भर्खरै :

ललितपुरमा नेमकिपाद्वारा सीमा अतिक्रमणको विरोधमा जुलुस तथा सभा

ललितपुर, २२ कार्तिक । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा नेपाली भूमि लिम्पियाधुरा क्षेत्र भारतले आफ्नो सीमाभित्र राखी नक्सा बनाएको विरोधमा शुक्रबार ललितपुरमा विरोध जुलुस एवम् सभा भयो ।
ललितपुरको लगनखेलबाट सुरु भएको विराध जुलुस ललितपुर महानगर परिक्रमा गरी मङ्गलबजारमा पुगी विरोध सभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा ३ का सदस्य सुरेन्द्रराज गोसाईंले नेपालको भूमिमाथि भारतीय हस्तक्षेपको विरोधमा न्यायप्रेमी नेपाली जनतालाई सङ्घर्षमा उत्रन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “फासीवादी मोदी सरकारले भारतको राजनीतिक नक्सामा गाभिएको नेपाली भूमि नसच्याइएमा सङ्घर्ष जारी रहने छ । मोदीको फासीवादी नीति र भारतीय एकाधिकार पुँजीको विरोधमा नेपाली जनता सङ्घर्षमा उत्रनु आवश्यक छ । लिम्पियाधुरा क्षेत्र भारतको नक्सामा गाभ्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप हो ।”
नेकपाले सिद्धान्त फेरिसकेको हुँदा नेकपाबाट परिवर्तनको आशा गरे जनताले पछुताउनु र निराश हुनुपर्नेबाहेक विकल्प नहुने केन्द्रीय सदस्य गोसाईंले उल्लेख गर्नुभयो ।
नेमकिपाले ५१ वर्ष अगाडि नवलपरासीको सुस्ता मिच्दा नेपालमा पहिलोपटक भारतीय विस्तारवादको विरोध गरेको स्मरण गर्दै उहाँले नेपालको सार्वभौमिकता रक्षाको लागि सडक र संसदमा आन्दोलन जारी रहने छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले दुईतिहाइको सरकार हुँदा पनि देशमा वैदेशिक हस्तक्षेपको विरोधमा सशक्त आवाज उठाउन नसक्नु सरकारको निकम्मापन हो भन्नुभयो ।
देशको अहिलेको स्थितिमा नेपाली जनताले बोल्न नसके भोलि देश नरहने स्थिति आउने खतरा औँल्याउँदै उहाँले सार्वभौमिकता र भौगोलिक अखण्डता रक्षाको निम्ति नेपाली जनता उठ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य राजवीर डंगोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *