भर्खरै :

वर्तमान विश्वमा समाजवादी आन्दोलन र यसका चुनौतीहरू–१

का. रोहित
माक्र्सवादको सृजनात्मक प्रयोग
सोभियत सङ्घ र पूर्वी युरोपका देशहरूमा पुँजीवादको पुनःस्थापना हुनुभन्दा पहिले संशोधनवाद र साम्राज्यवादको आक्रमण र अन्तरध्वंशका कार्यहरू नै विश्वको समाजवादी आन्दोलनका चुनौतीहरू थिए । त्यसबेला सोभियत कम्युनिस्ट पार्टी र त्यसका सहयोगी कम्युनिस्ट पार्टीहरूमा संशोधनवाद प्रवलरूपले फैलिँदै जानुको भित्री कारण पुँजीवादी विचारधारा थियो भने साम्राज्यवादको अगाडि आत्मसमर्पण गर्नु बाहिरी कारण थियो । खुश्चेभदेखि गोर्भाचोसम्मको अवधिले यही कुरा देखायो ।
सन् १९१७ को रुसी अक्टुबरक्रान्ति, दोस्रो विश्वयुद्धपछि पूर्वी युरोपमा समाजवादको स्थापना, चीन, भियतनाम, कोरिया र क्युवासम्मको क्रान्ति, पेरिस कम्युनको जस्तै पुँजीपति र सामन्तहरूको स्वर्गमा धावा र कब्जा मानेमा अत्युक्ति हुने थिएन । सिलेसिया, लियोन र मागपत्रको आन्दोलनभन्दा निश्चय नै पेरिस कम्युन उच्चस्तरको मजदुर विद्रोह थियो । १९१७ को रुसी अक्टोबर क्रान्तिको बेलामा लेनिन र बोल्सेविकहरूले ३ महिना नाघेपछि पेरिस कम्युनभन्दा बढी टिकेकोमा सन्तोष व्यक्त गरेका थिए ।
पेरिस कम्युनको पतनमा अनेक राजनैतिक र सैनिक विरामहरूको अनुभव गरिएका थिए भने सोभियत सङ्घ र पूर्वी युरोपका देशहरूका समाजवादको हार र पुँजीवादको पुनःस्थापनाको कारण लामो समयसम्म ती देशहरूको पार्टी नेतृत्वहरूमा सैद्धान्तिक विचलन, कामदार जनताको हुकुम र इच्छाभन्दा नेतृत्व र कर्मचारीतन्त्रको हैकम चल्नु, आर्थिक, कूटनैतिक, राजनैतिक र अन्य प्राविधिक बिराम र खोटहरू हुन् । हुन त सोभियत सङ्घको समाजवाद र पूर्वी युरोपेली समाजवाद स्थापनाका आ–आफ्नै कारक तत्वहरू छन् । सोभियत सङ्घको समाजवाद आफ्नै वर्गसङ्घर्षको उपज थियो भने पूर्वी युरोपेली देशहरूको समाजवाद दोस्रो विश्वयुद्धमा फासिष्टवादी आक्रमणविरोधी सोभियत सेनाको विजयको प्रवाह थियो, त्यसलाई ती नेतृत्वहरूले आत्मसात् गर्न सकेनन् । त्यही कमजोरीले गर्दा सिद्धान्तमा बस्न सकेन, जनताको क्रान्तिकारी चरित्रको र सतर्कताको विकास गर्न सकेन । माक्र्सवादलाई आ–आफ्नो देशको परिस्थिति अनुसार सृजनात्मक रूपले प्रयोग नगर्नाले आत्मनिर्भरताको अभाव एवम् सोभियत सङ्घको नेतृत्वमा रहेको संशोधनवादको कुप्रभाव पूवी युरोपेली पार्टीहरू र सरकारहरूमा छाउँदा ती देशहरूको समाजवाद तासको घरजस्तै ढलेको हो ।
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारामा प्रतिक्रान्ति र पुँजीवादको पुनःस्थापनाका सम्भावनाका विभिन्न कारणहरू उल्लेख भएकै हो । त्यसबारे अन्तर्राष्टिय कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी धारा अर्थात् सोभियत कम्युनिस्ट र त्यसको समर्थन गर्ने विभिन्न देशका कम्युनिस्ट र मजदुर पार्टीहरूसँग खुल्ला सैद्धान्तिक र राजनैतिक मतभेद पनि देखापरेकै थियो । त्यसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा फाटो ल्यायो । साम्राज्यवादीहरूको पहिलो राजनैतिक आक्रमणको सिकार पनि ती पार्टी र देशहरू नै भए ।
आज निश्चय पनि समाजवादी आन्दोलन रक्षात्मक स्थितिमा छ । विश्व समाजवादी आन्दोलनले ती हाँकसँग जुध्नुपर्ने स्थिति छ । शोषण, थिचोमिचो, नाफा र एकाधिकार प्रभुत्वको लुछाचुँडीजस्ता पुँजीवादी व्यवस्थाले जन्माएका अनेक अनिवार्य विसङ्गतिहरू र त्यसको प्रतिक्रियामा उठ्ने मजदुर आन्दोलन, विद्रोह, क्रान्ति, स्वतन्त्रता र सार्वभौमिकता जोगाउन विभिन्न देशहरूका राष्ट्रिय सङ्घर्षहरू तथा विकसित पुँजीवादी देशहरूका बीचको आपसी मतभेदले वर्तमान स्थितिलाई स्थायी रहन दिने अनियन्त्रित आर्थिक अनियमितता, अपराध, प्रदूषण, अव्यवस्था र आर्थिक देशहरूमाथि थोपर्ने व्यापारिक र आर्थिक बन्धन तथा राजनैतिक दबाबहरूको कारण आर्थिक र व्यापारिक धम्की र सैनिक गतिविधिलाई समेत इन्कार गर्न सकिन्न ।
तर अर्कोतिर कोरिया, चीन, क्युवा जस्ता समाजवादी देशहरूले अनेक क्षेत्रमा गरेका प्रगति र राम्रा पक्षहरूको कारण तथा भूतपूर्व सोभियत सङ्घ र पूर्वी युरोपेली देशहरूको विखण्डन, विश्रृंखलता, जातीय भीडन्त, युद्ध, विदेशी ऋण, परावलम्बन, अन्यौल, अभाव, महँगी, कालाबजारी, भोक, दरिद्रता, बढ्दै गएको अपराध, डलरको साम्राज्य विस्तार, पश्चिमी देशहरूको आर्थिक प्रभुत्व आदि दुर्दशाहरूले पुँजीवादभन्दा समाजवाद बेहत्तर छ भन्ने तुलनात्मक र व्यावहारिक अनुभवबाट ती देशहरूको मजदुर आन्दोलन पुनर्जीवित हुँदैछ । व्यापार र भन्सारबारे जापान, भारत, दक्षिण कोरिया र अन्य देहरूमा पनि ग्याट र संरा अमेरिकाको विरोधमा देखापरेका गतिविधिहरू वास्तवमा एकाधिकार पुँजीवादकै विरोध हो । जे होस्, सोभियत सङ्घ र पूर्वी युरोपेली देशहरूमा समाजवादको पतनले ती देशहरू र जनताले मात्रै क्षति भोग्न परेको होइन कि अमेरिकी साम्राज्यवादको एकाधिकार र थिचोमिचोमा पर्न नचाहने दोस्रो वा तेस्रो विश्वका देशहरू वा अमेरिकी साम्राज्यवादबाट आफ्नो स्वतन्त्रता र सार्वभौमिकता जोगाउन चाहने देश जनताले ठूलो विकल्प र आशा पनि गुमाएका छन् ।
एउटा पनि गोली नचलाई सोभियत सङ्घ र पूर्वी युरोपेली देशहरूको समाजवादलाई साम्राज्यवादीहरूको गुलियो पोतेको गोलीले पराजित गर्न सफल भए पनि ती देशहरूमा समाजवादी आन्दोलन र विचारले अब सशक्त ढङ्गले सचेतता प्राप्त गर्ने कुरामा शङ्का छैन । हरेक नकारात्मक घटनाको सकारात्मक परिणाम त्यसैलाई भन्न सकिन्छ ।
यी सबै घटना र परिणामहरूले माक्र्सवाद कुनै देश वा समाजमा बाहिरबाट थोपर्ने होइन बरु माक्र्सवादीहरूले आ–आफ्नै देशको परिस्थिति अनुसार समाज–विकासको नियमविपरीत नहुने गरी लागू गरिनुपर्छ भन्ने कुरालाई प्रष्ट पारेको छ । जसलाई माकर्सवादको सृजनात्मक प्रयोग भनिनेछ । तर, त्यसको अर्थ निश्चय पनि संशोधनवाद हुनुहुन्न । सोभियत सङ्घ र पूर्वी युरोपका देशहरूमा समाजवादको पतनपछि पनि प्रजग कोरिया र क्युवामा समाजवादको झन्डा अहिलेसम्म फहरिरन सक्नुमा माक्र्सवादको सृजनात्मक प्रयोग भन्नु अत्युक्ति नहोला, तर निश्चय पनि ती देशको समाजवादलाई रक्षा गर्नु वर्तमान विश्व समाजवादी आन्दोलनको दायित्व हो । साम्राज्यवादलाई दुई तीनवटा भियतनाममा फसाउनुपर्छ भन्ने चे ग्वे भाराको रणनीति आज साम्राज्यवादलाई संसारको विभिन्न देशहरूको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा फसाउने रणनीति हुनुपर्ने देखिन्छ । यसले साम्राज्यवाद आफ्नो प्रतिकूल स्थितिमा फस्नेछ, यही नै आजको माक्र्सवादको सृजनात्मक प्रयोगलाई संशोधनवाद र सुधारवादमा फस्नबाट जोगाउने उपाय हो । माक्र्सवादको सृजनात्मक प्रयोगको अर्थ युरोपेली कम्युनिस्ट पार्टीहरूको बाटो हुन सक्दैन भन्ने कुरामा प्रस्ट हुनु जरुरी छ ।
 
समाजवादी व्यवस्थामा बजारमुखी अर्थतन्त्र
विकास भइरहेको तत्कालीन पश्चिमी पुँजीवादी समाजको उत्थान, विकास र पतनबारे माक्र्स र एँगेल्सको वैज्ञानिक व्याख्या नै माक्र्सवाद हो । तर १०० वर्ष यता बेलायती साम्राज्यवादको पतन, सोभियत सङ्घमा पहिलो पटक समाजवादी अर्थतन्त्रको उदय, दोस्रो विश्व युद्धपछि केही देशहरूमा समाजवादी अर्थतन्त्रको प्रयोग र तेस्रो विश्व वा नवस्वाधीन राष्ट्रहरूमा मिश्रित अर्थतन्त्रको प्रादुर्भाव भयो । साथै अमेरिकी साम्राज्यवादको प्रभाव वा डलर साम्राज्य, विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष तथा अन्य बहुराष्ट्रिय कम्पनीहरूले थोपरेको तेस्रो विश्वका मुलुकहरूले कहिल्यै तिर्न नसक्ने ऋण, ब्याज, सस्तोमा तेस्रो मुलुकका कृषि उत्पादन, खनिज वस्तु, काठपात र कच्चा पदार्थ लाने, महँगो सामान बेच्ने, बजार र प्रदूषणको डंगुर फाल्ने खाडलजस्ता विश्व–एकाधिकारी अर्थव्यवस्था अर्थात् नवउपनिवेशवादी अर्थतन्त्रले संसारलाई निस्सासिँदो स्थितिमा पु¥याएको छ । माक्र्सवादको विकासको बेला यस्ता जटिल अर्थतन्त्र र विविधता देखापरिसकेको थिएन ।
यसैबेला सोभियत सङ्घ र पूर्वी युरोपेली देशमा समाजवादको पतनले साम्राज्यवादको नवउपनिवेशी अर्थतन्त्रको प्रवाहलाई केही सीमासम्म छेकिरहेको छेकवार पनि समाप्त भएको छ । यस्तो बेलामा समाजवादी व्यवस्थामा बजारमुखी अर्थतन्त्रको प्रभावबारे सोचविचार हुनु स्वाभाविक नै हो ।
मानव समाजमा जसरी एक निश्चित समस्यालाई सुल्झाउन मुद्राको विकास भएको थियो र आज त्यही मुद्राको नयाँनयाँ प्रक्रियाले समाज नै प्रभावित भइरहेछ, त्यस्तै समाजवादी व्यवस्थामा बजारमुखी अर्थतन्त्रले पुँजीवादको विकासमा योगदान र समस्या ल्याएजस्तै समाजवादमा पनि योगदान तथा नयाँनयाँ जटिलता र समस्याहरू पनि ल्याउने निश्चित छ । तर, जसरी मुद्रा पुँजीवादकै वस्तु भएर पनि समाजवादी समाजको पनि सेवा गर्दछ, त्यसरी नै बजारमुखी अर्थतन्त्रलाई समाजवादी ढङ्गले प्रयोग गरेमा मात्रै त्यसले समाजवादी अर्थतन्त्रमा योगदान पु¥याउने छ नत्र त्यो ‘भस्मासुरलाई बरदान’ सावित हुने निश्चय छ ।
विद्युत्को प्रविधिले समाजवादको सेवा गरेजस्तै पुँजीवादी औद्योगिक र बजार व्यवस्थापनबाट पनि समाजवादले फाइदा उठाउन सक्नेछ तर समाजवादप्रति जनताको आस्था, समाजवादी ऐन, कानुन र प्रशासनिक सतर्कताले सानो अङ्क र छोटो अवधिको नाफा र व्यक्तिगत हितले समाजवादी अर्थतन्त्रलाई जित्नसक्ने छैन भने चीनले गरेको प्रयोग पनि अहिले अध्ययनकै स्तरमा छ किनभने त्यसले नयाँ नयाँ अन्तरविरोध र जटिलताहरू पनि ल्याएका छन् । समाजवादमा ‘सबै तयारी बस्तु’ नहुने हुँदा प्रयोगबाटै अनुभव प्राप्त गर्नुपर्ने हुन्छ ।
मानवअधिकार र पुँजीवादी प्रचार
पुँजीवादी देशहरू खास गरेर संरा अमेरिकाले मानव अधिकारकै नामबाट समाजवादी देशहरू र तेस्रो विश्वका मुलुकहरूलाई अनेक किसिमका नाकाबन्दी र धम्कीहरू दिने गरेका छन् । विकसित पुँजीवादी देशहरूमा माथिल्यो वर्गलाई निश्चय पनि मानवअधिकारहरू प्राप्त छन्, तर अन्यन्त बहुमत कामदार जनता र गैर गोरा जातिका जनतालाई सबै प्रकारका मानवअधिकार व्यवहारमा प्राप्त छैनन् र सामाजिक र आर्थिक रूपले वर्ग, रङ्ग र लिङ्गको आधारमा भेदभाव गरिएका छन् । ४।५ वर्षमा एकचोटि पैसा, प्रचार र झूठा आश्वासनको भरमा ठीकसित राजनैतिक र वर्गीय ज्ञानै नदिई मतदाताहरूसँग मत लिन्छन् र निश्चित पार्टीहरूले आलोपालो शासन गर्छन् । करोडौं करोड खर्च गरेर पुँजीवादी पार्टीहरूले जनताका राजनैतिक र सांस्कृतिक स्तरको अभावबाट फाइदा उठाउँछन् ।
विकसित पुँजीवादी देशहरूमा समेत लाठी, गोली, अश्रुग्याँस, हत्या, बलात्कार, चोरी र डकैतीका घटनाहरूले जनताको सुरक्षाको कुनै सुनिश्चितता छैन । पेट पाल्नको निम्ति बेकारीको कारण ती देशमा जनता चोरी गर्न, बेश्यावृत्तिमा लाग्न, अनेक अपराधहरू गर्न बाध्य छन् । खाने लाउने, बास बस्ने, काम पाउने, शिक्षा पाउने र निःशुल्क औषधि उपचार पाउने जस्ता न्यूनतम मानवअधिकारबाट समेत जनता वञ्चित छन् ।
मानवअधिकारबारे पुँजीवादी देशहरूसँग समाजवादी देशहरूको तुलना गर्दा ठीक उल्टो देखिन्छ । प्रजग कोरिया र क्यूवासँग संरा अमेरिका, जापान, जर्मनी, बेलायत, फ्रान्स आदि विकसित पुँजीवादी देशहरूको तुलना गर्दा तेस्रो विश्वका स्तरका देश भएपनि ती समाजवादी देशहरूमा जनताका मानवअधिकार धेरै मात्रा सुरक्षित छन् । ती देशहरूमा खानको निम्ति माग्ने, चोरी गर्ने, बेश्यावृत्ति गर्ने मानिसहरू छैनन् । घर वा छाना नपाएर सडकको पेटीमा सुत्नुपर्ने कोही छैनन् । पैसा नभएर वा बेरोजगार भएर स्कूल जान नपाउने र स्वास्थ्योपचार गर्न नपाएका मानिसहरू छैनन् । पुँजीवादी देशमा जस्तै केटाकेटी बेच्ने, आमाबाबु नभएका टुहराहरू लावारिस हुने बालश्रम र बालवेश्यावृत्तिजस्ता खराबीहरू ती देशमा छैनन् । जनताले कुनै पनि प्रकारको कर तिर्नु नपर्ने विश्वको एकमात्र करमुक्त देश प्रजग कोरिया हो, त्यहाँ प्राणघातक एड्सका रोगी छैनन्, लागू पदार्थका दुव्र्यसनीहरू छैनन् भने वातावरणको दृष्टिले पनि प्रदूषणमुक्त देश बनेको छ ।
(नेपाल बुद्धिजीवी परिषद् (दोस्रो
राष्ट्रिय अधिवेशन, जेठ ५–७, २०५१, पोखरा) मा प्रस्तुत कार्यपत्र)
–‘समाजवाद र सान्दर्भिक विषयवस्तु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *