भर्खरै :

सीमा अतिक्रमणविरुद्ध टोखामा विरोध जुलुस

काठमाडौँ, ३० कार्तिक । नेपाली भूमि लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई भारतीय विस्तारवादले आफ्नो राजनीतिक नक्सामा गाभेको विरोधमा नेपाल मजदुर किसान पार्टीले विभिन्न जिल्लाका नगर र गाउँहरूमा विरोधसभा एवम् आयोजना गरी जनतालाई सचेत पार्दै आइरहेको छ ।
यसैक्रममा नेमकिपा टोखा नगर समितिले शनिबार विरोध ¥याली एवम् सभा गरी भारतीय एकाधिकार पुँजीको विरोध ग¥यो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सभासद् सुरेन्द्रराज गोसाईले देशको सम्प्रभुतामा सङ्कट आउनुमा भारतीय विस्तारवाद, एकाधिकार पुँजी र भारतीय विस्तारवादको भक्तिगान गाउने तथा दलाली गर्ने नेपाली शासक पार्टीहरू नै जिम्मेवार छन् भन्नुभयो ।
भारतीय विस्तारवादविरूद्ध नेमकिपाले ५० वर्ष अगाडिदेखि सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै सांसद गोसाईले भन्नुभयो, “देश जोगाउने हो भने हिजोभन्दा आज चर्को स्वरमा भारतीय विस्तावाद र एकाधिकार पुँजीविरूद्ध लड्न सक्नुपर्छ, अन्यथा देश जोगाउन गा¥हो हुनेछ ।”
सांसद गोसाईले भन्नुभयो, “ओली र दाहालको सरकारले सिंहदरबार, बालुवाटार र शीतलनिवासमा बसी मोजमस्ती गर्ने होइन, दाहाल–ओली सरकारको कर्तव्य सीमाको रक्षा गर्ने हो, देशको भूभागको रक्षा गर्ने हो । देशको सम्प्रभुता रक्षा गर्ने तागत छैन भने ओली–दाहाल सरकारले घोषणा गर्नुपर्छ – हामीलाई दुईतिहाइको बहुमत दिल्ली सरकारको दिएको बक्सिस हो, दिल्ली सरकारले दिएको आदेशले प्राप्त भएको हो, नेपाली जनताले दिएको होइन । त्यसकारण हामी दिल्लीको सेवा गर्छौैँ ।”
“लिम्पियाधुरा क्षेत्रको नेपाली भूमि भारतले आफ्नो राजनीतिक नक्सामा गाभेको स्वीकार्य छैन । नेपालको सम्प्रभुतामाथि हस्तक्षेप गर्ने भारतीय विस्तारवादले जबसम्म घुँडा टेक्दैन तबसम्म देश बचाउनको लागि देशभक्त नेपाली जनताले लडिरहने छन् । ओली–दाहालले भारतसामु आत्मसमर्पण गरे पनि नेपाली जनताले गर्ने छैनन्”, सांसद गोसाईले भन्नुभयो ।
देशको सीमा मिच्दा पनि नबोल्ने पार्टी देशभक्ति पार्टी हुनेछैन, नेपाली जनताको पार्टी हुनेछैन । तिनीहरू भारतीय विस्तावादको दलाली गर्ने पार्टी हो, देशद्रोही पार्टी हो ”, उहाँले भन्नुभयो ।
छिमेकी देशको सिमाना मिच्ने र छिमेकी देशमा हस्तक्षेप गर्नेहरू कहिल्यै मित्र देश हुन नसक्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, जबसम्म भारतीय विस्तारवाद र एकाधिकार पुँजीले नेपालमा हस्तक्षेप गर्छ तबसम्म भारत नेपालको मित्र देश हुनसक्दैन ।”
भारतीय विस्तारवादको इतिहास हारेको इतिहास भएको चर्चा गर्दै उहाँले स्पष्ट गर्नुभयो, सन् १९६२ को भारत–चीनको युद्धमा भारतको हार संसारको सबभन्दा नराम्रो हारहरूमध्येमा पर्छ । मोदीको फासीवादी नीतिविरूद्ध दक्षिण एसियाली जनता सुझबुझका साथ अगाडि बढ्दै छन् ।
उहाँले भन्नुभयो, संरा अमेरिका एसियामा युद्ध थोपरी तेस्रो विश्व युद्ध एसियामा होस् भन्ने चाहन्छ । भारतले संरा अमेरिकी साम्राज्यवादलाई सहयोग गरिरहेको छ । एसियाली जनता भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरूद्ध एकजुट हुनुपर्छ ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले भारतीय विस्तारवादको विरोध गर्न नसके नेपाल नरहने स्थितिमा रहेकोले नेमकिपाले भारतीय विस्तारवादविरूद्ध जनचेतना जगाउन देशका विभिन्न जिल्लाका नगर–गाउँहरूमा सभा–जुलुस गरी जनतालाई सचेत पार्ने काम गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशमा अहिले पुँजीवादी गणतन्त्र छ । पुँजीवादी गणतन्त्रले कामदार जनताको हित नगर्ने हुँदा नेमकिपा समाजवादी गणतन्त्र स्थापनाको लागि सङ्घर्षरत छ ।”
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले जनतालाई जागरण गर्ने उद्देश्यले नेमकिपाले विभिन्न कार्यक्रमहरू गर्दै आएको उल्लेख गर्दै भारतीय विस्तारवादको सशक्त ढङ्गमा विरोध गर्न नसके नेपाल सिक्किम र भुटानको स्थितिमा पुग्ने निश्चित छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष रवीन्द्र डंगोलको सभापतित्वमा भएको कार्यक्रममा राजवीर डंगोल, वीरबहादुर डंगोल, शैलेश डंगोललगायतले बोल्नुभएको थियो ।
सभाअघि निकालिएको विरोध जुलुसले टोखा नगर परिक्रमा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *