भर्खरै :

भारतीय विस्तारवादविरूद्ध नेमकिपाको जुलुस र विरोधसभा

जुम्ला, २२ कार्तिक । नेपाल मजदुर किसान पार्टी जुम्लाको आयोजनामा नेपाली भूमि लिम्पियाधुरा (कालापानी र लिपुलेक) भारतीय नयाँ नक्सामा गाभेको विरूद्धमा शुक्रबार जुलुस एवम् विरोधसभा भयो ।
खलङ्गा बजार परिक्रमा गरी बालमन्दिरमा भएको विरोध सभामा नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले भारतीय विस्तारवादी कदमको विरोध एवम् भत्र्सना गर्दै भारतले नेपाललाई सिक्किम बनाउने कदम चालेको बताउनुभयो ।
नेकपा र नेपाली काङ्ग्रेस सत्ताको लागि भारतीय स्वार्थको गोटी बनिरहेको हँुदा भारतले नेपाली भूमि सहजै अतिक्रमण गरिरहेको छ, उहाँले भन्नुभयो ।
नेमकिपा जुम्ला सदस्य माधव काफ्लेले ऐतिहासिक नक्सा र तथ्यको आधारमा कालापानी र लिपुलेक नेपाली भूमि भएको स्पष्ट छ भन्नुभयो ।
कार्यक्रममा नेक्रामहिला सङ्घकी जुम्ला अध्यक्ष राज्यलक्ष्मी न्यौपाने, नेक्राविसङ्घ जुम्ला अध्यक्ष गोरखजङ्ग शाही, नेक्रायुसङ्घका भीमबहादुर सार्की, लालबहादुर बुढा र मानबहादुर बोहराले पनि बोल्नुभएको थियो ।
नेपालगञ्जमा पनि विरोध सभा
नेपाली भूमि लिम्पियाधुरा भारतले आफ्नो सीमाभित्र राखी नक्सा बनाएको विरोधमा नेपाल मजदुर किसान पार्टीले शुक्रबार नेपालगञ्जमा पनि विरोध प्रदर्शनको आयोजना गरेको छ ।
‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘सीमा अतिक्रमण बन्द गर’, ‘लिम्पियाधुरा हाम्रै हो’ लगायतका नारा लगाई धम्बोजीचोकबाट पुष्पलाल चोकसम्म जुलुस प्रदर्शन गरिएको थियो ।
पुष्पलाल चोकमा आयोजित कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालको अस्तित्वमाथि धावा बोल्ने जस्तोसुकै शक्तिविरूद्ध लड्न नेपाली जनता तयार भएको विचार राख्नुभयो ।
उहाँले विभिन्न तथ्य तथा प्रमाणहरू हुँदाहुँदै कालापानीबाट भारतीय सेना हटाउन नेपाली काङ्ग्रेस, एमाले, नेकपालगायत कुनै पनि नेतृत्वको सरकारले ठोस कदम चाल्न नसकेको उल्लेख गर्दै देशभक्त जनता एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “भारतले नवलपरासीको सुस्तामाथि अतिक्रमण गर्दा नेमकिपाले सशक्त विरोध गरेको थियो । पञ्चायती शासकहरूको दमनको प्रतिवाद गरेको इतिहास छ । नेपाली भूमि फिर्ता गर्न अब सङ्घर्षभन्दा अन्य विकल्प छैन ।”
कोणसभामा नेमकिपा, बाँकेका अध्यक्ष बखतबहादुर थापाले शासक पार्टीहरूकै अकर्मण्यताको कारण नेपाली भूमि अतिक्रमण भइरहेको बताउनुभयो । शासकहरूले जनतालाई सधैँ ठग्न नसक्ने भन्दै उहाँले जनताको विजय सुनिश्चित छ भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सर्जु फसिकवले सम्पूर्ण देशभक्त जनता एकजुट हुनुपर्ने विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *