भर्खरै :

वैचारिकरूपमा परिपक्क उम्मेदवारले मात्र जनताको सेवा गर्नसक्ने

भक्तपुर, मंसिर १ । नेमकिपा चानपा बागेश्वरी एकाइ समितिको आयोजनामा शनिबार बाँसबारीमा भेला सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा मेयर सुनिल प्रजापतिले निर्वाचनमा हारजीतभन्दा पनि विचारको लडाइँ भएको हुनाले वैचारिकरूपमा परिपक्व उम्मेदवारले मात्र देश र जनताको सेवा गर्नसक्ने बताउँदै शासक दलहरूकै कारण देश परनिर्भर हुँदै गएको पुष्टि गर्नुभयो ।
उहाँले पुँजीवादी राजनीतिमा ठेकेदार र व्यापारी वर्गले जनताको समस्या समाधानभन्दा चुनाव जित्न खर्च गरेको लाखौँ करोडौँ रकम कसरी उठाउने भन्ने मानसिकताले काम गर्दा नेपाली जनताले दुःख पाएको धारणा स्पष्ट गर्दै नाराले होइन जनताको वास्तविक आवश्यकताअनुसारको काम गरेर देखाउन सके देशको विकास हुने विचार व्यक्त गर्नुभयो । कम्युनिस्ट सरकारले नामअनुसार काम गर्न नसकेको तीतो यथार्थ बुझेर देश र जनताको हितमा कानुन बनाउन सक्ने योग्य र सक्षम उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य दिल्लीप्रसाद काफलेले संविधानले दिएका अधिकारहरू जनतालाई उपभोग गराउन देशको सार्वभौमिकता रक्षा गर्न नेमकिपाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताउँदै राजा, नेकां र नेकपाकै कारण सुस्ता, कालापानी विदेशीको पोल्टामा गएको हुनाले चुनावमा राष्ट्रियता बेच्नेविरुद्ध एकजुट भई लाग्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । जलस्रोतको अथाह स्रोतको धनी देश नेपालमा ग्याँसलाई विस्थापित गर्न सकिने विचार राख्दै पटक–पटक सरकारमा जाने पार्टीहरूले नेपालीहरूलाई विदेशीको दास बनाइरहेको गुनासो पोख्नुभयो ।
नेमकिपा बागेश्वरी ७ एकाइ समितिका संयोजक बाबुकाजी नायजूको सभापतित्वमा सम्पन्न भएको उक्त भेलामा नेक्रायुसङ्घ भजिसका एच. एस. सुवाल, अर्जुन काफले, रामबहादुर श्रेष्ठलगायतले बोल्नुभयो ।
उक्त भेलाले अर्जुन काफलेको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *