भर्खरै :

अतिक्रमित सबै भूमि फिर्ता लिन आन्दोलन जरुरी

– दानबहादुर कपाली
भारतले निकालेको नयाँ नक्सा तुरुन्तै सच्याउन र कालापानीबाट भारतीय सेना तुरुन्त फर्काउनुपर्ने मागसहितको आन्दोलन चालू छ । नेपाली भूमिमा परेको कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको नयाँ राजनीतिक नक्सामा राखेको समाचार सञ्चारमाध्यममा आउने बित्तिकै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन र सभाको आयोजना ग¥यो । त्यस्तै नेमकिपाले एक वक्तव्य जारी ग¥यो । त्यसलगत्तै राजधानीलगायतका अन्य स्थानहरूमा पनि विरोध प्रदर्शनहरू भए, प्रदर्शनकारीहरूले भारतीय राजदूतावास अगाडि धर्ना दिए । कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालकै भूमि भएको दाबी सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सरकारी प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा नेकाका सभापति शेयरबहादुर देउवाले ती क्षेत्र नेपालकै भएको दाबी गरे । यसरी ती क्षेत्रहरू नेपालकै भूमि दाबी गरिरहेको बेला भारतको फरक मत सार्वजनिक भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले पत्रकार सम्मेलनमा भारतले नयाँ नक्सामा नेपालसँगको सिमानामा कुनै परिमार्जन नगरेको र सो नक्साले भारतको सार्वभौम भूभागमात्र समावेश गरेको र नयाँ नक्साले नेपालसँग सम्बन्धित सीमाको कुनै पुनरावलोकन नगरेको दाबी गरे । यसरी नेपाली पक्षले भारतको नक्सा नस्वीकार्ने दाबी गरिरहँदा भारतीय पक्षले नेपाली भूमि मिचेको छैन भनी स्पष्टीकरण दिएको छ ।
भारतले नयाँ नक्सामा नेपाली भूमि नमिचेको दाबी त ग¥यो तर कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनी प्रस्ट पारेन । नक्सा नयाँ या पुरानोभन्दा पनि भारतले नेपाली भूमि मिचिरहेकोमा शङ्का छैन । भारतको पुरानै नक्सामा नेपाली भूमि भारतमा गाभिसकेको हुँदा नयाँ नक्साले नेपाली भूमि मिचेको छैन भनेर भारतीय पक्षले आफ्नो गल्ती छोप्ने प्रयास गरेको छ । नेपाली भूमिको विवाद कालापानी, लिम्पियाधुरा र लिपुलेकमात्र होइन, चार दशकअघि नै भारतले सुस्ता मिचेको थियो । त्यस्तै दर्जनौँ स्थानहरूमा भारतले नेपाली भूमि मिचिरहेको छ, भूमि मिचेर नेपालीहरूको उठिवास गरिरहेको छ । सत्तासीन दलका नेता र भ्रातृ सङ्गठन तथा प्रमुख प्रतिपक्ष नेकाका नेता र जनवर्गीय सङ्गठनहरूले लिम्पियाधुरा र लिपुलेकको झैँ अन्य क्षेत्रमा मिचिरहेको भूमि फिर्ता लिन पनि आन्दोलन र सङ्घर्ष गर्नुपर्छ । नत्र हाल भइरहेको नेपाली भूमि जोगाउने आन्दोलन देखाउने दाँतजस्तो हुनेछ ।
भारतीय पक्षले जहिल्यै एकपक्षीयरूपमा असमान सन्धि गर्ने, बाँध तथा तटबन्ध बनाउने र नयाँ नक्सा बनाउने काम गरिरहेको छ । भारतले नेपाली भूमि मिचिएको छैन भनेको भरमा भारतको नक्सा स्वीकार्ने छैन भन्ने सरकार र प्रमुख प्रतिपक्ष मौन रहे या अडानमा नबसे भारत अर्काे भूमि मिच्न पछि पर्नेछैन । भूमि मिचेको एक दुई दशक भएपछि फेरि अर्काे नयाँ नक्सा बनाउने छ । नेपाली भूमि मिचिरहेको मिचिरहने छ र नेपाल साँगुरो हुँदै जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *