तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २९ कार्तिक । नेपाल कर्मचारी समाज केन्द्रीय समितिको आयोजनामा १०२ औँ अक्टोबर क्रान्ति दिवसको अवसर र समसामयिक विषयमा जानकारी दिने उद्देश्यले शुक्रबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देशको भूमि अतिक्रमण हुँदा बेवास्ता गर्ने र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दिन नमान्ने सरकारमा गएका पार्टीका प्रधानमन्त्री र मन्त्रीहरू नै दोषी रहेको बताउनुभयो ।
“राजनीतिमा लागेकाहरू व्यक्तिगत अलमलमा पर्नुहुँदैन । देश र जनताको पक्षमा समर्पित हुनुपर्छ”, अध्यक्ष रोहितले भन्नुभयो ।
कालापानी क्षेत्रमा भारतीय सेना पसेकोमा सरकारहरू दोषी रहेको चर्चा गर्दै अध्यक्ष रोहितले कूटनीतिक ढङ्गले यो समस्या समाधान गर्न भारत तयार हुनेछैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “बेलायती भारतको शासनमा म्याकमोहन भन्ने नापी कर्मचारीले चीनतर्फको सीमा रेखा कोरेको नक्सालाई चीनले स्वीकार गरेको छैन । भारतले कोरेको नेपाल–भारत सीमा नक्सा पनि नेपालले स्वीकार गर्नुहुँदैन । नेपालको एउटा कर्मचारीले सही गरे नेपाल हार्ने स्थिति हुन्छ । यसतर्फ सरकार सचेत हुनु आवश्यक छ । तर, सचेत भएको छैन ।”
अक्टोबर क्रान्तिपछि सोभियत रूसमा मजदुर–किसानहरूको जीवनमा क्रान्तिकारी परिवर्तन भएको उल्लेख गर्दै अध्यक्ष रोहितले जनताको ताकत नै सबैभन्दा बलियो हतियार हुने बताउनुभयो ।
“शिक्षक–कर्मचारीहरूले अध्ययनलाई जोड दिई नियमित अन्तरक्रिया गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले सन् १८९७ को जनगणनाअनुसार रूसमा नौ वर्षमाथिका मानिस ७६ अशिक्षित रहेको, रूसका ४० जातिको लिखित भाषा नभएको र कामदार वर्गका पाँच खण्डको चार खण्ड केटाकेटी विद्यालय जान वञ्चित रहेको स्थिति थियो भन्नुभयो ।
सन् १९१३ मा लेनिनले रूसमा भन्दा बढी दुःख पाएको अर्को मुलुक नभएको र शिक्षा, बिजुली र ज्ञानमा रूसी जनता युरोपमै पछाडि रहेको उल्लेख गरी लेखेको जानकारी गराउँदै सचिव सुवालले अक्टोबर क्रान्तिले रूसको राजनीतिक र आर्थिक क्षेत्रको साथै सांस्कृतिक क्षेत्रमा क्रान्ति ल्याउनुको साथै पहिलोपटक सोभियत सत्ताले शिक्षा, विज्ञान र संस्कृतिमा सबै जनतालाई ठाउँ दिने लक्ष्य निर्धारण गरेको बताउनुभयो ।
“पहिले मानव मस्तिष्कको सिर्जना केही मानिसको फाइदाको निम्ति थियो, अहिले सबैको निम्ति हो” भन्ने भनाइ सन् १९१८ मा विश्व सर्वहारा वर्गका नेता लेनिनले व्यक्त गर्नुभएको चर्चा गर्दै उहाँले अशिक्षित देशमा कम्युनिस्ट समाज अगाडि बढाउन सम्भव नहुने लेनिनको भनाइबारे स्पष्ट पार्नुभयो ।
अक्टोबर क्रान्तिको सफलतापछि भएका परिवर्तनबारे जानकारी गराउँदै उहाँले भन्नुभयो, “सन् १९२३ मा साक्षरता अभियान सञ्चालन गर्न रूसमा स्वयम्सेवी दल गठन भयो । यसमा ५० लाख सदस्य भए । युवा कम्युनिस्ट लिगका सदस्यहरू पनि साक्षरता अभियानमा गाउँ–गाउँ पुगे । सन् १९२९ देखि १९३९ सम्ममा ८ करोड ७० लाख रूसी निरक्षर जनता साक्षर भए ।”
अक्टोबर क्रान्तिपछि पुनरूत्थानवादी (राजावादी र पुँजीवादी) विरूद्ध सङ्घर्ष अर्थात गृहयुद्धमा पनि रूसी विद्यालयहरू चालू रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सन् १९९१ मा नेतृत्व संशोधनवादी भएकोले सोभियत सङ्घ विघटन भयो । देश पन्ध्र टुक्रामा विभाजन भयो । बालबालिका, महिला र ज्येष्ठ नागरिकहरूको अधिकार स्थापित भएन ।”
“नयाँ पुस्तालाई पथभ्रष्ट बनाइएकोले पनि सोभियत सङ्घ विघटनमा सजिलो भयो । नेपालमा पनि ७०–८० लाख युवालाई वैदेशिक रोजगारीमा पठाइँदै छ । यसकारण नेपालको विकास पछि परेको र जनताले दुःख पाएका छन्, सचिव सुवालले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष गौतमप्रसाद लासिवाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अर्थशास्त्र अध्ययन समाज नेपालका अध्यक्ष मुरज दिदियाले अक्टोबर क्रान्तिबारे प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल कर्मचारी समाजका कोषाध्यक्ष काजीबहादुर पञ्च, प्रभात इङ्गलिश स्कूलका प्रिन्सिपल कृष्णबहादुर प्रजापति र आयोजक समाजका सचिव शिवराम धुख्वाले बोल्नुभएको थियो ।
Leave a Reply