भर्खरै :

भारतले नेपाली भूमि छोड्नुपर्छ

– मेरिना शाक्य
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो, नेपालकै हुनुपर्छ । कालापानी क्षेत्रभित्रका लिम्पियाधुरा कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरा भारतीय सरकारलाई पनि थाहा छ । भारतले ती ठाउँ अतिक्रमण गरेको या मिचेको हो । कुनै भूमि मिचेको आधारमा आफ्नो हुँदैन, आफ्नो बनाउनुहुँदैन । मिचेको नेपाली भूमि पचाउन भारतले नयाँ नक्सा बनाएको हो । भारत एकपछि अर्को नेपाली भूमि मिच्दै जाने तर नेपाल सरकार जति भूमि मिचे पनि चुप लागेर बस्ने ? यही हो नेपाल सरकारको कमजोरी । त्यही कमजोरीको फाइदा भारत सरकारले लिएको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले एकतर्फीरूपमा बनाएको नक्सा मान्य नहुने स्पष्ट पारिसकेका छन् । कालापानी क्षेत्र नेपालकै भूमि भएको राष्ट्रिय सहमति पनि बनिसकेको छ । आफ्नो भूमि भए पनि नेपाल सरकारको बेवास्ताको कारण नेपाली भूमिलाई भारतले विवादित क्षेत्र बनाएको हो । सरकारले समयमै आवाज उठाएको भए, भूमि मिचाहा देशलाई खबरदारी गरेको भए र ती क्षेत्रमा नेपालीहरूको उपस्थिति देखाइएको भए भारतले कुनै हालतमा नेपाली भूमि मिच्न पाउँदैनथ्यो । कालापानी क्षेत्र ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नेपालको हो भने भारतसँग किन वार्ता गर्नुप¥यो भन्ने एक थरीको मत छ । नेपालको भूमि नेपालको बनाउन भारतसँग कूटनीतिक पहल गर्नु आवश्यक छ र ! नेपाली भूमिमा भारतीय सेना र भारतीय क्याम्पहरू बनाउँदैमा के त्यो भूमि भारतको हुन्छ ?
नेपाली भूमि नमिचेको भारतको दाबी हो भने भारतीय सेना नेपाली भूमिबाट खेद्नुपर्छ, सैनिक क्याम्पका संरचनाहरू भत्काइनुपर्छ । राष्ट्रियता र सार्वभौमिकताको सवालमा नेपाल सरकार पछि हट्नु हुँदैन । नेपाललाई भारतले कहिल्यै स्वतन्त्र र सार्वभौम मुलुकको रूपमा हेरेको देखिंदैन । त्यही भएर भारतले नेपाल र नेपालीलाई हेपिरह्यो, पेलिरह्यो । भारतीय सरकारको नियत सफा देखिंदैन । नेपाली भूमि मिचेर भारतले नेपाली भूमिलाई विवादित बनाएको हुँदा सीमाविद् र राजनीतिक दलका नेताहरूले कूटनीतिक ढङ्गबाट समस्या समाधानको पहल गर्न आग्रह गर्नु स्वाभाविक हो । ‘विवादित’ बनाइएको क्षेत्रलाई शान्तिपूर्ण र समझदारीपूर्वक समाधान खोज्नु राम्रो उपाय पनि हो । नेपालको भूमि नेपालको बनाउन, नेपालको नक्सामा कोर्न किन अघि नसर्ने ? नेपालको भूमिलाई विवादित भूमि बनाउन पाउँदैन । भारतको भूमि त झनै भन्न पाउँदैन । कालापानी क्षेत्रको हस्तक्षेप भारतको गिद्धेदृष्टि हो । सरकार निर्बल भयो भनेर सार्वभौम देशमा हस्तक्षेप गर्न पाइँदैन । भारतले भूमि छोड्नुपर्छ, सैनिक क्याम्प हटाउनुपर्छ । नेपाल र भारतको सम्बन्धलाई बिगार्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *