भर्खरै :

देशभक्त नागरिकहरू सचेत बन्न जरुरी

दैलेख, १ मंसिर । नेपाली भूमी लिम्पियाधुरा क्षेत्रलाई आफ्नो प्रशासनिक नक्सामा समावेश गरी भारतले हालै प्रकाशन गरेको नक्साको विरुद्धमा नेपाल मजदुर किसान पार्टी आठबीस नगर समितिले नगरको वडा नं. ८ स्थित तिलेपाटामा आइतबार विरोधसभाको आयोजना ग¥यो ।
विरोधसभामा नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह विश्वकर्माले शासक दलहरूको देशद्रोही क्रियाकलापले नेपाली नागरिकलाई देशभक्तिपूर्ण आन्दोलनमा सरिक हुन बाध्य पारेको प्रकाश पार्दै संशोधनवादी र विदेशी पुँजीका दलालहरूबाट सजग बन्न आम नागरिकलाई आह्वान गर्नुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य कृपाराम विश्वकर्माले नेपालको अहित हुने गरी भारतसँग गरिएका सम्पूर्ण असमान सन्धिहरू खारेज गर्न नेपाल सरकार सक्रिय रहनुपर्ने बताउँदै अतिक्रमित नेपाली भूमि फिर्ता लिन सम्पूर्ण देशभक्तहरू एकजुट हुन जरुरी रहेकोमा जोड दिनुभयो ।
नेक्राकिसङ्घ जिल्ला समिति दैलेखका सदस्य रतन कठायतले संशोधनवादी, समाजविरोधी तत्वका विरुद्ध समाजका विभिन्न तह र समुदायका नागरिक राजनीतिकरूपले सजग र सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो ।
देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरिएको विरोधसभामा नेमकिपा आठबीस नगर समितिका अध्यक्ष कलबहादुर बडुवाल, सहसचिव टीकाराम कठायत, नेक्रशिसङ्घ आठबीस नगर समितिका अध्यक्ष लोमनकुमार बडुवाल, शिक्षक डम्मरबहादुर थापा, वडा नंं.९ का निर्वाचित वडा सदस्य कलम बडुवाल र नेक्राविसङ्घ आठबीस नगर समितिका अध्यक्ष खगेन्द्रबहादुर कठायतले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा पार्टीका रणबहादुर कठायतले स्वागत गर्नुभएको थियो । पार्टी नगर समिति सदस्य रामबहादुर बडुवालको अध्यक्षतामा विरोधसभा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *