भर्खरै :

बोलिभियामा मोरालेसको समर्थनमा जनप्रदर्शन जारी

ला पाज, १२ नोभेम्बर (टेलिसुर÷अल जजिरा) सेना र प्रहरीको दबाबमा राजीनामा दिएका बोलिभियाका राष्ट्रपति ते मोरालेसको राजीनामा मान्दैनाँै भन्दै उनका समर्थक र विभिन्न सामाजिक आन्दोलन आबद्ध जनताले सत्ता विप्लवको विरोधमा प्रदर्शन जारी राखेका छन् ।
ला पाज प्रान्तको एल अल्टो सहरमा सोमबार हजारौँ जनता सडकमा निस्केर दक्षिणपन्थी सत्ता विप्लवको विरोध र नेता मोरालेसको समर्थन गर्दै विरोध जुलुस निकाले । उनीहरूले बहुराष्ट्रिय राज्य बोलिभियाको नयाँ प्रस्तावित झन्डा बोकेका थिए । प्रदर्शनकारीमाथि प्रहरीले हिंस्रक दमन गरेको छ । विभिन्न हतियार र रबरका गोली प्रयोग गरिएको छ ।
“नागरिक–प्रहरी भिडन्तमा सत्ता विप्लवको साथ दिएका प्रहरीले जनतामाथि रबरको गोली चलाएका छन् र त्यसबाट केहीको मृत्यु र दर्जनौँ घाइते भएका छन् ।”, टेलिसुरका बोलिभिया संवाददाताले भनेका छन् ।
एल अल्टोबाट विभिन्न सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोअनुसार दुईजना मानिस गोली लागेर गम्भीर घाइते भएकामा एक सानी किशोरी पनि छिन् ।
प्रदर्शनकारीहरूले मोरालेसविरुद्धको सत्ता विप्लवको साथ दिएकोमा प्रहरी र सेनाको नेतृत्वको पनि विरोध गरेका थिए ।
यसैबीच बोलिभियाली सेनाका प्रमुख विलियम्स क्यालीमानले राष्ट्रपति मोरालेसले निर्वाचनको विवाद हप्तौँसम्म समाधान गर्न नसकेकाले अहिलेको स्थिति आएको दाबी गर्दै देशमा शान्ति कायम गर्न प्रहरीसँगै सेनाले प्रदर्शनकारीविरुद्ध कारबाही गर्ने बताएका छन् ।
देशभर मोरालेस समर्थक जनता सङ्गठित भइरहेका र अर्काेतिर सेना, प्रहरी र दक्षिणपन्थी सशस्त्र जत्था रहेको अवस्थामा बोलिभिया गृहयुद्धतर्फ अघि बढ्ने भन्दै सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको छ ।
रुस, चीन, उरुग्वे र इक्वेडरद्वारा सत्ता विप्लवको विरोध
बोलिभियामा भएको पछिल्लो सत्ता परिवर्तनको विरोध गर्दै रुसले निर्वाचनमा व्यक्त जनमतमार्फत मात्र सत्ता परिवर्तन हुनुपर्ने बताएको छ ।
अप्रजातान्त्रिक तवरले सत्ता परिवर्तनको प्रवृत्ति कसैका लागि पनि हितकर नहुने रुसी विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
त्यस्तै जन गणतन्त्र चीनले पनि मेक्सिकोको पछिल्लो घटनाक्रम अनपेक्षित भएको बताउँदै शान्तिपूर्ण राजनीति र सबै राजनीतिक पक्षबीच समझदारी आवश्यक भएकोमा जोड दिएको छ ।
उरुग्वेका राष्ट्रपति ताबारे भास्क्वेजले बोलिभियामा भएको सत्ता विद्रोह ल्याटिन अमेरिकामा सैनिक तानाशाहीको भूत बाँकी रहेको प्रमाण हो भन्दै ते मोरालेसप्रति पूर्ण समर्थन रहेको उल्लेख गर्नुभएको छ ।
इक्वेडरका पूर्वराष्ट्रपति राफेल कोरेयाले बोलिभियामा भएको सत्ता विप्लवको निन्दा गर्दै देशको सेना र प्रहरी त्यसरी राजनीतिमा उत्रने कुरा संवैधानिक विधिको शासनमा हुन नसक्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *