भर्खरै :

महामहिम अमेरिकी राजदूतलाई खुला पत्र

महामहिम अमेरिकी राजदूत,
अमेरिकी राजदूतावास, काठमाडौँ !
संरा अमेरिकाबारे हाम्रा नेपाली पुस्ता कोलम्बसको नयाँ मुलुकको खोजी र उनको प्रतिवेदनबारेअवगत छौँ । त्यसकारण उचित आदरका साथ अमेरिकी जनतासँगको मैत्री सम्बन्धलाई हामी महत्वका साथ ध्यान दिन्छौँ । अमेरिकी स्वतन्त्रता आन्दोलनले अन्य देशका सशस्त्र र मुक्ति आन्दोलनकारी जनतालाई जसरी प्रेरित ग¥यो त्यसरी नै हाम्रो पुस्तालाई आफ्नो देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति लड्न त्यत्तिकै प्रेरित गर्छ ।
नयाँ पुस्ता अमेरिकी मजदुर आन्दोलन र १ मईको आन्दोलनबाट शिक्षित हुँदै छन् । यस अर्थमा परिवर्तन र अत्यन्त बहुमत जनताको हित गर्ने प्रजातान्त्रिक भावनाको निम्ति नेपाली जनता अमेरिका र अमेरिकी जनतालाई सम्मान गर्ने गर्छौँ ।
संरा अमेरिकाको दक्षिणी भागको दासताको विरोधमा भएको गृहयुद्धमा कार्ल माक्र्सजस्ता भविष्यद्रष्टाले पनि तत्कालीन राष्ट्रपतिलाई पत्र लेखेर विजयमा बधाई दिनुभएको थियो र संसारका अन्य स्वतन्त्रता र दासताविरोधी बुद्धिजीवीहरू अत्यन्त खुशी भएका थिए ।
बदलिँदो समयको छालसँगै पश्चिमी देशको वाणिज्य र व्यापार एवम् औद्योगिक क्रान्तिले पुँजीवादी व्यवस्था साम्राज्यवादी चरणमा उक्लिँदै गयो । सुरूमा मेक्सिकोका झन्डै आधा भाग संयुक्त राज्यमा गाभियो । त्यसपछि मध्य अमेरिकी र क्यारेबियाली देशमा प्रभाव फैलिँदै गयो । पाँचौ राष्ट्रपति मुनरोले ‘अमेरिका अमेरिकीहरूको’ नारा दिएर युरोपेली शक्तिहरूलाई खबरदारी गरे तथा दक्षिण अमेरिकी देशहरू संरा अमेरिका वा ‘याङ्कीहरू’ को करेसाबारीको रूपमा देखिए । युरोपेली उपनिवेशको ठाउँमा उत्तरी अमेरिकाको पुँजीको अधिनायकवाद विस्तार भयो ।
महामहिमज्यू,
पहिलो विश्व युद्धभन्दा पहिले पूर्वी एसिया र प्रशान्त महासागरका टापु देशहरूमा अमेरिकी तोपेडुङ्गाहरू पुगे र एकपछि अर्को एसियाली टापुहरूमा अमेरिकी आक्रामक सेना पस्न थाल्यो । फिलिपाइन्स र अन्य टापुका देशहरूमा संरा अमेरिकाको प्रवेश भयो ।
सन् १८४०–१८४२ को अफिम युद्धपछि बेलायती सेनासँगै अमेरिका पनि चीनको भित्री भागसम्म पुग्यो । पहिलो विश्व युद्ध अमेरिकाको निम्ति युद्ध अभ्यास (दोस्रो विश्व युद्धको रिहर्सल) सावित भयो ।
दोस्रो विश्व युद्धमा संरा अमेरिकाले हिरोसिमा र नागासाकीमा एटम बम खसालेर सारा संसारलाई तर्साउने प्रयास ग¥यो । अमेरिकी पत्रकार अन्ना लावस स्ट्रङको एक प्रश्नमा येनानको गुफाबाट माओ त्सेतुङले उत्तर दिए, “साम्राज्यवादजस्तै एटम बम पनि कागजको बाघ हो । एटम बम संहारक हतियार हो, तर युद्धको निर्णय एक–दुई हतियारले होइन बरू जनताले गर्छ । रणनीतिकरूपले साम्राज्यवादलाई चानचुन सम्झनुपर्छ र कार्यनीतिकरूपले शत्रुको हरेक चाललाई गम्भीररूपले लिनुपर्छ ।”
जापानी सैन्यवादको आत्मसमर्पणपछि उसको उपनिवेशहरूमा अमेरिका पस्यो । यसरी चीनको पूर्वी–उत्तरी क्षेत्र र कोरिया प्रायःद्वीपमा (सन् १९५०–१९५३ सम्मको कोरिया युद्ध) मा संरा अमेरिका मुख्य उपनिवेशवादी शक्तिको रूपमा देखाप¥यो ।
त्यसपछि संरा अमेरिका भियतनाम, कम्बोडिया र लावस (हिन्द चीन), अफगानिस्तान, इराक, लिविया, सिरिया आदि ठूला र साना युद्धहरूमा फस्दै गयो । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा झन्झन् बदनाम हुँदै गयो ।
महामहिमज्यू, संरा अमेरिका आफ्नो घाँटीसम्म खतरनाक हातहतियारबाट छोपिइसकेको छ । राजनैतिकरूपले सचेत पूर्व उपनिवेशहरूका जनता युद्धसँग डराउनु र तर्सनुभन्दा शत्रुलाई भित्र बोलाएर घेर्न, नष्ट गर्नको निम्ति एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरू तयार छन् ।
युद्धले ठूलो जनधनको नास गर्छ । यस अर्थमा युद्ध राम्रो छैन र शान्तिले जनताको समृद्धिमा सहयोग पु¥याउँछ ।
इतिहासमा हरेक युगमा अन्यायपूर्ण लडाइँ गर्ने वीर सम्झिएका नायक र उसले शासन गरेका देशहरू एकपछि अर्को तासको घरजस्तै धुजा–धुजा भएकै छन् । सूर्य नडुब्ने देश आज आफ्नै ठाउँमा साँगुरिँदै स्कटलैन्ड र आयरल्यान्डको समस्या झेल्दै छ । ब्रिक्सबारे बेलायत आफै अनिर्णयको बन्दी हुँदैछ । नेपोलियन आफै सेन्ट हेलेनामा बन्दी भए । मुसोलिनी, हिटलर र सैन्यवादी जापान आफै पददलित भए । तिनको दुःखद अन्त्य भयो । शत्रु सेनाको सर्तमा क्षतिपूर्ति भराइयो । जापानको सैन्य शक्तिमाथि नियन्त्रण गरियो । आफ्नो देशको संविधानसमेत शत्रु देशले प्रदान गर्दा जापानीले टाउको झुकाएर मान्नुप¥यो ।
यस अर्थमा अन्यायी युद्धको परिणाम सुखद भएन । तर, आज पुनः एसियालाई एसियाली देशहरूबीच भिडाउने उद्देश्यले हिन्द–प्रशान्त सैन्य गठबन्धनको नाममा भारतीय फासीवादलाई साथमा लिएर संरा अमेरिकाले दक्षिण एसियाली देशहरूलाई युद्धको आगोमा धकेल्न आन्तरिक मामिलामा हस्तक्षेप गर्दै छ । तर, बुद्ध र कन्फुसियसको सन्देशबाट शिक्षितहरू अरूको युद्धको आदेश मान्न सचेत जनता मान्ने छैनन् ।
महामहिमज्यू, तपाइँ आफै सा¥है समझदार र एसियाली भावनाबाट परिचित भइसक्नुभएको हुँदा नेपाली जनता शान्ति चाहन्छन् र छिमेकी देशहरूसँग पनि नेपाली जनता अरूको आन्तरिक मामलामा हस्तक्षेप नगरी मिलेर बस्न चाहन्छन् भन्ने सन्देश अमेरिकी जनतालाई पु¥याइदिन हार्दिक अनुरोध गर्न चाहन्छु । मलाई पूरा विश्वास छ, “बहुमत अमेरिकी जनता युद्ध चाहँदैनन् । तर, सरकारको परराष्ट्र नीतिमा जनताको इच्छा प्रतिबिम्बित भएमा निश्चय पनि अमेरिकी जनता र एसियाली जनताको भावनामा एकरूपता अनुभव गर्ने छौँ ।
आशा र विश्वास छ, हाम्रो भावनालाई अमेरिकी जनतासम्म अगवत गराई दिनुहुनेछ । धन्यवाद !
एक सचेत नेपाली नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *