भर्खरै :

“देश नरहे हाम्रो शिक्षा र सम्पन्नताको अर्थ हुँदैन”

भक्तपुर, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विदेशमा सम्पत्ति राखे नाफा सबै विदेशमा जाने बताउनुभएको छ ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २५ औँ वार्षिक साधारणसभाको अवसरमा क्षेत्र नं. ५ र ६ को संयुक्त क्षेत्रमा आयोजित उक्त सभामा अध्यक्ष रोहितले नेपाली भूमि मिचे पनि सरकार मूकदर्शक भइरहेकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “देश भारतले लिएमा हामी शिक्षित र सम्पन्न भए पनि कुनै अर्थ हुने छैन । देश जोगाउन जनता राजनीतिकरूपले सचेत र सङ्गठित हुनुपर्छ, सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ ।”
भारतीयहरू नेपाल प्रवेश गराउनमा अमेरिकी प्रशासनको हात रहेको चर्चा गर्दै उहाँले सहकारी संस्थाका सदस्यहरूको सांस्कृतिक स्तर उठाउन सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सहकारीले प्रदान गरिरहेको तालिम सीपमूलक र रोजगारको अवसर पाउने खालको हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “तालिम प्राप्त सदस्यहरूलाई रोजगारी पाउने मौका दिनुपर्छ ।”
सन्तानलाई खुसी पार्ने नाउँमा संस्कार र संस्कृति नसिकाई सबै प्रकारको सेवा–सुविधा दिन नहुने सङ्केत गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “सन्तानलाई संस्कार, संस्कृति र व्यवहारिक ज्ञान प्रदान नगरे खराब सङ्गतमा परेर बिग्रन सक्छ, सन्तान बिग्रिए आफ्नो सम्पत्ति पनि सुरक्षित हुनेछैन ।”
देशको अर्थतन्त्रबारे पनि सहकारी सदस्यहरूबीच अन्तरक्रिया गरिरहनुपर्नेमा जोड दिँदै उहाँले धनी हुुँदैमा कुनै नागरिक असल, चरित्रवान, अनुशासित हुन्छ भन्ने होइन, नयाँ पुस्तालाई सैद्धान्तिक ज्ञानको साथै व्यहारिक ज्ञान दिनु आवश्यक छ भन्नुभयो ।
सहकारी संस्थाले केन्द्रीय बैङ्क, नेपाल बैङ्क, निजी बैङ्क, विदेशी बैङ्क, फाइनान्स, कृषि विकास बैङ्क र सहकारी संस्थाको भेदबारे पनि अन्तरक्रियाहरू गरिरहनुपर्ने उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश ३ का प्रदेश सदस्य सुरेन्द्रराज गोसाईँले जनताको विश्वास जित्ने उद्देश्यले सहकारी संस्थाहरू अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सहकारी संस्थाहरू समाज उत्थानमा जुट्नुपर्ने औँल्याउँदै उहाँले ऋण र बचतमात्र ठूलो होइन, सम्पन्नता सधैँ जनताको मित्र हुँदैन, संस्कार र व्यवहार नभए जीवन बर्बाद हुन्छ भन्नुभयो ।
ज्ञान, बुद्धि, विवेक, व्यवहारविना समाज अघि बढ्न नसक्ने उल्लेख गर्दै सांसद गोसाईले भन्नुभयो, “इज्जत र संस्कारमा ध्यान नदिए जति सम्पत्ति भए पनि फेरि दुःख दोहोरिने छ ।”
भारतले नेपाली भूमि मिचेर गरिरहेको अतिक्रमणको विरोधमा नेमकिपाले जिल्ला–जिल्लामा विरोध प्रदर्शन, सभा र राजनीतिक सचेतना अभियान चलाइरहेको प्रकाश पार्दै सीमा अतिक्रमणको विरोध गरेर जनताले दबाब नदिए देशै नरहनेतर्फ चिन्ता व्यक्त गर्नुभयो ।
पटक–पटक नेपाली भूमि मिचिरहे पनि भारतको आशीर्वादमा नबोल्ने कायर सरकारप्रति जनताको विरोध भइरहेको उल्लेख गर्दै उहाँले भूमि र जनताको सुरक्षा गर्ने जिम्मा सरकारको हो भन्नुभयो ।
देशघात गर्ने सत्तासीन र ठूला दलका उम्मेदवारलाई फेरि मतदान गरेर गल्ती गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
भक्तपुरको क्षेत्र नं. १ (क) का निम्ति नेमकिपाका उम्मेदवार नीरज लवजूले स्थापनाकालदेखि देश र जनताको सेवामा सङ्घर्षरत नेमकिपाको निर्वाचन चिह्न मादलमा छाप राखेर अत्यधिक मतले निर्वाचित गर्न आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष राजन लाखाको सभापतित्वमा भएको सो कार्यक्रममा माहेश्वरी साकोसका विवेक कुस्माले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा कृष्णनारायण दुमरूले संस्थाको प्रतिवेदन, कोषाध्यक्ष ईश्वर दुमरूले आय–व्यय र लेखा संयोजक रामप्रसाद लाखाजूले लेखा समितिको प्रतिवेदन तथा प्रबन्धक राजेन्द्र दुमरूले स्वागत मन्तव्य दिनुभएको यिथो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान पदक, असल बचत र असल ऋणी तथा सदस्यता वृद्धि गर्ने सदस्यलाई पदक वितरण गरिएको थियो ।
क्षेत्र नं. ३ र ४ को साधारणसभा
क्षेत्र नं. ३ र ४ को साधारणसभाको उद्घाटन नेमकिपाका सचिव एव सांसद प्रेम सुवालले शनिबार गर्नुभयो ।
कार्यक्रममा उहाँले संस्थाले सदस्यहरूको सांस्कृतिकस्तर उठाउने लक्ष्य राखेको उपयुक्त भएको चर्चा गर्दै सदस्यहरूको आनीबानी, लवाइखवाई, आचरण, भेषभूषा सुसंस्कृत बनाउनु नै सांस्कृतिक स्तर उठाउनु हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “आगामी कार्यक्रममा उत्पादनमूलक र रोजगारीमूलक लगानी वृद्धि गर्ने लक्ष्य राखिएको पनि उपयुक्त हो । आगामी वर्ष नेपाल भ्रमण वर्ष २०२० हुँदै छ । पर्यटकहरूलाई खुवाउने, बसाल्नेलगायत पर्यटन उद्योगतर्फ संस्थाको लगानी बढाउनु उचित छ ।”
देशको सन्तुलित विकास नगरिएकोले काठमाडौँ उपत्यकाको जग्गा बिक्री बढ्दो छ । भएको जग्गा बिक्री गरेपछि हामी यहाँको बासिन्दा हुनेछैन र विस्थापित हुनुपर्नेछ, उहाँले स्पष्ट गर्नुभयो ।
“सहकारीमार्फत सरकारी अनुदान हुने क्षेत्रहरूमा लगानी गरी साझा हिततर्फ काम गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
“अहिले नेपालको ९६१ स्थानको भूमिमा भारतीय हस्तक्षेप भएको समाचार छ । लिम्पियाधुरा मुहान भएको कालापानी नेपालको हो । तर, भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक, तिङ्करसम्म कब्जा गर्दै छ । यो विषय ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्न हाम्रो पार्टीको तर्फबाट सरकारलाई सुझाव दिएका छौँ । सरकारका प्रधानमन्त्री र मन्त्रीहरू तथा सरकारमा भएका पार्टीका नेताहरू उजुरी दिने आँट नगरी कूटनीतिक समाधानको रटान गर्दै छन्, यो बेठीक हो”, सांसद सुवालले भन्नुभयो ।
प्रदेश नंं ३ का सभासद् सृजना सैंजुले सहकारी संस्थाहरू पनि वर्गीयरूपमा सञ्चालनमा रहेको चर्चा गर्दै निम्न आय र गरिब वर्गको सेवा हुने संस्थाको सञ्चालनमा जोड दिनुपर्छ भन्नुभयो ।
प्रदेश सभामा उन्नत बीउ, बाल उद्यान, डिपार्टमेन्टल स्टोर आदि बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्नसक्ने व्यवस्थाको लागि आफूले जोड दिएको उहाँले जानकारी गराउनुभयो ।
क्षेत्र नं. १ र २ को साधारणसभा
क्षेत्र नं. १ र २ को सभा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार भक्तपुर बैँक्वेटमा सम्पन्न भयो ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख प्रजापतिले संस्थाको पुँजी, सदस्य सङ्ख्या र आकारले ठूला सहकारी संस्थाका चुनौतीहरू पनि धेरै हुने चर्चा गर्दै सानो गल्तीले ठूलो दुर्घटना निम्तिनेतर्फ पदाधिकारीहरू सजग हुनुपर्छ भन्नुभयो ।
सहकारी संस्थाहरू सहकारीको सिद्धान्त र मूल्य–मान्यताभित्र रहेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सहकारीले रोजगारी सिर्जना, उद्योग स्थापना र मौलिक वस्तु उत्पादन आदिमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “संस्थाका सदस्यहरूलाई देशभक्तिपूर्ण भावनाबाट अभिप्रेरित गर्दै समाजको हितको निम्ति काम गर्न प्रेरित गर्ने योजनाहरू सहकारीले ल्याउनु आवश्यक छ ।”
छिमेकी देश भारतले नेपालको भू–भागमा गरेको अतिक्रमण र थिचोमिचो गरेको विरोधमा सम्पूर्ण नेपालीहरू एक हुनुपर्नेमा जोड दिँदै उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद र विकास निर्माणको क्षेत्रमा नमुनाको रूपमा कार्य गरिरहेको चर्चा गर्नुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले गरिरहेको गतिविधिहरूबारे जानकारी दिँदै सहकारी संस्थाले समुदाय र सदस्यहरूको हितमा काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक तथा संस्थाका पूर्वअध्यक्ष कृष्णगोविन्द लाखाजुले संस्था स्थापनाको उद्देश्यबारे प्रस्ट पार्दै कानुनी बन्दोबस्तअनुसार सिद्धि गणेश बचत सहकारीले क्षेत्रगत साधारणसभा गरेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा लेखा समितिका सदस्य हेरा ख्याजुले आर्थिक वर्ष २०७५÷७६ को लेखा सुपरीक्षण समितिको प्रतिवेदन, संस्थाका सञ्चालक सदस्य पञ्चरत्न सैंजुले आ.व. ०६५÷७६ को यथार्थ आय–व्यय विवरण तथा अनुमानित बजेट र सञ्चालक सदस्य रामलक्ष्मी शिल्पकारले आ.व. ०७५÷७६ को प्रगति तथा ०७६÷७७ को प्रस्तावित कार्यक्रम वाचन गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत सङघका सचिव जगन्नाथ प्रजापति र सञ्चालक समिति सदस्य रमेश दुमरूले पनि बोल्नुभएको थियो । प्रमुख अतिथि प्रजापतिले असल ऋणी, सदस्य वृद्धि गर्ने सदस्य, संरक्षित पुँजी फिर्ता कोष प्राप्त गर्ने र समयमै ऋणको ब्याज चुक्ता गर्ने सदस्यहरूलाई कदरपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *