नुभयो ।
नेमकिपाका उम्मेदवार नीरज लवजूले पाँच दसक अघिदेखि कामदार जनता, मजदुर र किसान जनताको सेवा गरिरहेको नेमकिपाको तर्फबाट यस वर्गसङ्घर्षको मैदानमा वैचारिक सङ्घर्षका लागि उम्मेदवार हुन पाउँदा गौरव अनुभूति गरेको र पार्टी र जनताको विश्वासलाई सधैँ कायम राख्नेछु भन्नुभयो ।
उहाँले शासक पार्टीहरूले देशको सिमाना र सार्वभौमिकताको पक्षमा आवाज उठाउनु नाटकमात्र भएको चर्चा गर्दै सरकारमा बसेर भारत सरकारसित विरोध जनाउन सकेको छैन भन्नुभयो ।
परराष्ट्र मन्त्रालयको विज्ञप्ति स्वयम् सरकारको लाचारी र कायरताको प्रमाण हो, उहाँले भन्नुभयो । उहाँले आफू प्रदेशसभा सदस्य निर्वाचित भए नेमकिपाको घोषणापत्रअनुसार र जनताको अधिकतम हितका निम्ति प्रदेशसभा आवाज उठाउने र भूमिका खेल्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *