भर्खरै :

मधुमेह लागेपछि जोगाउनुपर्ने भनेकै आँखा, मिर्गाैला, खुट्टा, नशा र मुटु हो

डा. दीपक मल्ल
बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी ह्वात्तै बढिरहेका छन् । मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो । नेपाली समाजमा यसलाई चिनी रोग भनेर चिनिन्छ । मानव शरीरमा चिनीको आवश्यकता हुन्छ । शरीरमा चिनी नहुने हो भने मानिस बाँच्न सक्दैन । तर, जब शरीरमा चिनीको मात्रा बढ्छ त्यसले भने असर देखाउन थाल्छ ।
चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अङ्गलाई असर गर्न थाल्छ । शरीरमा भएको चिनीको मात्रा जसलाई ग्लुकोज भनिन्छ । मानिसले जुनसुकै खाना खाइसकेपछि शरीरमा ग्लुकोजको रूपमा प्रवेश गर्छ र त्यसबाट कोष सञ्चालन गर्ने शक्ति आउँछ । चिनीबाट कार्बाेहाइटेड र इनर्जी पाइन्छ । त्यसलाई प्रयोग गराउने भनेको इन्सुलेनले हो । त्यो भनेको हाम्रो पेटको भागमा रहेको प्यानक्रियाज ग्रन्थीले उत्पादन गर्ने हर्मोन हो । इन्सुलिनको काम भनेको शरीरमा बनेको ग्लुकोजलाई शरीरका विभिन्न कोषहरूमा लगेर प्रयोगमा ल्याउने हो ।
जब शरीरमा इन्सुलिन बन्दै बनेन भने त्यसलाई ‘टाइप वान मधुमेह’ भनिन्छ । प्रकार १ मा इन्सुलिनको मात्रा शून्य हुन्छ । बाँच्नको लागि इन्सुलिन नै चाहिन्छ । यो समस्या बच्चामा बढी देखिन्छ । शरीरमा इन्सुलिन छ तर पर्याप्त मात्रामा उत्पादन गरेन अथवा शरीरले भएको इन्सुलिनलाई राम्रोसँग प्रयोगमा ल्याउन सकेन भने त्यो ‘टाइप टु’ मधुमेह हो । यो समस्या विगतमा ५० वर्ष माथिकालाई देखिन्थ्यो । तर पछिल्लो समय अस्वस्थ जीवनशैलीका कारण ३० वर्ष र त्यो भन्दा कम उमेरमा पनि देखिन थालेको छ ।
युवा उमेरमा मधुमेह देखिने क्रम बढ्नुको प्रमुख कारण अव्यवस्थित जीवनशैली हो । खेलकुदमा व्यस्त हुनुपर्ने बेलामा मोबाइलमा व्यस्त हुँदा बालबालिकामा पनि यो प्रकारको मधुमेह बढ्दै गएको छ ।
अर्को भनेको गर्भवती अवस्थामा पनि मधुमेह हुन्छ । गर्भवती हुनुभन्दा पहिला मधुमेह नभएको र गर्भवती भएको २४ हप्तादेखि २८ हप्ताको बीचमा रगत परीक्षण गर्दा मधुमेह देखियो भने त्यसलाई गर्भवती अवस्थामा देखिने मधुमेह भनिन्छ । चिकित्सकीय भाषामा यसलाई जेसटेसनल मधुमेह भनिन्छ । गर्भवती समयमा मधुमेह भएको खण्डमा आमा, शिशु दुवैमा समस्या आउँछ । शिशु जन्मेपछि पनि भविष्यमा आमा र शिशु दुवैलाई मधुमेह हुने सम्भावना हुन्छ ।
डेलिभरीपछि यो समस्या हराउँछ तर बेलैमा नियन्त्रण गरिएन भने पछि त्यो प्रकार २ को मधुमेहमा परिवर्तन हुनसक्छ । डेलिभरीपछि मेरो सुगर हरायो भनेर ढुक्क बस्नुहुँदैन । अस्वस्थ जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्छ । संसारमा प्रत्येक ६ जना महिलामध्ये १ जनालाई यो भएको पाइएको छ ।
सामान्यतया खाली पेटमा ग्लुकोजको मात्रा १२० भन्दा कम र खाना खाएपछि १८० भन्दा कम भएको मधुमेहलाई सामान्य मानिन्छ । ‘टाइप वान’ मधुमेह छ भने त्यसको उपचार विधि इन्सुलिन हो । ‘टाइप टु’ मधुमेहमा पनि दुई–तीन वटा औषधि चलाउँदा मधुमेह अनकन्ट्रोल भएको अवस्थामा सक्दो छिटो इन्सुलिन प्रयोग गर्नुपर्छ ।
नेपालमा मधुमेहका बिरामी कति छन् भन्ने तथ्याङ्क छैन । तर, एउटा अन्तर्राष्ट्रिय डाइबिटिज फेडरेसनले हरेक वर्ष तथ्याङ्क निकाल्दा सन् २०१७ र २०१८ मा हाम्रो ४ प्रतिशत जनसङ्ख्यामा मधुमेह देखाएको छ । सन् २०१६ मा ३.३ प्रतिशतमात्रै थियो । अहिले आएर लगभग वर्षमा १ प्रतिशत नै बढेको देखिन्छ । यो तथ्याङ्कले पनि बढ्ने क्रम धेरै भएको देखाउँछ । हामीले आफ्नो अभ्यासमा पनि पहिलाको भन्दा अहिले धेरै नै अन्तर पाइरहेका छौँ। हरेक दिन, हरेक वर्ष मधुमेह बिरामीको सङ्ख्या एकदमै बढ्दो छ ।
लक्षण
– थकाइ लाग्ने
– आलस्य हुने
– जाँगर नचल्ने,
– पिसाब लाग्ने
– मुख सुख्खा हुने
– खाना बढी रुचि हुने
– खुट्टा पोल्ने
– खुट्टा झमझमाउने
– आँखा धमिलो हुने
– कुनै पनि घाउ निको हुन गाह्रो हुने
– पिसाब फेरेको ठाउमा कमिला लाग्ने आदि ।
मुख सुक्यो, राति सुतेको बेलामा धेरै पानी तिर्खा लाग्यो, धेरै भोक लाग्यो, धेरै पिसाब लाग्यो भने मधुमेह हुनसक्छ भन्ने कुरा धेरैलाई थाहा छ । तर, आधा जनसङ्ख्यालाई मधुमेह भनेको के हो भन्ने कुरा नै थाहा छैन । पिसाब धेरै लाग्नु, पानी तिर्खा धेरै लाग्नु र ज्यादा भोक लाग्नु । मधुमेह लागेको व्यक्ति छोटो समयमा धेरै दुब्लाउँछ । यी ३ वटा प्रमुख लक्षण हुन् । जसलाई अङ्ग्रेजीमा ‘थ्रिपी’ भनिन्छ । तर, हामीले जे भन्यो त्यही कुरा बिरामीमा नआउन पनि सक्छ । नेपालको अवस्थाको कुरा गर्ने हो भने पहाडी क्षेत्रका नागरिक आउन–जान एकदमै गाह्रो हुने अवस्था छ । सहरमा भएका बिरामीहरू केही न केही लक्षण लिएर अस्पताल आउनुहुन्छ । सुरुमै आँखाको ज्योति जानु, मिर्गाैला खराब हुनु, खुट्टाको नशा सुकिसकेको र खुट्टामा घाउ भएको अवस्थामा बल्ल अस्पताल आउने बिरामी पनि छन् ।
त्यसैले मधुमेहको लक्षण यो नै हुन्छ भन्ने चाहिँ हुँदैन । तर, सबैभन्दा ठूलो कुरा यसमा आफ्नो परिवारमा कसैलाई मधुमेह भएको छ भने अन्य सदस्यले मलाई पनि यो रोग लाग्नसक्छ है भन्ने जानकारी हुनुप¥यो । लाग्नैपर्छ भन्ने कुरा पनि होइन । दुई, तीन जनामा एक जनामा लाग्न सक्छ । कसैको परिवारमा मधुमेहको बिरामी छ भने आफू पनि सचेत हुनु, समय–समयमा स्वास्थ्य परीक्षण गर्नु नै उत्तम उपाय हो । ४०–४५ वर्ष लागेपछि मधुमेहको परीक्षण गर्नैपर्छ । अथवा जो मोटो छ, उचाइअनुसारको तौल धेरै भयो, बीएमआई ३० भन्दा पनि धेरै भयो, परिवारमा कसैलाई मधुमेह छ, ब्लड प्रेसर, कोलेस्टेरोल छ भने त्यस्ता व्यक्तिले ३०–३५ वर्षको उमेरमा पनि मधुमेहको परीक्षण गर्नुपर्छ ।
मधुमेह लागेको बिरामीको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको नियमअनुसार खानपान, सुत्ने, हिँड्ने गर्नुप¥यो । मानसिक तनाव एकदमै कम गर्नुपर्छ । तपाईं निदाएरमात्रै हुँदैन सुत्नु नै पर्छ । निदाएको छ तर धेरै तनाव लिएर सुत्नुभयो भने अरू हर्माेनको कारणले गर्दा सुगर बिहान उठ्दा हाई हुनसक्छ । समय मिल्छ भने आफ्नो परिवारसँग रमाइलो गर्ने, घुम्न जाने, गीत सुन्ने, नाच्ने गर्ने हो भने शरीरको लागि व्यायाम पनि भयो र मानसिक तनाव पनि कम हुन्छ ।
दोस्रो कुरा चिकित्सकले दिएको औषधि तोकिएको समयमा नियमित खानुप¥यो । दुई पटक खाने औषधि छ, एक पटक मात्रै खानुभयो भने काम गर्दैन । मधुमेहको औषधि धेरै छन् । कोही खाना अगाडि, कोही खाना पछाडि खाने छ भने कोही औषधि खानाको पहिलो गाँसमै त कोही खानाको बीचमा खानुपर्ने छ । चिकित्सकले मात्रै लेखेर भएन, बिरामीले पनि राम्रोसँग आफ्नो औषधिको बारेमा बुझ्नुप¥यो । बिरामीले कुन औषधि कतिखेर र कसरी खाने भन्नेबारेमा लेखेर राख्नुप¥यो । चिकित्सकसँग खासै नबुझ्ने अनि औषधि लिएर घर गएपछि औषधि कसरी खाने भन्ने बारेमा पनि अन्योल हुने गरेका छन् । अनि आफ्नै गाउँमा गएर अन्य मधुमेह रोगीहरूलाई सोध्छन् । मैले त खानापछि खाएको छु भन्ने जवाफ खानाअघि खानुपर्ने औषधिमा खाइयो भने त्यो औषधिले राम्रो काम गर्दैन ।
सबै औषधिको फरक–फरक बाटो हुन्छ । एउटा बाटोमा जाने औषधि अर्काे बाटोमा गयो भने काम लाग्दैन । मधुमेहको औषधि मुटु, क्यान्सरको लागि काम गरिरहेको हुन्छ भने कतिपय औषधिले मोटोपन घटाइरहेको हुन्छ । त्यसैले औषधि रोक्नुभन्दा पनि सानो डोजमा औषधि निरन्तर खाइरहेको राम्रो हो । एकै पटक औषधि बन्द गर्नको लागि बिरामी चिकित्सकको सम्पर्कमा हुनुप¥यो । हरेक महिना स्वास्थ्य परीक्षणमा आउँछु भन्नुप¥यो । साथै मधुमेहका मानसिक तनाव नलिने, समयमा उठ्ने, समयमा औषधि र खाने कुरा खाने आफ्नो काम गर्ने होल डेको प्लान बिरामीले बनाउनुपर्छ । मधुमेह भएको बिरामीले एकै पटक धेरै खाने होइन । थोरै–थोरै धेरै पटक खाने बानी बसाल्नुपर्छ । दिनमा ६ पटक खान मेरो सुझाव छ ।
मधुमेह भन्दैमा बिरामीले दौडधुप नै गर्नुपर्छ, नखाई बस्नुपर्छ भन्ने होइन । बिरामीले अरुले जसरी नै खाने हो । अरूले सबै कुरा खाएको छ, मधुमेह बिरामीले पनि खानुपर्छ तर अरुले जसरी खानु चाहिँ भएन । तर जुन दिन अलि धेरै अथवा एक्स्ट्रा क्यालोरी खाइन्छ त्यो दिन बिरामी एक्स्ट्रा हिँड्नुपर्छ । उपचारको क्रममा औषधिमात्रै सबैभन्दा ठूलो कुरा होइन । बिरामीले हिँड्ने, डुल्ने बसिराख्ने काम नगर्ने, ९० मिनेट बस्नु भएको छ भने १५ मिनेट हिँड्ने । दैनिक हिँड्नुपर्छ भन्ने पनि होइन, दिनमा ४५ मिनेट, हप्तामा ३ दिन हिँड्नुभयो भने पनि मधुमेह औषधिको साथसाथै कम पनि भएर जान्छ ।
खानामा कार्बाेहाइड्रेड, प्रोटिन, फ्याट पनि चाहिन्छ । हामीले कम गर्ने हो भने कार्बाेहाइड्रेडको मात्रा हो । चामल, रोटी अर्थात् अन्नहरू कम गर्नुपर्छ । तर बिरामीलाई यो पनि नखा, त्यो पनि नखा भनेर मानसिक तनाव दिनु हुँदैन । कुनै पनि भोजमा जाँदा खानै पाएन भने मानसिक तनाव हुन्छ । खाने तर धेरै खानु भएन । जस्तै जेरी, स्वारी, लड्डु एकै पटक खानु भएन ।
मधुमेहको उपचार भनेको सबैभन्दा पहिलो कुरा मानसिक तनाव कम, खानपानमा ध्यान दिने अनि बल्ल औषधिमा आउने हो । नेपालीहरूमा मधुमेह अहिले युवा उमेरमा पनि देखापर्न थालेको छ । विशेषगरी विदेशबाट फर्केर आउने धेरैलाई देखापर्न थालेको छ । विदेश जानुभन्दा पहिला स्वास्थ्य अवस्था राम्रो भए पनि पछि समस्या आउने र विदेशबाट आउनेहरूमा जोखिम पनि धेरै छ । विदेशबाट आउनेमा मिर्गाैला फेल भएको, आँखा, नशा र मुटुमा पनि समस्या भएका व्यक्तिहरू पनि धेरै छन् ।
मधुमेह रोग लागेका बिरामीमा आँखा, मुटु, मिर्गाैला, खुट्टा र नशा यी ५ अङ्गमा विस्तारै–विस्तारै समस्या ल्याउँछ । त्यसकारण यो रऊल लागिसकेपछि यी कुरामा विशेष ध्यान दिन जरुरी छ । टाइप वान मधुमेहले यो रोग लागेको ५–१० वर्ष पछाडि यस्ता समस्या ल्याउन सक्छ भने टाइप टु मधुमेहले भने सुरुमा पनि यस्ता समस्याहरू लिएर आउँछन् । मसँग बिरामी १० वर्षपछि आउँदा पनि उसको आँखा, मिर्गाैला राम्रो हुनुप¥यो र ऊ आफ्नै खुट्टाले टेकेर आउन सक्नुप¥यो । अस्पतालमा आउँदा अन्धो भएर, मिर्गाैला नै फेरेर आउने अथवा खुट्टै काटेको अवस्थामा आयो भने कि चिकित्सकले राम्रोसँग उपचार गरेन कि त बिरामी आफैंले आफ्नो स्वास्थ्यको बारेमा ध्यान दिएन भन्ने कुरा बुझ्नुप¥यो । त्यसैले हामीले जोगाउनुपर्ने भनेकै आँखा, मिर्गाैला, खुट्टा, नशा र मुटु हो । यो कुरामा धेरैले ध्यान दिएको हुँदैन । अब चेतनाका कार्यक्रम विस्तार गर्दै यी कुरामा ख्याल गर्ने सन्देश फैलाउन जरुरी छ ।
मुख्यतः हरेक मानिसले आफूलाई समस्या नभए पनि वर्षमा एक पटक शरीरको जाँच गराउनुपर्छ । जसलाई मधुमेह छ उनीहरूले एचबीएवनसी टेस्ट कम्तीमा ६ महिनामा एकचोटि गराउनुपर्छ र त्यसको लेभल ७ प्रतिशतभन्दा मुनि राख्न सक्नुपर्छ ।
स्रोतः स्वास्थ्य खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *