भर्खरै :

सामन्ती प्रवृत्ति कायमै, विरोध गरे कानुन लाग्ने डर

बोधबहादुर नेपाली
हाम्रो देश प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको युगमा प्रवेश गरिसकेको चर्चा जतिसुकै गर्दा पनि व्यवहारको कसीमा हेर्दा ती गफैमात्र साबित भइरहेका छन् । राजनीतिक ओहदा धारण गरिरहेका उच्चपदस्थदेखि कतिपय साना कर्मचारी र पियनसम्ममा हिजोकै सामन्ती प्रवृत्ति कायमै छ । सर्वसाधारण सेवाग्राही सेवा लिन जाँदा रेसपोन्स नै नगर्ने, बोल्न पनि पैसा नै पर्लाजस्तो गर्ने कर्मचारीहरू अलि धनीमानी वा राजनीतिकरूपमा पहुँच भएका मानिस आउनेबित्तिकै जी हजुर गर्न थाल्छन् । अरु ठाउँको कुरै छोडौँ कतिपय सरकारी अस्पताल र स्वास्थ्य संस्थामा समेत त्यस्तो प्रवृत्ति छ । बिरामीको अवस्था गम्भीर भएर बिरामी कुरुवा इन्तु न चिन्तु हुन्छन् तर डाक्टर हेर्न आउने नामै लिँदैन । मोबाइलमा कुरा गरिरहेको हो भने लामो कुरा गर्दा पनि उसको गफ टुङ्गिदैन । अस्पताल आइपुगेर लाइन बसिसकेकोले टिकट पाउँदैन तर कर्मचारीका आफन्त र चिनजानका मानिसले फोनको भरमा टिकट र सेवा दुबै अग्रीम पाउँछन् । त्यस्तै अवस्था देखेर कुनै सेवाग्राहीले आवाज उठाएमा उसमाथि शान्तिमा खलल पार्न खोजेको आरोप लगाइहालिन्छ । अनेक अभियोगसहित कानुन लगाउने डर छ ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएर पनि सर्वसाधारण जनताले राज्यले प्रदान गर्ने सेवा सुविधा सहजै नपाइने हो भने जनताले आन्दोलन र जनआन्दोलनको नाममा गरेको त्याग र योगदानको के अर्थ रह्यो र ? मानसम्मान होइन अपमान महसुस नहुने व्यवहार पनि सर्वसाधारण जनताले पाउँदैनन् भने देशमा राजनीतिक र सामाजिक व्यवस्था परिवर्तनको भाषणको के महत्व रह्यो र ?
यदि जनताको सेवाको लागि भएको सिद्ध गर्ने हो भने सरकारले कम्तीमा जनताले प्रत्यक्ष सेवा खोज्ने सरकारी निकाय, कार्यालय, संस्थाहरूमा सामन्ती प्रवृत्ति त्यागेर सबैलाई नियमपूर्वक सेवा दिने र अपमान नगर्ने व्यवहार सिकाउनैपर्छ । सरकारी कर्मचारी भनेका जनताका सेवक हुन्, मालिक वा हिजोका सामन्त वा तल्सिङ होइनन् भनी बुझाउनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *