भर्खरै :

सुस्ता – देउसीवाद र कालापानी – लिम्पियाधुरा

अनुदीप
सुस्ता, जहाँ भारतीय सेनाले हस्तक्षेप गरेको विरोधमा पञ्चायती कालरात्रीमा पहिलोपटक सीमा अतिक्रमणविरुद्ध जुलुस भयो । त्यही जुलुसकै क्रममा पञ्चायती व्यवस्थाका क्रुर प्रहरीहरूसँग पहिलोपटक नेपाली जनता प्रतिकारमा उत्रे । पञ्चायती निरङ्कुश राज्य आतङ्कको कालो बादल चिरेर नेपाली कामदार जनताले देशभक्तिको अदम्य साहस देखाए । नेपालको सार्वभौमसत्ता र भू–अखण्डता जोगाउन नेपाली जनता उठे । देशको सिमाना र सीमा क्षेत्रका जनताको जिउ र धन रक्षा गर्न नसक्ने पञ्चायती सरकारविरुद्ध व्यापक जनता एकजुट भए । सुस्तामा भारतीय सैन्य हस्तक्षेपविरोधी आन्दोलन देशव्यापी फैलियो । आन्दोलन उत्कर्षतर्फ चढिरहेकै बेला आन्दोलनमै रहेको एउटा मोर्चा अनेरास्ववियू दरबार पस्यो । सीमा रक्षाको लागि आपूmहरू सहयोग गर्न आएको भन्दै अनेरास्ववियूका नेताहरूले राजा महेन्द्रको दर्शनभेटमा बिन्ती बिसाए । राजा महेन्द्रले विद्यार्थीको काम पढ्ने हो, सीमा रक्षा आफूले नै गर्ने हो भन्ने पाठ पढाई अखिलका नेताहरूलाई केही रकम बक्सिस दिएर पठाए । देउसी माग्न गएजस्तै केही रकम लिई आशीर्वाद दिएर आउने अखिलका तत्कालीन नेताहरूले आत्मसमर्पणवादी प्रवृत्ति देखाए । यही घटनाबाट नेपाली राजनीतिमा देउसीवाद शब्द उत्पत्ति भयो । सुस्तामा भारतीय हस्तक्षेपविरोधी आन्दोलन दरबारमा बुझाउने देउसीवादीहरूले नेपाली जनताको देशभक्तिपूर्ण विचारलाई अलमलमा पार्न खोजे, दृढ अडानलाई निस्तेज पार्न खोजे । ५० वर्ष अघिदेखि नेपाली जनता सुस्तामा नेपाली भूमि अतिक्रमण भएको विरोधमा आवाज उठाइरहेका छन् ।
पञ्चायती व्यवस्था अन्त्य भइसकेको मात्र होइन देशमा गणतन्त्र नै आइसकेको छ । तर, पनि नेपाली शासकहरूले अतिक्रमित सुस्ता भूमि फिर्ता लिन सकेका छैनन् । सुस्ताको आलो घाउमा पाप्रा नबस्दै भारतीय विस्तारवादले नेपालतिर ७१ स्थानमा कोपरेको छ, सीमा अतिक्रमण गरिसकेको छ । त्यतिमात्र होइन, अहिले त नेपाली भूमि कालापानीमा राखिएको भारतीय सैनिक क्याम्पलाई वैधानिकता दिन सो क्षेत्र नै भारतको नक्साभित्र पारेको छ । असी लाख जनसङ्ख्या भएको काश्मीरमा नौ लाख सेना तैनाथ गरेर सयौँ दिनदेखि काश्मिरी जनतालाई कफ्र्यूमा कैद गरिराख्ने भारतीय फासीवादी मोदी सरकारले जम्मु–काश्मीरको नयाँ नक्सा जारी गर्ने क्रममा नेपाली भूभाग पनि नक्सामार्फत हडपेको छ । नेपाली अकर्मण्य शासकहरूको कारण सशस्त्र भारतीय सेनाले क्याम्प खडा गरी बसेकै छ । अब नक्सामै पनि सम्पूर्ण सन्धि–सम्झौता र अन्तर्राष्ट्रिय मूल्य मान्यता तोडेर हाकाहाकी दाबी गरेको छ । र पनि, जनताको होचो बलेसीमुनि झुक्न आउनेबेलामा आफूमात्रै देशभक्त र स्वाभिमानी भएको स्वाङ पार्ने नेपाली शासकहरूले भारतीय विस्तारवादी शासकहरूको अगाडि शिर उठाएर, आँखा जुधाएर कुरा गर्न सकेका छैनन् । भारतीय एकाधिकार पुँजीको लगाम फासीवादी मोदीले समातेपछि नेपाली शासकहरू झन् चिलले झम्टेको चल्लाजस्तै बोली फुटाउन पनि सकेका छैनन् । नेपाली जनताको अगाडि बाँदर घुर्की (माक फुइँ) देखाउने ओली सरकार कामज्वरो आएजस्तै थरथर कामिरहेको छ । भारतीय विस्तारवादी नक्साले बज्र प्रहार गरे पनि ओली सरकार मुखमा बुजो लाएर बसेको छ । भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीको हरेक अवैधानिक र हस्तक्षेपकारी कदमको प्रतिरोध गर्दै आएका सचेत नेपाली जनताले देशव्यापीरूपमा विरोध गरेपछि बल्ल – बल्ल ओली–दाहाल सरकारले कार्तिक २३ गते सर्वदलीय बैठक बोलाएको छ । बैठकले लिपुलेक, कालापानीमात्र होइन, महाकाली नदीको मुहान लिम्पियाधुरासम्मै नेपाल हो भन्ने ‘राष्ट्रिय सहमति’ दियो । लिम्पियाधुरासम्मकै अतिक्रमित नेपाली भूमि फिर्ता लिन ओली–दाहाल सरकारलाई ‘बल’ दियो । यद्यपि, ओली–दाहाल सरकारले भारतीय विस्तारवादी बिरालोको घाँटीमा घन्टी झुण्ड्याउनेसम्म हिम्मत गरेको छैन । बरु भिजेको बिरालोजस्तै ओली–दाहाल सरकार ‘कूटनीतिकरूपमा वार्ता गरेर’, ‘उत्ताउलो भएर होइन’ र ‘अन्तर्राष्ट्रियकरण गर्छाँै नभनौँ’ आदि पानीमरुवा वाणी फुकिरहेको छ ।
अझ उदेकलाग्दो विषय त कार्तिक २३ गतेको बैठकमा ‘त्यो चारो खाँदिन, ‘व्याधाको पासोमा पर्दिनँ’ भन्ने गीत गाउँदै बुरुक – बुरुक गर्ने चरोजस्तै अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको क्रिडास्थल बनाउन उद्यत परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ‘सतर्कता’ थियो । जनताको आवाज सुनाउँदा पनि भयभित हुने परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले देशलाई भड्खालोमा जाक्ने इन्डो प्यासेफिक रणनीति र मिलिनियम च्यालेन्ज कर्पोरेसनको सम्बन्धबारे प्रश्न उठाउनासाथ ‘रुलिङ’ गरेछन् । विदेशी प्रभुहरू रिसाऊलान् भनी कति विधि तर्सेका हाम्रा ‘सफल’ परराष्ट्रमन्त्री ज्ञवाली ? नेपाली जनतालाई ललाइफकाई गर्न मात्रै नेपाली जनताको बोलीमा लोली मिलाउँदै ‘भारतले बलमिचाइ गरेको’ बताउने परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षीसँग चुँइक्क बोल्ने आँट गरेका छैनन् । बरु नेपाली देशभक्तिपूर्ण भावनामाथि भारतीय नक्साले चिथोरेको बेला, स्वाभिमानी नेपाली जनता मर्माहत भएको बेला, अझै अतिक्रमित नेपाली भूभाग फिर्ता लिन नेपाली जनता कम्मर कसेर सडकमा ओर्लेको बेला, त्यतिमात्र होइन स्वयम् भारतपरस्त काङ्ग्रेसलगायत शासक दलहरूबाट समेत नेपाली भू–भाग फिर्ता लिन पहल गर्न ‘राष्ट्रिय सहमति’ पाएको बेलासमेत यो गम्भीर र जल्दोबल्दो विषयलाई बेवास्ता गरेर ‘राष्ट्रवादी’ ओली सरकारले यही मंसिर ४ देखि ६ गतेसम्म नेपाल–भारत सीमा सुरक्षासम्बन्धी बैठक पोखरामा बस्ने भनेको छ । भारतीय विस्तारवादलाई खुशी पार्न नेपाल–भारत सीमा सुरक्षासम्बन्धी बैठक हुने अनि बैठकमा कालापानीबाट भारतीय सुरक्षा फौज फर्काउनेसम्बन्धी विषयले प्रवेश नै नपाउने यो कस्तो सीमा सुरक्षा बैठक हो ? यो बैठकमा भारतीय नक्सा विवादको विषयलाई प्रवेश नदिनु बेवास्तामात्रै हो कि भारतीय नक्सालाई नेपालले व्यावहारिकरूपमा स्वीकार गरेको प्रमाणित पनि गर्नु हो ? आत्मसमर्पण गर्नु र नेपाली जनतालाई झुक्याउनुको पनि हद हुन्छ नि ओली–दाहाल सरकार र साराका सारा देशभक्त नेपाली जनताले सीमा अतिक्रमण अनि कालापानीको घाउ सदाका लागि उपचार चाहिरहेको बेला नेपाल आमाको छातीमा नुनचुक छर्ने पोखरा बैठक तत्काल रोक्दा के होला ? २०७३ सालदेखि रोकिएको सुरक्षाकर्मीहरूको बैठक बस्न हतार मान्नुपर्ने कुनै दरकार छैन । बरु सारा नेपाली जनतालाई उद्वेलित बनाएको कालापानीबाट भारतीय सैनिक हटाउन र लिम्पियाधुरालगायत अतिक्रमित नेपाली भूभाग फिर्ता लिन एक निमेष ढिला नगरी वार्ता बोलाउनुपर्छ, वार्ता गर्नुपर्छ ।
नेपाली जनताको बीचमा लाज जोगाउन भारतीय विस्तारवादको विरोध गरेजस्तो गर्ने अनि जसको विरोधमा लड्नुपर्ने हो उसैको सल्लाहमा बक्सिस लिएर आउने देउसीवादी आत्मसमर्पणवादी प्रवृत्तिले हिजो राजा महेन्द्रको पालामा सुस्ता जोगाउन सकिएन आज पनि ओली–दाहाल सरकारले लिम्पियाधुरा लिपुलेक फिर्ता लिन सक्दैन, कालापानीबाट भारतीय सेना हटाउन सक्दैन ।
नेपाली शासकहरूले नै स्वीकारेका र भारतीय शासकहरूले पनि आरोप लगाएका एउटा तथ्य के हो भने प्रतिपक्षमा हुँदा भारतीय अधिकारीहरूसँग सीमा बचाउने र असमान सन्धि तोड्ने सवाल उठाउने तर सरकारमा हुँदा औपचारिकरूपमा मुद्दा उठाउन नसक्ने हुत्तिहारा हो ? सरकारी तहबाटै औपचारिक प्रस्ताव र बैठक सुरु भएपछि समस्या समाधानको लागि त्यहीबाट समाधान नभएमा अन्तर्राष्ट्रियकरण गर्न वा जरुरत परे अन्तर्राष्ट्रिय अदालतमा जान किन अहिले नै खुट्टा कमाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *