भर्खरै :

साँझ ६ बजेबाट मुग्लिन सडक सञ्चालनमा

चितवन, ६ वैशाख । नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा झर्न लागेको अवस्थामा देखिएको ढिस्कोको ६० प्रतिशत भाग झारिएपछि अहिले साँझ ६ बजेबाट सडक सुचारु भएको छ ।
सडक विस्तारका लागि पहाड काट्दै गरेको ठाँउमा ठूलो चट्टानसहितको पहिरो खस्न लागेपछि आज बिहान १० बजेबाट सडक रोकेर सो पहिरो खसाल्ने प्रयास भइरहेको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार साँझ करिब ५ बजे ढिस्कोको ठूलो हिस्सा खसालेपछि बाटो खुलाइएको हो ।
व्रेकरको सहायताले दिनभरको प्रयासमा साँझ ढिस्को झार्न सफल भएको उहाँले बताउनुभयो । बाँकी भाग झार्ने प्रयास भइरहेको भन्दै उहाँले झार्न नसकिए पनि सडक सफा गरी साँझ ६ बजेबाट दुईतर्फी सडक सञ्चालन गरिएको बताउनुभयो ।
कुनै पनि बेला ढिस्को झरेर दुर्घटना हुन सक्ने भन्दै आयोजनाले ढिस्को नझारेसम्म सडक सञ्चालन नगर्ने सूचना यसअघिनै गरेको थियो । ढिस्कोको मुख्यभाग खसेपछि खतरा टरेको खनालले बताउनुभयो । सोही ठाउँमा गएको चैत २१ गते दुई जनाको ज्यान जानेगरी पहिरो खसेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *