भर्खरै :

“जनताका उम्मेदवारलाई मत दिई देशद्रोहीहरूलाई परास्त गर्नुपर्छ”

भक्तपुर, मंसिर ३ । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिले आसन्न उपनिर्वाचनको प्रचारप्रसारको क्रममा मङ्गलबार चाँगुनारायण नगरपालिका वडा नं. ३ न्यौपाने गाउँ झौखेलमा चुनावी सभा ग¥यो ।
सभामा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनताका उम्मेदवारलाई मत नदिई शासक दललाई जिताउनु देशको भूभाग भारतीय विस्तारवादले मिच्न दिने कार्यमा सही छाप गरेको सरह हुने बताउँदै चुनावमा देशद्रोहीहरूलाई परास्त गर्नुपर्छ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले अगाडि भन्नुभयो, “नेपाललाई क्षतविक्षत पार्न भारतीय विस्तारवादले माओवादीलाई ट्रोजनहर्सको रूपमा तयार गरेको हो, देशभक्त नेपाली जनता मिलेर विगतमा जस्तै भारतीय दूतावास घेराउ गर्ने र धर्ना कस्ने कार्यक्रममार्फत सरकारलाई कुनै पनि हालतमा नेपाली भूभाग भारतलाई सुम्पन्न नदिन सबै गम्भीर भई लाग्नुपर्छ ।”
नेमकिपालाई दिएको मत कहिल्यै खेर नजाने स्पष्ट गर्दै उहाँले प्रमुख प्रतिपक्षको भूमिका फितलो रहेको कारण देश अप्ठ्यारो स्थितिमा पुगेको बुझेर जनताले भ्रष्ट आपराधिक मानसिकताका दल र उम्मेदवारहरूलाई चुनावमा हराउनुपर्ने खाँचो औँल्याउनुभयो ।
नेमकिपा केन्द्रीय सचिव प्रेम सुवालले चुनाव देशभक्त र देशद्रोहीहरूबीचको लडाइँ भएको बताउँदै सुगौली सन्धिबाट नेपालको सीमा लिम्पियाधुरासम्म स्पष्टरूपमा कायम भएको छ भन्नुभयो । उहाँले भारतले नेपाली भूमि मिचेको बारे सरकारले स्पष्टसित नबोलेको कारण देशको ९६१ ठाउँमा सीमा अतिक्रमण भएको तथ्य प्रस्तुत गर्नुभयो ।
सांसद सुवालले नेपाली भूमि भारतले मिचेको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा सरकार भारतसित डराइरहेको छ भन्नुभयो । दुईतिहाइको सरकारले भारतसामु आत्मसमर्पण गर्नसक्ने सम्भावना औँल्याउँदै उहाँले नेपाललाई सिक्किम बनाउन खोज्नेहरूविरुद्ध नेमकिपाले उम्मेदवारी दिएको हुनाले देशको सार्वभौमिकता र भूअखण्डता रक्षाका लागि नेमकिपालाई मत दिन आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले नेपाल रहेमात्र नेपाली रहने बताउँदै देशको ठूलो क्षेत्र कालापानी, लिपुलेक आफ्नो नक्सामा राखेर भारतीय विस्तारवादले हेपाहा प्रवृत्ति दोहो¥याएको हुनाले सोको विरुद्ध जनता सचेत हुनुपर्ने र प्रतिगामी तत्वलाई चुनावमा परास्त गरी देशको सार्वभौमिकता रक्षाका लागि नेमकिपाका उम्मेदवार नीरज लवजूलाई जिताउन अपिल गर्नुभयो ।
प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले ३० वर्ष सत्तामा बसिसकेका शासक दलहरूलाई मत दिनु भनेको देशलाई बर्बादीमा धकेल्नु हो भन्दै मेलम्चीको पानी ल्याइदिने वाचा गरेका शासक दलले जनतासित मत माग्ने अधिकार राख्दैन भन्नुभयो । काठमाडौँका लाखाँै जनतालाई कोटेश्वरमा घण्टाँै जाममा बस्न बाध्य तुल्याउने शासक दलले तीन दशक भइसक्दा पनि सडकका खाल्डाखुल्डी ताल्न नसकेको र जनताको स्वास्थ्यसित खेलवाड गरिरहेको आरोप लगाउँदै उहाँले एसिया महादेशमा नेपालमा महँगी र भ्रष्टाचार सबभन्दा बढ्दो स्थितिको जिम्मेवार शासक दलहरू भएको बताउनुभयो । उहाँले आर्थिक र राजनीतिक अपराधीहरूको संरक्षक सरकार स्वयम् भएको धारणा राख्नुभयो ।
प्रदेश नं ३ का सांसद सृजना सैंजूले झूटका पुलिन्दा बोकेर आश्वासनका पोका बाँडेर चुनाव जित्ने सोच बनाइरहेका शासक दलका उम्मेदवारहरूलाई हराउनुपर्ने धारणा राख्दै प्रदेशलाई अस्थिर र अनिर्णयको बन्दी बनाउने दुईतिहाइको सरकार असफल भइसकेको छ भन्नुभयो । समाजवादमा मात्र स्वदेशमै राजगारीको बन्दोबस्त हुने र कामदार महिला वर्गको वास्तविक मुक्ति सम्भव हुने विचार राख्दै उहाँले देशलाई आत्मनिर्भर बनाउन चुनावमा देशभक्त उम्मेदवारलाई निर्वाचित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेमकिपाको तर्फबाट भक्तपुर प्रदेश १ ‘क’ का उम्मेदवार नीरज लवजूले ६ वर्षसम्म थन्किएको डोजर नेकपाको सरकारले नगरकोटको सडकमा रहेका खाल्डाखुल्डी चुनावको बेला आएर चलाउनु जनताको आँखामा छारो हाल्ने काम भएको बताउँदै केवल नाराले समृद्धि नआउने बरु काम गरेर देखाउनुपर्ने अभिव्यक्ति दिँदै चुनावमा जितेर देश र जनताको सच्चा सेवक भई काम गर्ने वाचा गर्नुभयो ।
नेमकिपा भजिस अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्रायुसङ्घ भजिस अध्यक्ष मिनबहादुर बाटा र स्थानीय कार्यकर्ता सुदिप खनाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *