भर्खरै :

तिलिचो यात्रा

श्यामकृष्ण खुलिमुली
२३ असोज २०७६
बेँसी सहरमा बास
घरमा सबैले नजाऊ नजाऊ भनिरहेका थिए । पोहोर पनि अन्नपूर्ण गएर फर्किँदा चिसोले शरीर सुन्निएको थियो । त्यसैले श्रीमतीले पनि जानुपर्दैन भन्दै थिइन् । तर, मरिलानु के छ र ? शरीरले सकेसम्म घुम्न पाए घुम्छु । अझ ममा आत्मविश्वास छ । जोस जाँगरको बीज छ । मलाई यात्रा सा¥है मनपर्छ । त्यसैले कसैको कुरा नसुनी मैले तिलिचो जाने निर्णय गरेँ ।
अझ पनि म हिँड्न सक्छु । यस्तै आँट बोकेर मनमा एउटा द¥हो आत्मविश्वासको बीज बिजारोपन गरेको छु । कलेजोको रोगी भए पनि शारीरिकरूपमा म अझै कमजोर भइसकेको छैन । त्यसैले बाँचुञ्जेल घुम्छु, रमाउँछु, सिर्जना गर्छु, चेतनाको बीज छर्छु अनि आफ्नै रोगमाथि विजय पाउन सङ्घर्ष गर्छु । किनकि सङ्घर्ष जीवनको अर्को नाम हो । मरेपछि डुम्मै राजा ।
शरद् ऋतुको समय थियो । यो ऋतु मलाई धेरै मनपर्छ । न गर्मी, न जाडो, न हिलो, न वर्षा । नीलो छ्याङ उघ्रेको आकाश हेर्दा मन चङ्गा हुन्छ । त्यसमाथि फूलैफूलको मौसम, दसैँ तिहारको हर्षोल्लास । नाममात्र सुन्दा पनि मनमा आनन्दको सञ्चार हुन्छ । तर यसपालि मनसुन अलि बढी नै सक्रिय भयो । त्यसैले शरद्को भरपुर आनन्द लिन पाइएन । केही दिनदेखि आकाश खुल्न थालेको थियो, बादल हट्न थालेको थियो । यही मौसममा तिलिचो जानको लागि मैले कम्मर कसेँ ।
यसपालि निओ फ्युजन स्कूल अफ कम्प्युटरका बालकृष्ण बनमालाको नेतृत्वमा यात्रा ग¥यौँ । यात्राको दिन बिहानै हामी ६ जना (बालकृष्ण बनमाला, बिमद बाहाल, रोमन कासिछ्वा, कल्याण रञ्जित, निश्चल कासिछ्वा र म) बालकृष्णको घरमा भेला भयौँ । आवश्यक औषधि, सुख्खा खाना, पानी झोलामा राख्यौँ । त्यसपछि बालकृष्णकी आमाले हामी सबैलाई टीका लगाई सगुन दिनुभयो र आशीर्वाद दिँदै भन्नुभयो, “ल राम्रोसँग गएर आऊ है ।”
आमाको आशीर्वाद लिई हामी भक्तपुरबाट नयाँ बसपार्क गयौँ । बसपार्क पुगेर टिकट काउन्टरमा गयौँ । बालकृष्णले सोधे, “बेँसी सहर जाने बसको टिकट दिनु न ।”
“बेँसी सहर जाने बस छैन । डुम्रेसम्म जानुस्, त्यहाँबाट बेँसी सहर जानुस् ।” काउन्टरका कर्मचारीले जवाफ दिए ।
दुई तीन ठाउँमा सोध्यौँ तर बस थिएन । अब के गर्ने ? बरु माइक्रोबस पाइन्छ कि हेरौँ न भनेर हामी बसपार्क बाहिर माइक्रोको टिकट काउन्टरमा गयौँ । धन्न माइक्रो चलेको रहेछ । त्यसपछि हामी ढुक्क भयौँ । माइक्रोको टिकट काट्यौँ । आ–आफ्नो सीटमा बस्यौँ । त्यसपछि बेँसी सहरसम्मको हाम्रो यात्रा सुरु भयो ।
नागढुङ्गा, मुग्लिङ हुँदै हरिया पहाडका देह चिरेर निर्माण गरिएको नागबेली राजमार्ग हुँदै यात्रा अगाडि बढ्यो । काठ्माडौँबाट गुडेको ६ घण्टापछि लमजुङको बेँसी सहर पुगियो । त्यहाँ पुग्नेबित्तिकै पानी पर्नथाल्यो । स्वागत गरेको हो कि खबरदारी गरेको हो बुझ्न सकिएन । कतै यसले हाम्रो यात्रामा अवरोध त पु¥याउने होइन ? पानीमै रुझ्दै बस्नको लागि होटल खोज्न थाल्यौँ । नजिकै रहेको होटल चौतारीमा कोठा रहेछ । त्यहीँ कुरा मिलायौँ ।
हामी एउटै कोठामा बस्यौँ । चारवटा बेड थिए । त्यसमै मिलाएर बस्यौँ । कोठा अलि दुर्गन्धित थियो, झ्याल थियो तर शिशा थिएन । पलङ पनि क्यार–क्यार कराउँथ्यो । तैपनि निद्रा प्यारो । मिलेरै ओछ्यान तताउन थाल्यौँ ।
२४ असोज २०७६
‘यो मनाङ हो…’
हामीभन्दा पहिला नै तिलिचो पुगेर आएका साथीहरूले खाङसार जाने गाडी ड्राइभरको मोबाइल नम्बर दिएर पठाएका थिए । बिहान बालकृष्णले त्यो नम्बरमा फोन गरे । ड्राइभर खाङसारबाट आउँदै गरेको जानकारी पायौँ । हामी ढुक्क भएर कुर्न थाल्यौँ । तर बेँसी सहर पुगेपछि ड्राइभरले भने, “जान्छु भनेर आएको थिएँ । तर साहुले पोखरामा बोलाएको हुनाले त्यहाँ नगई भएन ।”
“दाजु यत्रो बेर कु¥यौँ । सकिन्छ भने मिलाउनु न ।” हामीले भन्यौँ ।
“मिल्दैन । भए त म मिलाइहाल्थेँ नि ।” उनले जवाफ दिए ।
“तपार्इँले चिनेको अरु कसैलाई भनिदिनुस् न ।” हामीले अनुरोध ग¥यौँ ।
“हुन्छ, म साथीलाई खबर गरिदिन्छु ।” यति भनी उनी पोखरातिर हानिए । हामी भने अर्को गाडी कुर्न थाल्यौँ । बल्लतल्ल पौने दस बजे पछाडि टन्न सामान लोड गरेर एउटा मालबाहक बुलेरो आइपुग्यो । उसले गाडी रोकेर हामीलाई बोलायो । हामी नौजना थियौँ । तीनजना साथी पनि भेट भएकोले हामी थपिएका थियौँ । सातजना भित्र र दुईजना सामानसँगै बाहिर बसी हामी अगाडि बढ्यौँ । ठाउँ–ठाउँमा चेकिङ हुने ठाउँमा आइपुग्दा भने पछाडिका साथीहरू ओर्लेर हिँड्नुपथ्र्यो । बेँसी सहरबाट मस्र्याङ्दीसँगै कहिले कच्ची, कहिले पक्की, कहिले हिलाम्मे, कहिले धुलाम्मे त कहिले साँघुरो र डरलाग्दो बाटो हुँदै अगाडि बढ्यौँ । यात्रा जति रमाइलो थियो, गाडीभित्रको बसाइ भने त्यतिकै कष्टकर थियो । कोच्चिएर बसेको हुनाले यात्रा सुखद हुनसकेन ।
जाँदाजाँदै जब च्याम्चे पुगियो तब त्यहाँको सुन्दर बुङ छहरा देखेर मन हरर भयो । त्यसलाई देखेर जो कोहीको पनि मन लोभिन्छ ।
“आहा, क्या राम्रो झरना ।” हृदयले बोल्यो ।
“ल छहरा पनि हेर्नुस्, खाना पनि खानुस् ।” ड्राइभरले गाडी रोक्दै भने ।
क्या मनको बात । हामी हतार गर्दै ओर्लियौँ । एउटा सानो होटेल थियो । त्यही खाना तयार भइसकेको थियो । तर पेटको भोकभन्दा पनि आँखाको भोक चर्को थियो । त्यसैले पहिला आँखाको भोक मेटाउने काम ग¥यौँ ।
छहरा त्यतिकै सुन्दर वस्तु हो । त्यसमाथि घाम पर्दा इन्द्रेणी देखिएपछि त्यो झन कम्ती सुन्दर देखिँदैन । त्यो सुन्दरतालाई क्यामरामा कैद गरेँ । त्यसको वास्तविक सप्तरङ्गी मोहजाललाई आँखाको नानीमा सजाएँ । खाना खाँदै अझै त्यसको सुन्दरतालाई लुटिरहेँ । तर जति लुटे पनि कहिल्यै सकिएन । झन् सुन्दर, झन् आकर्षक देखियो ।
त्यसकै सुन्दरता स्मरण गर्दागर्दै हामी घोरेपानी पुग्यौँ । त्यसपछि हुम्दे हुँदै साँझ मनाङ पुग्यौँ ।
मनाङ पुगेपछि गाडीको सामान झा¥यो ।
“अँध्यारो भयो । अब गाडी खाङसार जाँदैन । आज यतै बसौँ, भोलि बिहान खाङसार पु¥याइदिउँला ।” ड्राइभरले भने ।
ठिक्कै छ भनेर हामीले होटल खोज्न थाल्यौँ । त्यहाँ झुप्प परेको यउटा बस्ती थियो । पाँचसातवटा होटल र पसलहरू पनि थिए । हामीले याक होटलमा ठाउँ पायौँ । बाहिर चिसो भए पनि होटलभित्र भने न्यानो नै थियो ।
होटलमा बेलुकाको खाना खायौँ । खाना खाएर आराम गरेर कोठामा आएँ । तर एकक्षणपछि बाहिर साथीहरूको आवाज सुनेर म पनि बाहिर निस्केँ । भएको के रहेछ भने ड्राइभरले आजै सबै भाडा मागेका रहेछन् ।
“आज दस हजारमात्र दिन्छु । बाँकी भोलि खाङसारमै दिउँला नि दाजु ।” बालकृष्णले भने ।
प्रतिव्यक्ति दुईहजारका दरले नौ जनाको अठार हजार रुपैयाँ भएको थियो । हामी गन्तव्यमा पुगिसकेका छैनौँ । आजै सबै पैसा दियो भने भोलि उनी नजान पनि सक्छन् नि ।
तर उनले मान्दै मानेनन् र रिसाएर धम्क्याए, “मलाई अहिले नै सबै चाहिन्छ । यो तपार्इँहरूको काठमाडौँजस्तो होइन । यो मनाङ हो । अहिले जे पनि हुनसक्छ ।”
त्यसपछि उनले आफ्ना साथीहरूलाई फोन गर्न थाले, “सुन न यहाँ मेरो भाडा दिएन । भाडा दिन्न भन्छन् । त्यसैले आउनुप¥यो ।”
हामीले उनलाई सम्झाउने प्रयास ग¥यौँ । हामी पनि घुम्नलाई भनेर आएका हौँ । पैसा धेरै भएर आएका होइनौँ । तपार्इँको पैसा खाएर कहाँ नै जान्छौँ र ? तपार्इँको लाग्ने भाडा त दिने भनेकै छौँ । त्यसैले अहिले दस हजार राख्नुस् । बाँकी खाङसार पुगेपछि दिइहाल्छौँ ।” बालकृष्णले भने ।
तर उनी मानेनन् र भने, “आजै सबै भाडा दिनुस् । भोलि म बिहानै खाङसार पु¥याइदिइहाल्छु  ।”
बिहान यात्रा गरुञ्जेल त्यो ड्राइभरसँग रमाइलो गरी आयौँ । होटलमा खाना खाँदा पनि आफैले खाना थप्न ल्याए । तर अहिले अचानक उनको अर्कोरूप देखेर अचम्म लाग्यो । सँगै रहेका त्यही होटलमा बस्न आएका पथप्रदर्शक र होटलका कर्मचारीले पनि उनलाई सम्झाउन खोजे । तर उनले मान्दै मानेनन् ।
“त्यस्तो विश्वासघात त गर्दैन होला । सबै पैसा दिनुस् । भोलि खाङसार पु¥याइदिनुहुन्छ ।” होटलका कर्मचारीले भने । हामीले के गर्ने भनेर सल्लाह ग¥यौँ ।
“दिऔँ न त । खाङसार पु¥याउनुहोला नि ।” मैले पनि भने । बालकृष्णले पैसा गनेर उनको सम्पूर्ण भाडा चुक्ता गरे ।
“भोलि बिहान ६ बजे पार्कमा आउनुस् ।” ड्राइभरले लिए र पैसा गन्दै भने । त्यसपछि उनी होटलबाट बाहिरिए । सायद यो होटलमा उनलाई पनि खान र बस्न दिन्छ भनेर आशा गरेका थिए । तर त्यो आशा निराशामा परिणत भयो । सायद त्यसैले पनि उनी क्रोधित भएका होलान् । उनी हिँडेपछि हामी पनि कोठाभित्र छि¥यौँ र भोलिको यात्रा कल्पँदै सपनाको सागरमा पौडिन थाल्यौँ ।
२५ असोज २०७६
शुभरात्री
सेतो हिमाल आँखै अगाडिजस्तो थियो । बिहानको झिसमिसेमा उज्यालो रङ नपाएर लुकेर बसेको हिमाल सूर्यको न्यानो स्पर्श पाएर खुल्दै र चम्कँदै थियो । होटलपारि हिमालको प्राकृतिक पेन्टिङले सजिएको मनाङ साँच्चै सुन्दर र अद्भूत थियो ।
बिहान ६ बजे नै पार्कमा बोलाएको हुनाले हामी छिट्टै तयार भई पार्कमा गयौँ । बुलेरोको ड्राइभर गाडी स्टार्ट गरेर बसेका थिए । हामी पुगेको एकक्षणपछि नै उनले चक्कानिरको स्प्रिङमा रहेको नट खोल्न थाले । नट खोलेपछि फेरि बन्द गर्न थाले । नट खोल्दै कस्दै गर्न थाले । केही बेरपछि उनले “गाडी जाँदैन । बिग्रेको छ ।” भन्न थाले । त्यसपछि उनले प्रतिव्यक्ति दुईसयका दरले अठारसय पैसा दिँदै भने, “अब हिँडेर जानुभए हुन्छ । एकदुई घण्टामै पुगिन्छ ।”
हामीले जे शङ्का गरेका थियौँ । आखिर त्यही भयो । उनले हामीलाई खाङसार पु¥याइदिएनन् र धोका दिए ।
अब कुरेर फाइदा छैन । अरु माथि जाने गाडी पनि थिएन । त्यसैले हामी खाङसारतिरको पाइला नाप्न थाल्यौँ । हामी गङ्गापूर्ण ताल हुँदै अगाडि बढ्यौँ । त्यहाँबाट सिधै माथि जान खोजेको बाटो नै थिएन । फेरि फर्केर आउनुभन्दा तारबार नै नाघेर झोलुङे पुलबाट फेरि वारि आइपुग्यौँ । बल्लतल्ल मनाङबाट सवा दुई घण्टा हिँडेपछि खाङसार पुग्यौँ । हामी त्यहाँबाट पनि अगाडि बढ्यौँ ।
त्यसपछिको बाटो भने कठिन थियो । डाँडाको उकालो चढाइले गा¥हो हुँदै आयो । बीचबीचमा भोकको क्षेत्रफल घटाउन पानी पिउँदै चाउचाउ खाँदै अगाडि बढ्यौँ ।
कहिले उकालो, कहिले ओरालो त कहिले तेर्सो बाटो हुँदै चट्टाने पहिरो पनि पार ग¥यौँ । दुई घण्टाको कठिन हिँडाइपछि तल्लो श्रीखर्क पुग्यौँ । त्यहाँ एउटा होटल थियो । तैपनि गन्तव्य पुग्नु थियो । त्यसैले अगाडि बढ्यौँ ।
उकालो, ओरालो तर भिरालो अनि माथिबाट स–साना ढुङ्गा खस्ने बाटो थियो । काँडाको पोथ्रा, साँघुरो र चिप्लो बाटो थियो । बाटो खतरापूर्ण थियो । माथिबाट स–साना ढुङ्गा खसिराखेको थियो । मुनि हेर्दा पनि नदीसम्म पुग्ने । चिप्लेर लड्ला भन्ने डरले सावधानीपूर्वक हिँड्यौँ । चिप्लियो भने त एकैचोटि नदीमै पुग्ने । तेर्सो बाटो आएपछि भने हल्का भयो । केही बेर हिँडेपछि तिलिचो आधार शिविर आइपुग्यो ।
दिउँसोको तीन बजिसकेको थियो । आधार शिविरमा दुईवटा होटल थिए । होटलका चार पाँचवटा भवन थिए । तर मान्छेको लर्को । कोही बाहिर जमिनमै पल्टिरहेका, कोही टेन्टमा बसिरहेका थिए । “ठाउँ पाउने हो कि होइन ?” मनमा चिन्ता प¥यो ।
होटलमा पुगी ब्याग भुइँमा राखेर आराम गर्नथाल्यौँ । बालकृष्ण कोठा सोध्न गए ।
“कोठा त प्याक भइसकेछ । डाइनिङ हलमा बस्ने भयौँ ।” एकक्षणपछि उनी आए र भने ।
त्यहाँ पुगेर त्यति पाउनु पनि भाग्य हो । पछि आउनेले त त्यो पनि पाउनेछैन । थकाइले गर्दा शरीरले आराम खोजिरहेको थियो, दिमागले शान्ति खोजिरहेको थियो । हातखुट्टा धोएँ । पानी हिउँजस्तै चिसो थियो । अनुहार त हल्का पुछेँमात्र ।
थकानले गर्दा निद्रा लागिसकेको थियो । तर सबैजनाले बेलुकाको खाना नखाइकन डाइनिङ हल खाली हुने कुरा भएन । हामी भने ओछ्यानमा जीउ बिसाउन आतुर थियौँ । सबैले खाइसकेपछि मात्र हल खाली भयो । त्यसपछि ओछ्यानहरू मिलाउन थाले, सिरक बाँड्न थाले । हल अलि ठूलो थियो । स्वदेशी र विदेशी, महिला र पुरुष गरी १३४ जना थियौँ । सबैजना त्यहीँ अटायौँ ।
पहिलोपल्ट एउटै कोठामा स्वदेशी र विदेशी, महिला र पुरुषसँगै सुतेका थियौँ । सबजना थाकेकाले ओछ्यानमा घुस्रने बित्तिकै निदाउन थाले । कोचाकोच भएकोले यता उता चल्न पनि अप्ठेरो थियो । खुट्टामा मालिस गरुँ भन्दाभन्दै अप्ठेरो भएकोले गर्न पाइएन । सबैले एक अर्कालाई शुभरात्री भने । राति ढिलासम्म जागा रहे भोलि बिहान गा¥हो हुन्छ । किनकि भोलि बिहान तीन बजे नै हिँड्नुपर्छ । त्यसैले शुभरात्री भन्दै आफ्नो ओछ्यान तताएँ । कोठाको बत्ती पनि निभाइयो । बाहिरबाट भने नदी सुसाएको आवाज आइरहेको थियो ।
२६ असोज २०७६
हिमालको काखमा सुन्दर तिलिचो
चिसो सिरेटो चलिरहेको थियो । रातको निस्तब्धतालाई चिर्दै मस्र्याङ्दी सुसाइरहेको थियो । छिप्पिसकेको रातको दसैँको मोहनीझैँ कालो रङमाथि बिहानीको उज्यालो रङ पोतिँदै थियो । उज्यालो रङ पाएर सेता हिमाल मुस्कुराउन खोज्दै थिए ।
हामी भने साढे तीन बजे नै तिलिचो यात्राका लागि तयार भयौँ । आवश्यक औषधि, सुख्खा खाना र पानीमात्र बोकी हामी अगाडि बढ्यौँ । बाहिर पुरै अँध्यारो थियो । टर्च बाली अगाडि बढ्यौँ । अगाडि र पछाडि तिलिचो पुग्नेको लर्को थियो । पिलपिल बत्ती बाल्दै लस्करै यात्रुहरू आनन्दको सपना चुम्न हिँडिरहेका थिए । त्यो मानव मसालको लर्को थियो । तिलिचो पुग्न आतुर आत्माहरूको लाम थियो ।
अँध्यारोमा बाटो कस्तो थियो त्यो पनि थाहा भएन । तर उकालो भने थियो । हामी सुस्तरी अगाडि बढ्यौँ । साढे ६ बजे बाइसघुम्ती पुग्यौँ । ओहो ¤ त्यो पहाडको काँध चढ्दै उक्लनुपर्ने २२ घुम्ती ¤ थकानले जित्दै आइरहेको थियो । तैपनि त्यसलाई हावी हुन दिइनँ । सुस्तरी अगाडि बढेँ । एउटा घुम्ती पार गर्दै, आराम गर्दै अगाडि बढेँ । कोही साथी अगाडि पुगिसकेका थिए, कोही सँगै थिए त कोही पछाडि थिए । उचाइको ठाउँ लेक लाग्ला भन्ने मनोवैज्ञानिक त्रास पनि थियो । त्यसैले लसुन चपाउँदै हिँडे । साथीहरूले भने कोक पिए ।
बाइसघुम्ती कटेपछि अलि तेर्सो बाटो आयो । त्यसलाई पार गरेपछि त सपनाको केन्द्रविन्दुमा पुगिहाल्यौँ नि । त्यसबेला घडीमा साढे सात बजेको थियो ।
“आहा ¤ क्या सुन्दर ।” ताल देखेर म मोहित भएँ । थकान पनि गायब भएझैँ भयो । तालका सौन्दर्य लुट्नेहरू फोटो खिचिरहेका थिए । त्यसमा पनि कोही राष्ट्रिय झन्डा बोकेर, कोही उफ्रेर, कोही जीउको बोक्रा छोडाएर । हिमालको काखैमा रहेको सुन्दर ताल अनि त्यहाँको नीलो पानीले जो कोहीलाई पनि मायाको पासोमा लपेट्थ्यो ।
तिलिचो ताल नेपाल चिनाउने सुन्दर आभूषणमध्येको एक हो । यसलाई संसारकै अग्लो स्थानमा रहेको तालको नामले पुकारिन्छ । यो समुद्री सतहबाट ४९१९ मिटरको उचाइमा रहेको छ । यसको लम्बाइ ३.९ किमि, चौडाइ १.६ किमि, गहिराइ ८५ मिटर र क्षेत्रफल ४.८ वर्ग किमि रहेको छ । तिली ताल रहेको ठाउँको नाम हो । मनाङेहरू ताललाई छो भन्छन् । यसरी तिलिछोको अप्रभंश भई तिलिचो रहन गएको हो । शिवले तपस्या गरेको र कागबेसिनी ऋषिले ज्ञान प्राप्त गरेको हुनाले यसको धार्मिक महŒव पनि उत्तिकै रहेको छ । यो ताल तिलिचो, नीलगिरी, मुक्तिनाथ र अन्नपूर्ण हिमश्रृङ्खलाको काखमा रहेको छ ।
तिलिचो सुन्दर छ । तर दायाँतिर नाङ्गो पहाडको सुख्खा पहिरोले ताल पुरिँदै थियो  । सुख्खा चट्टाने पहाडमा हिउँ थिएन । कतै यसरी नै पुरिँदै तालको अस्तित्व नामेट हुने त होइन ? ताल वरपर कुनै बस्ती थिएन । ताल नजिक एउटा सानो चियापसल छ । तर पनि यात्रुले ल्याएका सुख्खा खानाका प्याकेट, प्लाष्टिक, बोत्तल, चाउचाउका खोल आदि जथाभावी फ्याँक्दा ताल फोहोर हुँदै थियो । सुन्दर ताल हेर्न आउनेहरू स्वयं ताललाई कुरुप बनाउँदै छन् ।
ताललाई व्यवस्थित बनाई सुन्दरता कायम नराख्ने हो भने यसको आकर्षण घट्ने छ  । यो हाम्रो लागि विडम्बना सावित हुनेछ ।
धेरै बेर तालको सौन्दर्य लुटेँ, त्यसलाई कैद गरेँ, आँखामा सजाएँ । हिउँमा पाइलाका डोबहरू बनाएँ । सेता हिमालको सुन्दरतालाई अघाउञ्जेल हेरेँ । थकानलाई सुन्दर तालको गहिराइमा लुकाएँ । एघारबा¥ह बजेदेखि त चिसो हावा चल्दोरहेछ । मध्यान्ह बा¥ह बजे हामी त्यहाँबाट फर्कियौँ ।
बिहान जाँदा उकालो चढ्न कठिन भएको थियो, फर्कंदा भने ओरालो बाटो झन् झन् कठिन भयो । ढुङ्गे चट्टानको भीर, बाइसघुम्ती ओर्लंदा त खुट्टा नै लरखराउन थाल्यो । आधार शिविर पुग्दा पेटमा मुसाको लडाइँ चलिसकेको थियो । हामीलाई आजको गन्तव्यमा पुग्नु थियो । त्यसैले त्यहाँ खाना खाएनौँ । आफूसँग भएका चाउचाउ, बिस्कुट र चकलेट खान थाल्यो । मैले पनि चाउचाउ खाएँ, पानी पिएर त्यसलाई निलेँ र पेटभित्र कुदेका मुसा मार्न खोजेँ, भोकको क्षेत्रफल घटाउन खोजेँ ।
“हामी ठाउँ भए श्रीखर्क र नभए खाङसार पुग्नैपर्छ । त्यसैले यहाँ नबसौँ, हिडौँ ।” बालकृष्णले गन्तव्यमा अगाडि बढ्न प्रेरित गर्दै भने । समय अगाडि बढ्दै थियो । हामीले त्यसलाई पछ्याउन थाल्यौँ । पाइला नाप्दै गन्तव्यमा पुग्न हतारिएका थियौँ । तेर्सो बाटोलाई पछाडि पार्दै हामी अगाडि बढ्यौँ । साँझ पाँच बजे माथिल्लो श्रीखर्क पुग्यौँ । त्यहाँ एउटै होटल थियो । कोठा सोध्यौँ । तर थिएन । त्यसपछि फेरि तल्लो श्रीखर्कसम्म हिँड्यौँ ।
“साहुजी, कोठा छ ?” बालकृष्णले सोधे ।
“कोठा त बाँकी छैन । डाइनिङ हल बाँकी छ ।” साहुजीले जवाफ दिए ।
“के गर्ने त साथीहरू ?” हामीतिर फर्केर बालकृष्णले सोधे ।
“अब त्यसमै भए पनि बस्नुपर्ला ।” हामी त्यहीँ बस्यौँ । सबैलाई थकाइ लागेको थियो । खुट्टा पनि दुखेको थियो । एक दुईजनालाई त टाउको दुखेको थियो र चिसो पनि लागेको थियो । सके त खाङसार नै पुग्ने योजना थियो । तर त्यसलाई थाँती राखेर तल्लो श्रीखर्कमै बस्यौँ । सबैले खाना खाइनसकुञ्जेल कुरेर बस्यौँ । सबैले खाना खाइसकेपछि साहुजीले भने, “एक समूह केटीहरू बिरामी भएर आएका छन् । उनीहरूलाई डाइनिङ हलमा राख्यौँ । त्यसैले तपाइँहरू बाहिर टेन्टमा सुत्नुहोला ।”
“हामीलाई त झुक्यायो । त्यस्तो गर्न पाइन्छ ?” सबैले भने । तर के गर्नु विकल्प पनि त थिएन । हामी टेन्टमा नै सुत्न आयौँ । ओढ्ने, ओछ्याउने दिए । टेन्ट अलि ठूलै थियो । लगभग ३४ जनाजति थियौँ । कोच्चिएर सबैले त्यहीँ खुट्टा पसारे ।
बाहिरबाट चिसो पसिरहेको थियो । एक समूह केटाहरू भेज र ननभेज गफ गर्दै हाँस्दै थिए । उनीहरू निर्धक्क गफको पोको फुकाउँदै थिए । मलाई त असजिलो लागेको थियो । गुन्द्रुक खाँदेझैँ खाँदिएँ । थकानले गर्दा त्यो हलिखलीको मतलब पनि भएन । मलाई निद्रादेवीले बोलाउन थाली । म बालक बबुरोझैँ लाडप्यारले उनको न्यानो काखमा गुटमुटिएँ ।
२६ असोज २०७६
दुई घण्टे जाम
यात्रामा सँगै भेटेका भक्तपुरका तीनजना साथीहरू याकखर्क हुँदै थोराङलाको गन्तव्यतर्पm लागे ।
“शुभयात्रा ।” हामी सबैले उनीहरूलाई बिदाइको हात हल्लायौँ । हामी भने आधा घण्टा हिँडेपछि खाङसार आइपुग्यौँ । त्यहाँ बेँसी सहर फर्किन लागेको स्कोर्पियो जिप थियो । हामी त्यसमै बस्यौँ । अरु तीनजना चढेपछि गाडी गुड्न थाल्यो । म र बालकृष्ण अगाडि थियौँ । अरु साथीहरू पछाडि थिए ।
“यहाँ प्रायः कुन बेला मानिसहरू घुम्न आउँछन् ?” बालकृष्णले गुरुजीलाई सोधे ।
“असोज–कार्तिकमा पर्यटकहरू आउँछन् । वैशाख–जेठमा यहाँका मानिसहरू यार्सा टिप्न जान्छन् । अरुबेला त हिउँ पर्छ ।” गुरुजीले जवाफ दिए ।
सायद त्यही भएर होला सिजनमा सुत्ने बस्ने ठाउँ पनि पाइँदैन । तेर्सो कच्ची बाटोमा धुलो उडाउँदै हामी अगाडि बढ्यौँ । हिमालका सुन्दर प्राकृतिक क्यानभासले आँखालाई लोभ्याइरह्यो । हुम्दे हुँदै पौने एघार बजे भार्टाङ पुग्यौँ । त्यहाँ मनाङको स्याउ बिक्री केन्द्र थियो । सबैले कोसेली हुन्छ भनेर त्यहाँको स्याउ किने । मैले पनि हरियो र रातो गरी दुई किलो किनेँ ।
एघार बजे सदरमुकाम चामे पुग्यौँ । खाना खान त्यहीँ रोकियौँ । हिमालयन होटलमा खाना खायौँ । चामेको विपरित दिशामा लमजुङ हिमालमुनि कजिन सारा ताल रहेछ । जुन ताल भर्खरैमात्र पत्ता लागेको थियो । त्यो तिलिचोभन्दा अग्लो स्थानमा रहेछ ।
“यहाँबाट जान दुई दिन र फर्किन एकदिन लाग्छ ।” होटल बाहिर निस्केपछि एकजना पसले दिदीले भनिन् । एउटा समूह भर्खरै त्यहाँ गएर फर्केका थिए । उनीहरूसँग पनि बुझ्यौँ ।
“अर्को वर्ष जानुपर्ला कि के हो ?” मैले बालकृष्णलाई प्रस्ताव राखेँ ।
“जानुपर्ला ।” उनले जवाफ दिए ।
खाना खाएर हामी अगाडि बढ्यौँ । तिमाङ हुँदै किम्ची पुग्यौँ । तर त्यहाँ पुग्ने बित्तिकै बाटोमा गाडीको लस्कर देख्यौँ । ती सबै रोकिएका थिए । हाम्रो गाडी पनि रोकियो ।
“किन गाडी रोकिएको हो ?” गुरुजीले अगाडि आइरहेको बटुवालाई सोधे ।
“डोजरले माथि बाटो बनाइरहेको छ । त्यहाँबाट माटो खसेर थुप्रिएकोले बन्द भएको हो ।” उनले जवाफ दिए ।
अब कतिबेर कुर्नुपर्ने होला ? कुर्दाकुर्दै दिक्क लाग्न थाल्यो । कुर्नुभन्दा कष्टप्रद काम केही हुँदैन होला । दुईघण्टाको पर्खाइपछि बल्लतल्ल बाटो खुल्यो । त्यसपछि त गुरुजीले गाडी हुइँक्याउन थाले । बाटो कतै राम्रो थियो–पिच गरेको । त्यो पनि चीनले बनाइदिएको रहेछ । कतै बनिसकेको बाटो पनि पहिरोले बिगे्रको थियो ।
धारापानी, लमजुङको जगत, स्याङ, रामबजार हुँदै पौने ६ बजे खुदी आइपुग्यौँ । त्यहाँ मस्र्याङ्दी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा छि¥यौँ । झिलिमिली बत्ती बालिराखेको सुरुङ मार्ग छिर्दा रमाइलो लाग्यो । ६ बजे बेँसी सहर पुगी कोठा खोजेर आराम ग¥यौँ ।
“आज अन्तिम दिन रमाइलो गर्नुपर्छ है ।” बालकृष्णले प्रस्ताव राखे ।
सबैजना यसमा सहमत भयौँ । प्रतिव्यक्ति छुट्टै पाँचपाँच सय रुपैयाँ उठाई बियर, वाइन, कोक, लेज, कुरकुरे, माछा आदि किनेर ल्यायौँ ।
बेलुकाको खाना खाइसकेपछि कोठामा छि¥यौँ । त्यसपछि रमाइलो सुरु भयो । साथीहरूले वियर, वाइन खाए । मैले अलिकति वाइन चाखेँ । सिटन भने खाएँ । रात छिप्पिँदै थियो । बेँसी सहरले सपना देख्न थालिसकेको थियो । तर हामी भने रमाइलो गर्नमै मस्त थियौँ मध्यरातसम्म पनि ।
२७ असोज २०७६
आफ्नै गुँडमा
बिहान पाँच बजे नै उठेर नित्य कर्म गरेँ । साथीहरूले सपना देखिरहेका थिए ।
“ढिला भयो है, उठौँ साथीहरू ।” उनीहरूलाई उठाउँदै भनेँ ।
साथीहरूले ओछ्यान छाड्न थाले । सबैजना तयार भएपछि चिया खाएर हामी काठमाडौँ फर्कने गाडी खोज्न थाल्यौँ । एउटा बस आयो ।
“सीट छ ?” सोध्यौँ ।
“पछाडिमात्र बाँकी छ ।” सहचालकको जवाफ ।
“पछाडि त के बसौँ । बरु अरु नै खोजौँ ।” साथीहरूको प्रस्ताव ।
बसको सहचालकले बोलाउँदै थिए तर हामी अगाडि लम्कियौँ । माइक्रोबस खोज्न थाल्यौँ । एउटा काउन्टर भेटियो ।
“दाइ, काठमाडौँ जाने हो ?” बालकृष्णले सोधे ।
“छ, तर ६ सय रुपैयाँ लाग्छ ।” काउन्टरका कर्मचारीले भने ।
“किन महँगो दाइ ?” फेरि प्रश्न तेस्र्यायौँ ।
“उता जाने गाडी नै छैन । मन लागे चढ्ने हो, त्योभन्दा घट्दैन ।” कडा जवाफ आयो ।
भाडामा मनपरी छ । यातायातमा अझ सिन्डिकेट बाँकी थियो । काठमाडौँबाट जाँदा चारसय साठी रुपैयाँ तिरेका थियौँ । अब फर्कंदा भने ६ सय रुपैयाँ तिर्नुप¥यो ।
हामी अन्तिम सीटमा बस्यौँ । कोच्चिएर बस्यौँ । पौने नौ बजे बेँसी सहरबाट हिँडेका हामी एघार बजे चुम्लिङटार पुग्यौँ र त्यहीँ खाना खायौँ । गजुरी कटेपछि जाममा फस्यौँ । सडक कालोपत्रे गर्दै थियो । त्यसैले जाममा अलमलियौँ । काठमाडौँको सिमाना नागढुङ्गा चेकपोष्ट पुग्दा तीन बजिसकेको थियो । सुन्दर, मनमोहक, शान्त तिलिचोको अविष्मरणीय यात्रा सकाएर हामी उही आफ्नै कुरुप, कर्कश, प्रदूषित र अस्तव्यस्त बनाइएको काठमाडौँको गुँडमा आइपुग्यौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *